काठमाडौं- काठमाडौँबाट सञ्चालनमा रहेका अनलाइन टेलिभिजन सञ्चालकले पत्रकार आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
अनलाइन टेलिभिजनमा विकृति अत्यधिक भएको स्वीकार गर्दै उनीहरुले अहिलेको पत्रकार आचारसंहितामा केही थपघट गरेर आफ्नोतर्फबाट अर्को आचारसंहिता बनाउने निर्णय पनि गरेका छन् ।
अनलाइन टेलिभिजन सञ्चालकको प्रथम भेला तथा विज्ञसँगको अन्तरक्रिया कार्यक्रममार्फत उनीहरुले स्वनियमन गर्ने र सङ्गठित हुने अठोट पनि व्यक्त गरेका हुन् ।
भेलामा नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तथा फ्रिडम फोरमका संस्थापक अध्यक्ष तारानाथ दाहालले राज्यको नियन्त्रणभन्दा पनि स्वनियमनको पक्षमा उभिन अनलाइन टेलिभिजन सञ्चालकलाई सुझाव दिए ।
उनले जिम्मेवार बन्न चाहने अनलाइन टेलिभिजनले आफू ‘जिम्मेवार सञ्चारमाध्यमका रुपमा काम गर्न चाहेको र आचारसंहिता पालना गर्ने’ स्वघोषणा गर्नु उपयुक्त हुने बताए ।
महासङ्घका अर्का अध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले आफूले प्रस्तुत गरेका सामग्रीप्रति आफ्नो जिम्मेवारीबोध गरेमा यस क्षेत्रका विकृति स्वतः कम हुने धारणा राखे । उनले जिम्मेवार पत्रकारिताका मर्मलाई ख्याल गरेमा अनलाइन टेलिभिजनको भविष्य उज्ज्वल रहेको बताए ।
प्रेस काउन्सिलका पूर्वअध्यक्ष तथा वरिष्ठ अधिवक्ता वोर्णबहादुर कार्कीले अन्य मिडियासरह काम गर्ने प्रतिबद्धता गरेमा त्यही अनुसारको मान्यता दिनुपर्ने विचार राखेका थिए ।
अनलाइन पत्रकार सङ्घका संस्थापक अध्यक्ष प्रवेश सुवेदीले सङ्गठित भएमा पेशालाई व्यवस्थित गर्न, सहयोग तथा अनुभव आदानप्रदान गर्न र नीतिगत व्यवस्थाका लागि सजिलो हुने भएकाले सङ्गठित हुनु उपलब्धिमूलक कार्य भएको बताए ।
भेलाको अध्यक्षता गरेका पत्रकार जीवन भण्डारीले सङ्गठित हुन र जिम्मेवार पत्रकारिताको दायरामा आउन आवश्यक सबै कार्य गर्दै जाने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार भेलाले २५ सदस्यीय तदर्थ समिति, आचारसंहिता तथा स्वनियमन समिति, सदस्यता समिति र विधान मस्यौदा समिति बनाउने निर्णय पनि गरेको छ । सबै समितिका लागि जिम्मेवारी भने अर्को बैठकबाट तोकिने भएको छ ।
प्रतिक्रिया