गाउँमा मान्छे बढेपछि खाद्यान्नको जोहो गर्दै स्थानीय तह | Khabarhub Khabarhub

गाउँमा मान्छे बढेपछि खाद्यान्नको जोहो गर्दै स्थानीय तह


१४ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा- खाद्य सङ्कट आउन नदिन ओखलढुङ्गामा स्थानीय उत्पादनको खाद्यान्न जोहो गर्न थालिएको छ । विभिन्न स्थानीय तहले शहरमा बस्नेहरु पनि बन्दाबन्दीमा गाउँ फर्किएकाले खाद्य सङ्कट आउन सक्ने भन्दै स्थानीयस्तरमा उत्पादित कोदो, मकै, गहुँ, फापर, आलुलगायतका खाद्यसामग्री सङ्कलन गर्न थालेका हुन् ।

खाद्यसामग्री अभाव हुन नदिन खिजीदेम्बा गाउँपालिका–४ खिजीकाती, सुनकोशी गाउँपालिका–७ र ८ च्यानमसहितका ठाउँमा स्थानीयस्तरमा उत्पादित खाद्यसामग्री जोहो गर्न थालिएको हो । खिजीकातीमा गाउँमै उत्पादन भएको मकै, धान, गहुँ, आलुलगायतका खाद्यसामाग्री वडा कार्यालयकै संयोजनमा सङ्कलन गर्न थालिएको छ ।

हुनेखानेहरुबाट किनेर हुँदा खानेहरुलाई राहतस्वरुप वितरण गर्ने लक्ष्य राखिएको वडाध्यक्ष कमलप्रसाद न्यौपानेले बताए । ‘हिजो बूढाबूढी आमाबाले वर्षभरिलाई जोहो गरेको अन्न अहिले शहरबाट आएका तीन पुस्ते परिवारले सिध्याइसकेका छन् । तत्काल उत्पादन गरेर खाइहालौँ भन्ने सम्भावना छैन’, न्यौपानेले भने, ‘बाहिरबाट किनेर ल्याएको चामल र दालभन्दा गाउँमा फल्ने अन्न आलु निकै स्वस्थकर हुन्छ, त्यसैले गाउँमा खाद्यसङ्कट नहोस् भनेर किसानबाट खाद्यान्न सङ्कलन गरेर अभाव हुनेहरुलाई दिने योजना छ ।’ वडाले गाउँमा फलेको अन्नको समर्थन मूल्य तोकेर किसानसँग किन्न थालेको छ ।

किसानको बारीमा फलेको अन्नको मूल्य दिएर यतिबेला गाउँ फर्केका युवालाई गाउँमै कृषि पेशामा आकर्षित गराउन यस्तो योजना ल्याइएको वडाध्यक्ष न्यौपानेको भनाइ छ । ‘किसानलाई मल, बीउ, प्राविधिक सहयोग र अनुदानसमेतका कार्यक्रम ल्याएका छौँ । अब उत्पादनको मूल्यसमेत दिएपछि युवाहरु गाउँमै बसेर कृषिमा आत्मनिर्भर हुनुपर्छ’, न्यौपानेले भने, ‘बन्दाबन्दीमा फर्केका युवा उन्नत कृषि तथा पशुपालनमा लागेमा गाउँपालिकले आगामी वर्षको बजेट कृषि र पशुपालनमा केन्द्रित गरेर ल्याउनेछ ।’

सुनकोशी गाउँपालिकाको च्यानममा पनि स्थानीय हलेसी दर्शन कृषि सहकारी संस्थामार्फत खाद्यसामग्री जोहो गर्न थालिएको छ । कोरोना भाइरसको महामारीका बेला सबैतिर खाद्यसामग्री आपूर्तिमा समस्या भइरहेको र बन्दाबन्दीमा लम्बिने अवस्था आए पनि गाउँमा भोकमरीको समस्या नहोस् भनेर सहकारीमार्फत गाउँभरिको खाद्यसामग्री किनेर सङ्कलन गरिरहेको सहकारीका अध्यक्ष नवीनकुमार कटवालले बताए। उनका अनुसार सहकारीले विभिन्न दाताहरुबाट सहयोग प्राप्त रकमबाट अन्न जोहो गरेको हो ।

सहकारीले सङ्कलन गरेको खाद्यसामग्री भोकमारीबाट पीडित परिवारलाई स्थानीय सरकारमार्फत उपलब्ध गराउने योजना बनाइएको छ । सुनकोशी गाउँपालिका वडा नं ७ र ८ का दुवै वडाको निर्णयअनुसार निःशुल्क राहतस्वरुप वितरण गरिने वडा नं ८ का वडाध्यक्ष गुणराज भट्टराईले जानकारी दिए ।

साविकको च्यानम गाउँ विकास समितिका अतिविपन्न परिवारलाई स्थानीय उत्पादनको अन्न सहयोग गरिने उनको भनाइ छ । ‘हुलकाहुल मानिस गाउँ आएका छन् । खेतबारी बाँझो छ । किनेर खाएर कहिलेसम्म चल्छ ?’, उनले भने, ‘आधुनिक शैलीमा परम्परागत खेती गर्ने आफ्नै बारीमा धान कोदो फलाएर खाने अभियानमा लागेका छौँ । कसैलाई पनि अनिकाल लागेर मर्न दिँदैनौँ ।’ च्यानमका किसानलाई अन्न, मासु र दूधमा आत्मनिर्भर बनाउन गत वर्षदेखिनै दुग्ध चिस्यान केन्द्र र अदुवा प्रशोधन केन्द्र सञ्चालनमा ल्याइएको थियो ।

च्यानममा कृषक र जनप्रतिनिधिसहितका सरोकारवाला बसेर स्थानीय उत्पादनको खाद्य सामाग्रीको मूल्य निर्धारण गरिएको छ । कोदो, मकै, गहुँ, फापर र अटेमार्सी जातको धानको प्रतिपाथी रु १५०, मकवानपुरे धान प्रतिपाथी रु १०० निर्धारण गरिएको छ । गाउँमा उत्पादन हुने आलुलाई प्रतिपाथी १०० दिने निर्णय गएको छ ।

सुनकोशी गाउँपालिकाले कृषिमा परनिर्भरता हटाउने योजना अगाडि बढाएको छ । स्थानीय किसानले उत्पादन गरेका खाद्यसामग्री सङ्कलन गर्ने अभियान गाउँपालिकाभरि रणनीतिकरूपमा अगाडि बढाइएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए ।

‘गाउँमा फलेको जे खाएपछि स्वस्थ छ, र सस्तो पनि छ तर किसानले खान पुग्ने मात्रै होईन बेच्न पुग्नेगरि उत्पादन गर्नुपर्छ’, अध्यक्ष अधिकारीले भने, ‘बजारको जिम्मा स्थानीय सरकारले लिन्छ । अब विस्कुट, चाउचाउ र चामल बोकेर गाउँमा आउने ट्रकमा गाउँको अन्न र तरकारीले भरेर फर्काउनुपर्छ ।’ कृषिमा युवापुस्ताको आकर्षण बढाउन पनि किसानको उत्पादनलाई मूल्य दिनुपर्ने अधिकारीको भनाइ छ ।

प्रकाशित मिति : १४ बैशाख २०७७, आइतबार  ९ : २९ बजे

योग गुरु रामदेव र आचार्य बालकृष्णविरूद्ध पक्राउ पुर्जी

काठमाडौं-भारतीय योग गुरु तथा पतञ्जली योग पीठका संस्थापक रामदेव र

थुनछेक बहस नसकिएपछि पूर्वडीआईजी जोशी पनि हिरासततिर

काठमाडौं- कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी प्रकरणका प्रतिवादी

एक सय ९५ किलो गाँजासहित ६ जना पक्राउ

काठमाडौं– पर्साको वीरगञ्ज महानगरपालिका–१९ बर्वाबाट एक सय ९५ किलो अवैध

सर्वोच्चद्वारा रिट खारेज, राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुल्यो

काठमाडौं- राष्ट्रिय परिचयपत्र लागू गर्ने बाटो खुलेको छ । सर्वोच्च

नेपाल डेरी एसोसिएशनको २६औँ साधारणसभा बुटवलमा हुने

काठमाडौं– नेपाल डेरी एसोसिएशनको २६औँ साधारणसभा तथा स्थापना दिवस-२०८१ बुटवलमा