मध्यपहाडी राजमार्गको काममा मौसमको प्रभाव « Khabarhub

मध्यपहाडी राजमार्गको काममा मौसमको प्रभाव


२५ फाल्गुन २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन महिनामा मौसममा आएको परिवर्तनका कारण मध्यपहाडी (पुष्पलाल) राजमार्गको चालू आर्थिक वर्षको लक्ष्य पूरा गर्न मुस्किल पर्ने देखिएको छ । नेपाल सरकारकै बजेटमा निर्माण भइरहेको एक हजार ८७९ किमी राजमार्गमा चालू आर्थिक वर्षमा ३५० किमी सडक कालोपत्र गर्ने लक्ष्य थियो ।

आवसँगै चाडबाड एवं त्यसपछि चिसो मौसमका कारण ५० किमी पनि कालोपत्र नसकिएको राजमार्ग आयोजना निर्देशनालयका आयोजना निर्देशक दीपक केसीले जानकारी दिए । ‘फागुनमा कालोपत्र गतिका साथ अघि बढाउने लक्ष्य थियो, यो महिनामा पटकपटक पानी परेकाले काममा गति दिन सकिएको छैन, चैत र वैशाखमा १००/१०० किमी कालोपत्र गर्न सकियो भने ३५० किमी कालोपत्रको लक्ष्य पूरा हुन सक्छ,’ केसीले भने ।

चालू आवको लक्ष्यअनुसार १६ पुलमध्ये ८ पुलको काम सकिएको छ । पुलको काम चिसो मौसममा पनि गर्न सकिने भएकाले लक्ष्यअनुसार नै काम हुने आयोजना निर्देशक केसीले बताए । राजमार्गका लागि कालोपत्र भइसकेको ४६२ किमी सडक पुरानै लिइएको थियो । मध्यपहाडीमा कोरोनाको प्रभाव नदेखिए पनि मौसमका कारण यस वर्षको लक्ष्य पूरा गर्नु चुनौतीपूर्ण देखिएको छ ।

तयारी अवस्थामा लिइएको ४६२ किमीसमेत हालसम्म करिब ८५० किमी यो राजमार्गको सडक कालोपत्र भइसकेको छ । आव २०७९/८० सम्म राजमार्गको काम सक्ने सरकारको लक्ष्य छ । आयोजनामा आव २०७५÷७६ देखि पाँच स्थानमा योजना कार्यालय स्थापना गरी कामलाई गति दिइएको जनाइएको छ ।

आयोजना शुरु हुँदा एक हजार ७०० किमी दूरीको काम अघि बढाइएकामा सुनकोशी र बूढीगण्डकी जलाशययुक्त आयोजनाका कारण ‘एलाइनमेन्ट’ परिवर्तन गरिएको थियो । आव २०६४/६५ देखि शुरु भएको राष्ट्रिय गौरवको यो आयोजनामा हालसम्म रु ४० अर्ब खर्च भइसकेको छ । रु ८४ अर्ब ३३ करोड लागत अनुमान गरिएको आयोजनामा चालू आवमा रु १२ अर्ब बजेट विनियोजन भएको छ । त्यसमध्ये रु तीन अर्ब खर्च भइसकेको आयोजना निर्देशक केसीले जानकारी दिए ।

पाँचथरको फिदिम, काभ्रेपलाञ्चोकको धुलिखेल, गोरखाको पालुङटार, पर्वतको कुस्मा र दैलेखमा गरी पाँच स्थानमा २०७५ पुसदेखि योजना कार्यालय स्थापना गरिएको हो । बोलपत्र गर्नेदेखि निर्माण व्यवसायीसँग सम्झौता गरी कार्यान्वयनमा लैजाने जिम्मेवारी योजना कार्यालयलाई नै दिइएको छ ।

आयोजना निर्देशनालयले भने अनुगमन र समन्वयको काम गरिरहेको छ । त्यसअघि पूर्व र पश्चिम खण्डका रुपमा आयोजनाका दुई कार्यालय थिए । पाँचथरको चियो भञ्ज्याङबाट शुरु हुने राजमार्ग बैतडीको झुलाघाटमा गएर टुङ्गिन्छ । राजमार्गले मध्यपहाडी क्षेत्रका २६ जिल्लालाई छुन्छ । सडकको ट्र्याक भने खुलिसकेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७६, आइतबार  ३ : ३९ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका