व्यक्तिगत लाभका लागि पदीय जिम्मेवारी दुरुपयोग नगरेको राजदूत पौड्यालको जिकिर | Khabarhub Khabarhub

व्यक्तिगत लाभका लागि पदीय जिम्मेवारी दुरुपयोग नगरेको राजदूत पौड्यालको जिकिर


४ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याले व्यक्तिगत लाभ र स्वार्थका लागि पदीय जिम्मेवारीको दुरुपयोग नगरेको बताएका छन् ।

बेइजिङबाट फर्किनुअघि राजदूत पौड्यालले लिखित वक्तव्य जारी गर्दै भनेका छन्– ‘जानीजानी, नियत वा स्वार्थवश, दबाब वा प्रभावमा वा कुनै व्यक्तिगत आकांक्षा र लाभ वा स्वार्थका लागि पदीय हैसियत उपयोग गरेको छैन, जसले गर्दा कुनै नेपालीलाई मेरो काम, आचरण वा व्यवहारले हीनताबाेध गर्नुपरोस्।’

उनी बुधबार स्वदेश फर्किने भएका छन् । गत फागुन १८ गते  बसेको मन्त्रिपरिषद् बैठकले  उनलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

स्वदेश फर्कनुअघि राजदूत पौड्यालले आफ्नो कार्यकालमा जिम्मेवारी दिनेहरूलाई पछुतो लाग्ने गरी जानाजान कुनै गल्ती नगरेको समेत बताएका छन् ।

नेपाल फर्कनुअघि लामो लिखित वक्तव्य जारी गर्दै उनले आफ्नो कार्यकालका उपलब्धि पनि सार्वजनिक गरेका छन् ।

उनले जारी गरेको वक्तव्यको पूर्ण पाठ :

जनवादी गणतन्त्र चीनका लागि नेपाली राजदूतका रूपमा तीन वर्ष चार महिना पाँच दिन काम गरी यही चैत्त ५ गते नेपाल पुग्दै छु ।

परापूर्वकालदेखि सांस्कृतिक, सामाजिक, राजनीतिक र आर्थिक रूपले नेपालको घनिष्ट तथा अत्यन्तै महत्वपूर्ण सम्बन्ध रहेको उदार र असल छिमेकी राष्ट्र चीनमा एक महत्वपूर्ण ऐतिहासिक कालखण्डमा राजदूतको रूपमा काम गर्ने अवसर पाएकोमा गर्व महसुस गरेको छु । मलाई विश्वास र भरोसा गरी यो जिम्मेवारी दिनुहुने तत्कालीन प्रधानमन्त्रीज्यू र सरकारप्रति हार्दिक कृतज्ञता र यस ऐतिहासिक कालखण्डमा मलाई राजदूतको रूपमा निरन्तर काम गर्ने अवसर दिएकोमा वर्तमान सरकारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

गणतन्त्र नेपालको राष्ट्रपतिज्यूको चीनमा पहिलो राजकीय भ्रमण र चीनका राष्ट्रपतिज्यूको २३ वर्षको अन्तरालमा नेपालमा ऐतिहासिक राजकीय भ्रमणका साथै नेपाल र चीनबीच विकास र समृद्धिका लागि अटुट मित्रतासहितको रणनैतिक साझेदारी गर्ने गरी द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा लैजाने समझदारी यही कालखण्डमा भएको छ । इतिहासमै पहिलोपटक नेपालले चीन भएर पारवहन यातायातको सुविधा प्राप्त गरेको छ । बहुयामिक विकासको अवधारणामा आधारित ‘वेल्ट एण्ड रोड’ सहयोगसम्बन्धी समझदारी, हिमाल सीमा वारपार रेलसेवा तथा बहुआयामिक सम्पर्क सञ्जालको विस्तार, सीमा क्षेत्रको शान्ति, स्थायित्व र विकासका लागि सहकार्य र उच्च राजनीतिक तथा प्रशासकीय संयन्त्रहरुको निर्माण गरी सम्बन्धलाई द्विपक्षीय हितका सबै विषयमा विस्तार गर्नेजस्ता थुप्रै सम्झौता, समझदारी र सहमति भएका कारण यो कालखण्डलाई मैले महत्वपूर्ण र ऐतिहासिक मानेको छु ।

यही अवधिमा सरकारी संयन्त्रमार्फत खर्च हुने गरी भूकम्पपछिको पुनस्निर्माणमा सबैभन्दा ठूलो धनराशिको निसर्त अनुदान सहायता ९३ अर्व चिनियाँ युआन अर्थात् झण्डै ५१ अर्ब नेपाली रुपैयाँ नेपालले चीनबाट प्राप्त गरेको छ । आगामी तीन वर्षका लागि चीनले नेपाललाई सरकारी संयन्त्रमार्फत खर्च हुने गरी बिना कुनै पूर्वसर्त ३।५ अर्ब युआन ९करिब ६० अर्ब नेपाली रुपैयाँ विकास अनुदान दिने समझदारी यस अवधिको उल्लेख गर्न लायक र नेपालको आर्थिक सामाजिक विकासका लागि कोसेढुङ्गा हुने सहयोग हो ।

यसका अतिरिक्त उच्च राजनीतिक तहमा भएका थुप्रै भ्रमणको आदानप्रदानबाट द्विपक्षीय हितका साझा विषयलाई अगाडि बढाउने गरी भएका उच्चस्तरका समझदारीहरु तथा लगानी, पर्यटन, वैदेशिक सहायता, सांस्कृतिक तथा सुरक्षा निकायबीचको आदान-प्रदान एवं संस्थागत र जनस्तरको सम्बन्ध विस्तारका हिसाबले उपर्युक्त कालखण्ड ऐतिहासिक र उपलब्धिमूलक रह्यो । अहिले चीनभित्र नेपाल अभूतपूर्व रूपले परिचित भएको अनुभूति हामीले गरेको म सगर्व निवेदन गर्दछु। यी सबै उपलब्धिका लागि न त म प्रमुख दाबेदार हुन सक्छु, न निरपेक्ष नै रहन सक्छु। मान्छे कोही पनि सर्वगुणसम्पन्न, सर्वज्ञानी र पूर्ण हुँदैन र मेरा पनि ज्ञान, सीप र क्षमतागत सीमा थिए र छन् । साथै, हाम्रा आफ्नै शासकीय प्रणाली, संरचना र यसको विरासत एवम् श्रोत साधनजन्य सीमा पनि आफ्नो ठाउँमा छँदै छन् । ती सबै सीमालाई यथार्थका रूपमा स्वीकार गरी मानवीय प्रयत्नबाट प्राप्त गर्न सकिने अधिकतम उपलब्धिका लागि सबै सामर्थ्य लगाउनुपर्छ भन्ने मेरो जीवनमूल्य र मान्यता हो ।

मैले बेइजिङमा कार्यरत रहँदा त्यही जीवनमूल्यलाई आत्मसात गरी आफ्नो बुद्धि, क्षमता, विवेक, ज्ञान र श्रोतले भ्याएसम्म इमानरीपूर्वक भगीरथ प्रयत्न गरेको र त्यसमा आफूले कुनै सम्झौता नगरेको विनम्रतापूर्वक निवेदन गर्दछु । इमानरीपूर्वक र निष्ठाका साथ प्रयत्न गर्ने कुरा मेरो नियन्त्रणमा छ, नतिजा होइन भन्ने मलाई राम्रै थाहा छ । पदीय जिम्मेवारीबाट प्राप्त अवसर सार्वजनिक हितमा उपयोग गर्नका लागि हो भन्ने चेत सबै सार्वजनिक सेवामा रहँदा ममा निरन्तर रहिरह्यो । नेपाल एवम् चीनबीचको राजनीतिक र जनस्तरको सम्बन्धमा आएको उल्लेखनीय प्रगतिलाई आर्थिक पाटोमा समेत विस्तार गरी आर्थिक विकास, लगानी अभिवृद्धि, कृषि आधुनिकीकरण एवं प्रविधि हस्तान्तरणजस्ता जनजीविकासँग प्रत्यक्ष सम्बन्ध राख्ने क्षेत्रहरूमा दुईपक्षीय सहयोग अझ सुदृढीकरण गर्दै लैजानुपर्ने खाँचो छ । नेपाल र चीनबीचको सम्बन्ध थप प्रवर्द्धन गर्ने दिशामा एक सचेत नेपाली नागरिकका हैसियतमा मेरो प्रयास निरन्तर जारी रहिरहनेछ ।

मैले पदमा रहँदा कुनै त्यस्तो काम जानीजानी गरेको छैन, जसले गर्दा मलाई जिम्मेवारी दिने र विश्वास गर्ने नेतृत्वलाई पछुतो गर्न परोस्। मैले जानीजानी, नियत वा स्वार्थवश, दबाब वा प्रभावमा वा कुनै व्यक्तिगत आकांक्षा र लाभ वा स्वार्थका लागि पदीय हैसियत उपयोग गरेको छैन, जसले गर्दा कुनै नेपालीलाई मेरो काम, आचरण वा व्यवहारले हीनताबाेध गर्नुपरोस्। कार्यसम्पादनका सिलसिलामा शैलीगत स्वभाव, क्षमता, कार्यसीमा र मेरो जीवनमूल्यका कारण मेरो कामबाट कोही कसैलाई मर्का पर्न गएको, नोक्सानी भएको वा चित्त दुखेको छ भने त्यो नियतवश थिएन । पदीय जिम्मेवारीका कारण उत्पन्न भएको अवस्था पदीय जिम्मेवारी समाप्त भएपछि स्वतः समाप्त भयो भन्ने ठानी क्षमा दिनुहुन हार्दिक अनुरोध छ। समग्रमा पदीय जम्मेवारीलाई मैले राष्ट्र र नेपाली जनताको बहुमूल्य नासोको रूपमा लिएको थिएँ, जसको श्रीवृद्धिमा अथक प्रयत्न गर्नु मेरो दायित्व थियो । त्यही दायित्त्वबाेधले आजपर्यन्त काममा क्रियाशील रहेको विनम्र निवेदन गर्दछु।

चीनमा रहनुहुने र चीनमा आउजाउ गर्नुहुने नेपालीहरू, नेपालमै वा अन्य मुलुकमा बसेर चासो राख्नुहुने तथा सल्लाह, सुझाब दिनुहुने र स्वस्थ आलोचना गर्नुहुने सबै दिदीबहिनी दाजुभाइप्रति हार्दिक आभार व्यक्त गर्दछु । राजदूतको रूपमा चीनमा रहँदा मैले विश्वभरिका नेपाली समुदायबाट यति धेरै सहयोग, सद्भाव, माया र प्रोत्साहन पाएँ त्यसका लागि उहाँहरूप्रति आजीवन ऋणी रहिरहनेछु। त्यो ऋण मैले मेरो क्षमता, ज्ञान, विवेक र सामर्थ्यलाई राष्ट्रको सेवामा निस्वार्थ र निरन्तर समर्पण गरेर मात्रै चुक्ता हुन्छ भन्ने म ठान्दछु ।

कोरोना भाइरस संक्रमणको परिस्थितिजन्य अवस्थाका कारण चीनमा रहनुहुने नेपाली दिदीबहिनी दाजुभाइहररूसँग भेटघाट, आउजाउ र सरसम्पर्क गर्न असहज भएकाले वबदाइ भेटबिना नै फर्किन परेकोमा मलाई दुःख लागेको छ। समय मेरो वशमा थिएन भन्ने बुझिदिनुहुनेछ र तपाईंहररूको सद्भाव, माया र सम्झना सधैं पाइरहनेछु भन्ने मैले अपेक्षा राखेको छु ।

कार्यसम्पादनका सिलसिलामा रातसाँझ, सप्ताहान्त र परिवारसमेत नभनी खटिने दूतावासका कर्मचारी साथीहररू, निरन्तर सल्लाह, सुझाब, निर्देशन र साथ दिनुहुने राजनीतिक नेतृत्व, काममा सहायता गर्ने परराष्ट्र मन्त्रालय तथा अन्य निकायमा कार्यरत राष्ट्रसेवक सहकर्मी मित्रहरू, विश्वास, सद्भाव र सहयोग गर्ने सम्पूर्ण गैरसरकारी तथा व्यावसायिक समुदाय र मलाई माया, आतिथ्य, सहयोग र सद्भाव दिनुहुने चिनियाँ सरकार तथा चिनियाँ जनतालाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । म यस अवसरमा नेपाली दिदीबहिनी दाजुभाइहररूको चीनको बसाइ उपलब्धिमूलक र सुखद रहोस् भन्ने कामना गर्दछु । चिनियाँ मित्रहररूलाई नेपालमा भेट्ने अपेक्षा गरेको छु ।

प्रकाशित मिति : ४ चैत्र २०७६, मंगलबार  ५ : ४३ बजे

म्याग्दीका आयोजनालाई प्राथमिकता दिने सभापति देउवाको प्रतिबद्धता

म्याग्दी– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले म्याग्दीका विकास

सिँचाइका इञ्जिनियरसँग सवा १६ करोड सम्पत्ति, स्रोत नखुल्दा भ्रष्टाचार मुद्दा

काठमाडौं – एउटा सरकारी कर्मचारीले जागिर अवधिभर कति कमाउला ?

सीजी डिजिटलको एकैपटक ५ ओटा नयाँ शोरूम उद्घाटन

काठमाडौं– सीजी डिजिटलले बिर्तामोड, दमक, वीरगञ्ज,नवलपरासी र काठमाडौंको बिशालनगरमा नयाँ शोरूम

बालेनको प्रश्न- स्थानीय सरकारका समस्या संघलाई नै भन्नुपरे प्रदेशको के काम ?

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले अधिकार लिन र

क्यालिफोर्नियामा आगलागी : ज्यान गुमाउनेको संख्या १६ पुग्यो, क्षति अझै बढ्ने

काठमाडौं- अमेरिकामा केही दिनदेखि सल्किरहेको आगोमा परेर मर्नेको सङ्ख्या बढ्दैछ