क्वारेन्टिनमै भान्सा, टिभी र इन्टरनेट | Khabarhub Khabarhub

क्वारेन्टिनमै भान्सा, टिभी र इन्टरनेट


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ- क्वारेन्टिन व्यवस्थापनलाई लिएर प्रश्न उठिरहेका बेला यहाँका केही वडाले भने स्तरीय क्वारेन्टिनको प्रबन्ध गरेका छन् ।

क्वारेन्टिनस्थलमा बस्ने समूहका अलग भान्सा छन् । टिभी, इन्टरनेटलगायत अतिरिक्त सुविधा दिइएको छ । व्यवस्थापनमा स्थानीयवासी खटिएका छन् । गलकोट नगरपालिका–७ मल्मस्थित प्रगति आधारभूत विद्यालयमा निर्मित क्वारेन्टिनको निगरानीका लागि ‘सिसी क्यामेरा’समेत जडान गरिएको छ ।

सो क्वारेन्टिनमा अहिले भारतबाट आएका चार जना छ । सोही वडाको जनहित माध्यमिक विद्यालयको क्वारेन्टिनमा आठ, दीपज्योति आधारभूत विद्यालयमा चार र म्याले सामुदायिक भवनमा एक जना छन् । विदेशसहित बाहिरी ठाउँबाट आएका वडावासीको क्वारेन्टिन बसाइलाई सहज तुल्याउन यथाशक्य प्रयास गरिएको प्रगति आवि क्वारेन्टिन निर्माण तथा व्यवस्थापन समितिका संयोजक थम्मन थापाले बताए ।

“खाद्यान्न, विस्तारा र व्यक्तिगत सरसफाइका सामग्री नगरपालिकाले उपलब्ध गराएको छ”, संयोजक थापाले भने, “बाँकी स्थानीय रुपमा व्यवस्थापन गरेका छौँ ।” व्यवस्थापन समितिले नै भान्साका लागि ग्यास चूल्हो, भाँडाकुँडा आदि उपलब्ध गराएको छ । जनहित माविको क्वारेन्टिनमा रहनुभएका राजु चोखालले इन्टरनेट हेरेर समय बित्ने गरेको बताए ।

“हामी तीन जनाको समूह बनाएर बसेका छौँ, भान्सा पनि छुट्टाछुट्टै छ”, उनले भने, “खाना, बसाइमा कुनै कमी र असुविधा छैन ।” बरु, क्वारेन्टिनको बसाइ लम्बिएकामा उनको गुनासो छ । उनी क्वारेन्टिन बसेको २१ दिन भयो । आठ दिनअघि कोरोना जाँचका लागि स्वाब लिइए पनि अझै रिपोर्ट आएको छैन । प्रगति आविको क्वारेन्टिनमा बस्नेले पनि टिभी र इन्टरनेट हेरेर दिन काट्छन् ।

समय बिताउने माध्यम भएपछि एक्लोपनाको महसुस गर्न पाएका छैनन् । सुविधायुक्त क्वारेन्टिनस्थलले केही सन्तोष दिएको छ । व्यवस्थापन समितिले क्वारेन्टिनस्थलको सुरक्षा निगरानी र रेखदेख गर्दै आएको छ । क्वारेन्टिनको अनुशासनलाई कडापूर्वक पालना गराउन नियमित अनुगमनसमेत हुने गरेको छ ।
नगरपालिकाका पदाधिकारीसमेतले बेलाबेला निरीक्षण गर्छन् । सो क्रममा नगरकै उत्कृष्टमध्येमा ७ नं वडाका क्वारेन्टिन ठहरिएको वडाध्यक्ष टीकाबहादुर थापाले बताए ।

क्वारेन्टिनमा बस्नेको सङ्ख्या कम भएकाले पनि स्तरीयता कायम गर्न सहज बनेको उनको भनाइ छ । क्वारेन्टिनस्थलको चुस्त व्यवस्थापनमा स्थानीयवासीकोसमेत उत्तिकै सहयोग छ । कसैले खाट त कसैले टिभी दिएका थिए ।

नगरपालिकाबाट आउने रकमबाहेकको खर्च वडा र व्यवस्थापन समितिले ब्यहोर्ने भएका छन् । उक्त वडाबाट रोजगारीका लागि भारत जानेको सङ्ख्या करिब ५० मात्रै छ । कोरोना कहर लम्बिँदै गएमा तेस्रो मुलुकबाट आउनेको सङ्ख्या बढ्ने देखिन्छ । सो अवस्थामा क्वारेन्टिनको क्षमता अझै बढाउनुपर्ने अवस्था छ ।
भारतबाट आउने क्रम शुरु भएपछि नगरपालिकाले गत महिना सबै वडामा कम्तीमा दश शय्याको क्वारेन्टिन बनाउन निर्देशन दिएको थियो ।

तत्कालै वडा नं ३ ले पनि १५ श्ययाको क्वारेन्टिन निर्माण गरेको थियो । गलकोट उद्योग वाणिज्य सङ्घ र गलकोट बहुमुखी क्याम्पसले क्वारेन्टिन निर्माणमा सघाएको वडा वडाध्यक्ष वीरजङ्ग भण्डारीले बताए । क्याम्पसको कोठालाई क्वारेन्टिनस्थलका रुपमा प्रयोग गरिएको छ ।

“क्वारेन्टिन व्यवस्थित छ, व्यक्तिगत प्रयोगका सामग्रीदेखि स्यानेटाइजरसम्म उपलब्ध गराएका छौँ”, अध्यक्ष भण्डारीले भने।

शौचालय पनि छुट्टाछुट्टै प्रबन्ध गरिएको छ । नगरपालिकाले कोरोना आशङ्कित व्यक्तिलाई २१ दिनसम्म क्वारेन्टिनमा राख्दै आएको छ । क्वारेन्टिनमा रहेका बेला स्वास्थ्यकर्मीले नियमित स्वास्थ्य जाँच गर्ने गरेका छन् । क्वारेन्टिनको बसाइ पूरा गरेपछि र आवश्यकता परेको खण्डमा कोरोना जाँच गरेर मात्र घर पठाइने नगरपालिकाले जनाएको छ । जिल्लाका कतिपय स्थानीय तहलाई भने क्वारेन्टिन विस्तार र गुणस्तर कायम गर्नु चुनौतीपूर्ण बनेको छ ।

बाहिरबाट आउनेको ठूलो सङ्ख्या र छिटो कोरोना जाँच नहुँदा लामो समयसम्म क्वारेन्टिनमा राख्दा खर्चको भार पनि थपिँदै गएको छ । स्वास्थ्य कार्यालयका अनुसार जिल्लाका विभिन्न ठाउँमा रहेका क्वारेन्टिनमा अहिले एक हजार ७३६ जना छन् । तीमध्ये झण्डै ८०० जनाको कोरोना जाँचका लागि स्वाब लिइए पनि रिपोर्ट भने आउन बाँकी छ । जिल्लामा हालसम्म ४१ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आठ जना निको भएका छन् ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  १२ : १० बजे

रवीन्द्र मिश्रलाई तीन लाख धरौटीमा छाड्न आदेश

काठमाडौं– जिल्ला अदालत काठमाडौंले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ

रास्वपा सांसदहरू अभद्र शैलीमा संसद् पसे : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले रास्वपाका सांसदहरुले अभद्र

आरोही कल्याणकारी कोष स्थापना गर्दै छौं : मन्त्री पाण्डे

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराती पाण्डेले

नेपालमा मृत्यु र अपाङ्गताको प्रमुख कारक बन्दै वायु प्रदूषण

काठमाडौं– नेपालमा वायु प्रदूषण मृत्यु र अपाङ्गताको प्रमुख कारक बनेको

चेक अनादर मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ 

काठमाडौं– चेक अनादर सम्बन्धी मुद्दाका फरार प्रतिवादी सर्लाही घर भएका २६