मिथिलाञ्चलमा मंगलबार जुडशीतल पर्व मनाइँने « Khabarhub

मिथिलाञ्चलमा मंगलबार जुडशीतल पर्व मनाइँने


१ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- मिथिलाञ्चलमा मंगलबार जुडशीतल पर्व मनाइँदै छ । मिथिलाञ्चलमा यस पर्वलाई विशिष्ट कृषि सांस्कृतिक पर्व मानिएको छ ।

प्रकृति र स्वास्थ्यसँग सम्बन्धित यस पर्वलाई मिथिलाञ्चलमा नयाँ वर्षका रूपमा मनाइन्छ भने थारू समुदायले यसलाई सिरुवा पर्व भनी मनाउने गर्दछन् । दुवै पर्वको उद्देश्य सूर्यको तापबाट आकुलव्याकुल मानवलाई शीतलता प्रदान गर्नु रहेको छ ।

मिथिलाञ्चल मुख्यतः कृषि प्रधान क्षेत्र भएकाले यहाँ मनाइने चाडपर्वमा कृषि संस्कृतिको प्रभाव देखिन्छ । फलतः यस पर्वमा पनि कृषि कर्मबाट उत्पादित उत्पादनको प्रयोग उदाहरणीय एवम् उल्लेखनीय मानिन्छ ।

जुडशीतलमा रहेका दुई पद जुड र शीतल कल्याणसँग सम्बन्धित रहेको छ । जुडले आशीर्वादको भावमा जुराउनु र शीतलले शीतलताको अर्थ दिन्छ । अर्थात् शीतलता प्रदान गर्नु नै जुडशीतल हो ।

यस पर्वमा जेठाले आफूभन्दा सानाको टाउकामा हत्केलामा पानी लिई आर्शीवाद सूचक भावले शीतलता प्रदान होस् भन्ने गर्दछन् । यस क्रममा मैथिलहरू एकाबिहानै उठेर आफ्ना परिवारजनलाई आर्शीवाद दिने चलन रहेको छ ।

यस पर्वमा शीतलताको कामना सूर्यको कडा तापविरुद्ध हुन्छ । वैशाखदेखि सूर्यको ताप वृद्धि हुने गरेका कारण यस पर्वमा मानव मात्रको कल्याण नभई रूखबिरुवाका लागि पनि शीतलताको कामना गरिन्छ । साथै घरदैलामा तथा घरको बीचमा रहेको खम्बालाई पनि जुराउने गरिन्छ । यस दिन चुलो पनि जुराउने भएकाले चुलोमा आगो बालिँदैन ।

त्यस्तै पशुपक्षी, लतावृक्ष, बोटबिरुवाका साथै घर–गृहस्थीका सबै वस्तु सन्दुक, आलमारी, बाकस, खाट, पलङ, कुर्सी, टेबुल, कुचो, जाँतो, ढिकी, ऊखल, मुसल, सिलौटा, लोढा र सवारीसाधनमाथि पानी जुराउने गरिन्छ ।

यस पर्वमा गाउँका इनार, कुवाको जीर्णोद्धार पनि गरिन्छ, यसमा जीउभरि हिलो दल्ने परम्परा पनि रहेको छ । मल र हिलोसँग मानव शरीरको सृष्टि भएको तथ्यलाई यस पर्वले निरन्तरता दिँदै आएको देखिन्छ । जीउभरि हिलो दल्नुलाई प्राकृतिक चिकित्सामा पङ्क स्नानको महत्व रहेको छ । ग्रीष्मको प्रचण्ड तापले सम्भावित रोगको निदानका सन्दर्भमा पङ्क स्नानको प्रथा शुरु भएको बताइन्छ ।

जुडशीतलमा खानपानको पनि आफ्नो खास परम्परा छ । यस पर्वका बारेमा भनिन्छ, “एक सालको खाना अर्को सालमा खानु पर्छ । त्यसैले यसमा राति पकाइएको खाना भोलिपल्ट खाने चलन छ । यस पर्वमा तरुवा, बरी (बेसनको व्यञ्जन) दही विशेष प्रकारले खाइन्छ । जुडशीतलमा कुलदेवतालाई बासी भात, दही, मीठा र आँपको टिकुलाको नैवेद्य चढाइने गरिन्छ । त्यस्तै चिल तथा स्याललाई पनि नैवेद्य दिने चलन छ । चिलका लागि नैवेद्यलाई छानामाथि राखिने गरिन्छ भने स्यालका लागि घरदेखि बाहिर लगेर राखिन्छ ।

यस पर्वमा कतिपय स्थानमा पहलमानीको आयोजना र चङ्गा प्रतियोगिता पनि गरिन्छ । जुडशीतल पर्व उल्लास, पे्रम र भाइचाराको प्रतीक रूपमा पनि प्रतिष्ठित रहेको छ । नयाँ वर्षमा प्रवेश गर्दा स्वच्छ वातावरण, स्वच्छ पानी, स्वच्छ जीउ, स्वच्छ र रुचिकर खानासँगै तापविरुद्ध लड्ने शक्तिको प्रवेशका लागि प्रेरणा दिनु नै यस पर्वमा निहित सन्देश हो ।

प्रकाशित मिति : १ बैशाख २०७७, सोमबार  ६ : ३५ बजे

कार्यसम्पादनमा विशेष ध्यान दिन महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले मातहतका

इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर बिहीबार नेपाल आउँदै

काठमाडौँ– संयुक्त राज्य अमेरिकाको इन्डो–प्यासिफिक कमाण्डका कमाण्डर एड्मिरल सामुयल पापारो

कर्णालीको स्वास्थ्य सेवा विस्तारका लागि बजेट अभाव हुँदैन : स्वास्थ्यमन्त्री गौतम

जुम्ला- नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा गौतमले कर्णालीको

गरिखानेहरुको प्रदेश बनाउन शिक्षा प्रणालीमा सुधार गर्छौं : मुख्यमन्त्री बानियाँ

बागमती – बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशलाई गरिखानेहरुको

पूर्वमुख्यमन्त्री शर्मा नेकपाबाट निष्कासित

काठमाडौँ- कर्णालीका पूर्वमुख्यमन्त्री  राजकुमार शर्मा पार्टीबाट निष्काशित भएका छन् ।