अमेरिका- अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका गैरआवासीय नेपाली अनिल लिम्बूको अस्पतालले नै दाहसंस्कार गरेको छ ।
कोरोना संक्रमणपछि उपचाररत लिम्बूको गत मंगलबार बिहान मृत्यु भएको थियो । उनको शुक्रबार सबै प्रकृया पूरागरी अस्पतालको संयोजनमा निजी कम्पनीमार्फत दाहसंस्कार गरिएको हो ।
न्युयोर्कको एल्महर्स्ट अस्पतालमा कोरोना संक्रमणका कारण उनको ज्यान गएको थियो ।
दाहसंस्कारमा परिवारका सदस्यहरु तथा अन्य समुदायका व्यक्ति सहभागी हुँदा संक्रमणको जोखिम बढ्ने भएका कारण दाहसंस्कारको जिम्मा सिमेट्री कम्पनीलाई दिइएको थियो । दाहसंस्कारका लागि ग्रिनउड सिमेट्रीलाई झण्डै १२ सय डलर तिरिएको थियो ।
पछि परिवारले आफ्नो धार्मिक विधि अनुशार कृयाक्रम गर्नेमा परिवारले सहमति जनाएको नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष लोक चेम्जोङले जानकारी दिए ।
न्यूयोर्कको कुइन्सस्थित ज्याकशन हाइट क्षेत्रमा बसोबास गर्दै आएका ५० वर्षीय लिम्बूलाई कोरोना संक्रमणपछि एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गराइएको थियो ।
पाँचथर रानीगाउँ घर भएका लिम्बू करिब दुई दशकदेखि अमेरिकामा बस्दै आएका थिए । लिम्बूका एक श्रीमती, दुई छोरा र एक छोरी छन् ।
लिम्बूले मधुमेह र उच्च रक्तचापको औषधी प्रयोग गर्दै आएको पारिवारिक स्रोतले जनाइएको छ । उनका जेठा छोरालाई पनि कोरोना संक्रमण देखिएको थियो तर केही दिनको उपचारपछि उनी निको भएको जनाइएको छ ।
प्रतिक्रिया