सांसदको प्रश्न : मल, बीउ नपाएर किसानले कहिलेसम्म रुनुपर्ने हो ? | Khabarhub Khabarhub

सांसदको प्रश्न : मल, बीउ नपाएर किसानले कहिलेसम्म रुनुपर्ने हो ?


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मानो रोपेर मुरी उब्जाउने समयमा मल तथा बीउ नपाएर किसान छट्पटिएकाले तत्काल मल र बीउ उपलब्ध गराउन सांसदले सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले नेपाल कृषिप्रधान देश भए पनि सरकारले कृषि क्षेत्रप्रति बेवास्ता गरेको गुनासो गरे । उनीहरुले कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको एक तिहाइ योगदानलाई नभुल्न सरकारको ध्यानाकर्षण गराउँदै देशव्यापी रुपमा देखिएको मल तथा बीउको अभावको समस्या समाधान गर्न माग गरे ।

सांसद लक्ष्मीकुमारी चौधरीले प्रश्न गर्ने, ‘मल बीउ नपाएर किसानले कहिलेसम्म रुनु पर्ने हो ?’ सांसद भरकुमार शाहले किसान धमाधाम बर्खेखेती लगाउन व्यस्त रहेका अवस्थामा रासायनिक मलको चरम अभाव भएको बताए । सांसद राजेन्द्रकुमार राईले किसानलाई तत्काल रासायनिक मल उपलब्ध गराउन माग गरे ।

सांसद वृजेशकुमार गुप्ताले सामुदायिक विद्यालयको गुणस्तर दिनप्रतिदिन खस्कँदै गएकाले तत्काल शैक्षिक गुणस्तर सुधार गर्न सरकारको ध्यानाकर्षण गराए । उनले अस्थायी, राहतलगायत शिक्षकलाई हटाएर स्थायी शिक्षक मात्र राख्न सरकारसँग माग गरे ।

सांसद रानी मण्डलले क्वारेन्टिनबाट कोरोना सर्ने अवस्था आएको उल्लेख गर्दै यसलाई व्यवस्थित बनाउन माग गरे । उनले क्वारेन्टिनहरुको अवलोकन गर्न सरकारलाई आग्रह गरे । सांसद भीमसेनदास प्रधानले सवारी साधनमा भौतिक दूरी कायम गर्न कठिन हुने भएकाले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिन माग गरे ।

सांसद भैरवबहादुर सिंहले सुदूरपश्चिममा भारतबाट आउने क्रम नरोकिएकाले कोरोनाको चुनौती थप बढेको जनाउँदै क्वारेन्टिनमा बसेका सबै नागरिकको पीसीआर परीक्षण गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद मीना सुब्बाले मृत्युपछि मात्र कोरोना परीक्षणको रिपोर्ट आएकाले यसको नियन्त्रणमा सरकार चुकेको आरोप लगाए ।

सांसद मनकुमारी जिसीले विदेशमा अलपत्र नागरिकलाई उद्धार गरेर ल्याउनु सरकारको सकारात्मक कदम भएको उल्लेख गर्दै क्वारेन्टाइनलाई थप व्यवस्थित बनाउन माग गरे । सांसद महेश्वरराज गहतराजले महिला हिंसा र जातीय विभेदको घटना बढेकामा चिन्ता व्यक्त गर्दै सामाजिक अपराध नियन्त्रण गर्नका लागि ठोस कदम चाल्न आग्रह गरे ।

सांसद रङ्गमती शाहीले क्वारेन्टिनमा महिला बलात्कृत हुने अवस्थाप्रति चिन्ता व्यक्त गर्दै दोषीमाथि कडाभन्दा कडा कारवाही गर्न माग गरे । सांसद रामकुमारी चौधरीले बन्दाबन्दी अवधिमा ३७३ बलात्कार, ३४ बहुविवाह र आठ बोक्सीसम्बन्धी घटना भएको जनाउँदै गम्भीर जघन्य आपराधिक घटना नियन्त्रण गर्न माग गए । सांसद लक्ष्मी परियारले रुकुम(पश्चिम) घटनामा संलग्नलाई तत्काल कारवाही गर्न माग गरे ।

सांसद भवानी खापुङले पुष्पलाल लोकमार्गअन्तर्गत पूर्वी क्षेत्रमा बन्ने पुलको अझै निर्माण हुन नसकेको जनाउँदै ठेकेदारलाई ताकेता गर्न माग गरे । सांसद मीनबहादुर विश्वकर्माले लकडाउनदेखि अन्तिमसम्मको अवधिलाई ‘शून्य’ समय मानी घरधनीले घरभाडा नलिने, बैंकले ब्याज नलिने, विद्यालयले शुल्क नलिने र दैनिक ज्यालादारी श्रमिकलाई मासिक रु सात हजार दिने व्यवस्था गर्न प्रस्ताव गरे ।

सांसद मीनेन्द्रप्रसाद रिजालले सरकारले फजुल खर्च नियन्त्रण गर्न नसकेको आरोप लगाए । सांसद मोहन बानियाँले तत्काल नागरिकता विधेयक सदनमा पेश गर्न माग गरे । सांसद रामबहादुर विष्टले भ्रष्टाचार नियन्त्रणमा सरकारले उदासीनता देखाएको आरोप लगाए ।

सांसद यज्ञराज सुनुवारले कामचोर र ठग ठेकेदारका लागि कोरोना बहाना मिलेको जनाउँदै सार्वजनिक खरीद ऐन संशोधन गरेर मुलुकप्रति घात गर्ने ठेकेदारलाई कारागार हाल्ने व्यवस्था मिलाउन माग गरे ।

सांसद रामकुमारी झाँक्रीले साना उद्यमीलाई कोरोनाका कहरबाट जोगाउनका लागि उचित राहत प्याकेज ल्याउन सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ३ : ३५ बजे

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन– भरतपुर महानगरपालिकाले उच्च प्राथमिकतामा राखेको सहरी क्षेत्रको छ लेन

विभिन्न स्थानबाट लागूऔषधसहित १५ जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १५ जनालाई पक्राउ गरेको

फराकिलो बन्दै न्यूरोडको फुटपाथ (तस्बिरहरू)

काठमाडौं- पटक पटकको विवादबीच काठमाडौंको न्यूरोडमा फुटपाथ विस्तारको काम अन्तिम

मुलुकको विकासलाई केन्द्रमा राखेर काम गरिरहेका छौँ : मन्त्री यादव

काठमाडौं– खानेपानीमन्त्री प्रदीप यादवले नागरिकको सेवा र मुलुकको विकासलाई केन्द्रमा राखेर

सुदूरपश्चिमको बजेट बहुमतले पारित

धनगढी– सुदूरपश्चिम प्रदेशसभाबाट आर्थिक वर्ष ०८१/०८२ को बजेट बहुमतले पारित