रथयात्रा रोकिएपछि सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा « Khabarhub

रथयात्रा रोकिएपछि सेतो मच्छेन्द्रनाथ र चामुण्डा मन्दिरमा क्षमा पूजा


१९ चैत्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन यस वर्ष सेतो मच्छेन्द्रनाथको रथयात्रा स्थगित गरिएपछि आज क्षमा पूजा गरिएको छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन दरबारमार्गस्थित तीनधारा संस्कृत छात्रावासअघिबाट रथयात्रा शुरु गरिन्थ्यो । यस वर्ष जात्रा गर्न नसकिने भएपछि माफी माग्दै आज क्षमा पूजा गरिएको सेतो मच्छेन्द्रनाथ रथयात्रा व्यवस्थापन समितिका संयोजक एवं काठमाडौँ महानगरपालिका–२५का अध्यक्ष नीलकाजी शाक्यले जानकारी दिए ।

कोरोना भाइरसको सङ्क्रमणको खतरा अन्त्य भएपछि स्वस्ति शान्तिसहित कोटीहोम गर्ने समितिले जनाएको छ । वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको जात्रा एक हजार १४० वर्ष अघि शुरु भएको बताइन्छ । अष्टमीका दिन तीनधारा पाठशालाबाट शुरु हुने यात्रा असनसम्म लैजाने गरिन्थ्यो ।

नवमीका दिन असनबाट हनुमानढोकाको कालभैरवसम्म, दशमीका दिन कालभैरवबाट चिकमुङ्गल, जैसीदेवल हुँदै लगनसम्म तान्ने गरिन्थ्यो ।

एकादशीका दिन लगनको पीपलबोटमा सेतोमच्छेन्द्रनाथका आमालाई तीनपटक घुमाउने परम्परा थियो । द्वादशीका दिन लगनबाट मच्छेन्द्रबहाल ल्याई सिन्दूर जात्रा गरेपछि पाँच दिन लामो जात्रा सकिने विधि थियो ।

काठमाडौँमा सेतो मच्छेन्द्रनाथको जात्रा भएपछि मात्र ललितपुरमा रातो मच्छेन्द्रनाथको जात्रा गरिन्थ्यो । रातो मच्छेन्द्रनाथको जात्रा अक्षय तृतीयाका दिनदेखि शुरु हुन्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमण फैलिएपछि गुठी संस्थान, समिति, बहालका गुठियार, वडा कार्यालयलगायत सरोकार भएका निकायका प्रतिनिधि सम्मिलित बैठकले जात्रा नगरी क्षमा पूजा गर्ने निर्णय गरेको थियो ।

चामुण्डा मन्दिरमा क्षमा पूजा

यसैगरी आजकै दिन गोकर्णेश्वर नगरपालिका र काठमाडौँ महानगरपालिका–६ स्थित बौद्ध क्षेत्रमा मनाइने श्रीगणेश, श्रीभैरव र चामुण्डा देवीको रथायात्रासमेत कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन स्थगित गरिएको छ ।

रथयात्रा स्थगित गरेपछि आज मन्दिरमा क्षमा पूजा गरिएको श्री चामुण्डा क्षेत्र विकास तथा संरक्षण कोषका अध्यक्ष बिमलमान श्रेष्ठले जानकारी दिए । जात्रा हुन नसकेपनि मूर्ति निकाली नजिकैको महाङ्काल भैरवस्थानसम्म घुमाएर ल्याइएको उनले बताए ।

कोरोना भाइरसको सङ्क्रमण अन्त्य भई विश्व शान्ति कायम होस् भन्ने सङ्कल्पले मन्दिर परिसरमा शतचण्डी पाठ भइरहेको छ । कान्तिभैरव गुरुकुल उत्तरवाहिनीका सात ब्राह्मण वटुकले शतचण्डी पाठ गरिरहेका जनाइएको छ । चैत्र शुक्ल नवरात्रको अवसर पारेर प्रतिपदादेखि शुरु गरिएको शतचण्डी द्वादशीका दिन सकी हवनसमेत गरिने जनाइएको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७६, बुधबार  ६ : ४३ बजे

क्यानाडाली वस्तुमा ट्रम्पको थप शुल्क, व्यापार विवाद चर्किँदै

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानाडासँगको व्यापार विवाद थप चर्काउँदै

रसुवा बाढीको आर्थिक प्रभाव अध्ययन गर्न उपसमिति गठन

काठमाडौं- प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले रसुवामा आएको बाढीले अर्थतन्त्रमा पारेको प्रभाव र

प्रधानमन्त्री बालेनले तीनै सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै, प्रधानसेनापतिलाई भेटे 

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले देशका तीनवटै सुरक्षा निकायका प्रमुखसँग उच्चस्तरीय

झापा र कैलालीमा जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान

काठमाडौं – जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमणका कारण बिरामी हुने र मृत्यु हुने क्रम बढेपछि

काभ्रेका बाढीपीडितको समस्या सरकारी अल्झनमै

बनेपा– काभ्रेका बाढीपीडितको समस्या सरकारी प्रक्रियाकै अल्झनमा बेरिएपछि उनीहरु बाढीपहिरोले