वन्यजन्तुबाट हुने क्षति कम भएपछि स्थानीयवासी खुशी | Khabarhub Khabarhub

वन्यजन्तुबाट हुने क्षति कम भएपछि स्थानीयवासी खुशी


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- ‘दिनहुँजसो जङ्गलबाट गैँडा, बदेल आएर मकै, तरकारी सबै खाने गर्दथ्यो अहिले जोगिएको छ, हामीलाई खुशी लागेको छ’, कावासोती नगरपालिका–१२ का स्थानीय बहादुर थनेतले भने, ‘धानखेतमा गैँडा आएर खाने, आहाल खेल्ने गर्दथ्यो अहिले सबै जोगिएको छ ।’

कावासोती नगरपालिकाले मध्यवर्ती क्षेत्रमा जोडिएका वडामा पक्की पर्खालसहितको मेस जाली निर्माण गरेपछि वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति रोकिँदा यस क्षेत्रका बासिन्दा खुशी भएका छन् । चितवन राष्ट्रिय निकुञ्जबाट दिनहुँजसो आउने वन्यजन्तुले बालीनाली खाइदिने, मानिसलाई समेत हान्ने गर्दा समस्यामा रहेको यस क्षेत्रका बासिन्दा पक्की पर्खालसहितको मेस जाली निर्माण भएपछि खुशी भएका हुन् ।

‘धान, मकै, तोरी, तरकारी जे लगाए पनि वन्यजन्तुले खाइदिन्थ्यो, पर्खाल लगाउनाले जोगिएको छ’, थनेतले थपे, ‘हिँडडुल गर्नेलाई समेत डरैडर हुने गर्दथ्यो अहिले आनन्द छ ।’ अर्का स्थानीय अमरसिंह थनेतलाई पनि नगरपालिकाले पर्खाल लगाएपछि आफूहरु सुरक्षित भएको लागेको छ । निकुञ्जबाट आउने गैँडाले मानिसलाई समेत हान्ने क्षति गर्ने गरेकामा अहिले रोकिएकामा आफूहरुलाई खुशी लागेको उनले बताए ।

‘पर्खाल नबनाउँदा सबै खाइदिन्थ्यो, मान्छेलाई हान्थ्यो, अहिले रोकिएको छ हामीलाई खुशी लागेको छ’, अमर सिंहले भने । कावासोती नगरपालिकाले मध्यवर्ती क्षेत्रसँग जोडिएको सात वडामा पक्की पर्खालसहितको मेस जाली लगाउने कामलाई प्राथमिकता दिँदै आएको छ ।

चालू आर्थिक वर्षमा मात्रै सात वडामा रु पाँच करोड ५० लाख विनियोजन गरी आठ हजार ३०० मिटर क्षेत्रमा पर्खाल लगाउने काम गरिरहेको छ । अहिले केही वडाको काम सम्पन्न भइसकेको छ । गएको आर्थिक वर्षमा समेत दुई वडामा १५ लाख विनियोजन गरी पक्की पर्खालसहितको मेसजाली निर्माण गरेको थियो ।

कावासोती नगरपालिकाअन्तर्गत मध्यवर्ती क्षेत्रसँग जोडिएको १९ किलोमिटर क्षेत्रमा क्रमशः पक्की पर्खालसहितको मेसजाली निर्माण गरिने कावासोती नगरपालका उपप्रमुख प्रेमशङ्कर मर्दनिया थारूले बताए।

यस क्षेत्रमा डिभिजन वन कार्यालयमार्फतसमेत केही क्षेत्रमा पक्की पर्खालसहितको मेसजाली निर्माण गरिएको छ । हाल निर्माणकार्य जारी रहेको काम सम्पन्न भएमा करिब १० किलोमिटर क्षेत्रमा पक्की पर्खालसहितको मेसजाली निर्माणको काम सम्पन्न हुनेछ । बाँकी रहने करिब नौ किलोमिटर क्षेत्रमा समेत क्रमशः निर्माणको काम हुने उपप्रमुख मर्दनियाले बताए ।

‘पर्खालसहितको मेसजाली लगाएपछि यस क्षेत्रका बासिन्दाले पर्खालसम्म नै अन्नबाली लगाउन पाएका छन्, हिजो बाघ, गैँडा, अन्य वन्यजन्तु आएर मानवीय क्षति, बालीनालीमा क्षति पुर्‍याउने गथ्र्यो, अहिले त्यो रोकिएको छ’, उपप्रमुख मर्दनियाले भने, ‘सो क्षेत्रका बासिन्दालाई वन्यजन्तुले गर्ने क्षतिबाट धेरै राहत मिलेको छ ।’

वन क्षेत्रसँगै जोडिएको वडामध्येको एक कावासोती–११ का वडाध्यक्ष शारदाप्रसाद अधिकारीका अनुसार अघिल्ला वर्षमा वन्यजन्तुले क्षति पुर्‍याउने डरले बाँझो रहने जमिनमा अहिले किसानले खेती गर्न शुरु गरेका छन् । ‘पर्खाल लगाउनुभन्दा अगाडि वन्यजन्तु आएर अन्नबाली खाइदिने, खेती लगायो कहिल्यै पूरा भित्र्याउन पाएका थिएनन्, अहिले राम्रो भएको छ’, वडाध्यक्ष अधिकारीले भने, ‘हिँडडुल गर्नसमेत समस्या भएकामा अहिले सहज भएको छ ।’

यसअघि वन्यजन्तुलाई बस्ती प्रवेश गर्नबाट रोक्न काँडेतारसहित विद्युत् अर्थिङ लगाइएकामा त्यसलाई समेत नाघेर, चुडाएर वन्यजन्तु बस्तीमा आउन थालेपछि पक्की पर्खालसहितको मेसजाली निर्माण गरिएको हो ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  १० : ५० बजे

बलर हावी खेलमा नेपालले स्कटल्याण्डलाई दुई विकेटले हरायो

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

नेपालविरुद्ध स्कटल्याण्डको पनि कसिलो बलिङ, १५.२ ओभरमा ६ विकेट लिएर दियो ७७ रन

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

संरक्षणकर्मीमाथि वालिङ-१० का वडाध्यक्षबाट साङ्घातिक आक्रमण

काठमाडौँ – आँधीखोला दोहनविरुद्ध आवाज उठाइरहेका संरक्षणकर्मी दिनकर नेपाल र

नेपालसामु ९७ रनमै समेटियो स्कटल्याण्ड

काठमाडौँ – स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी२० सिरिजअन्तर्गत भइरहेको तेस्रो खेलमा

न्यायाधीशलाई मोसो दलिएको घटनामा पूर्वन्यायाधीश फोरमको आपत्ति

पूर्वन्यायाधीश फोरमका अध्यक्ष टोपबहादुर सिंह काठमाडौं– जनकपुर उच्च अदालतअन्तरगत वीरगञ्ज