फुटको संघारमा नेकपा, दुवै पक्ष वार–पारको तयारीमा | Khabarhub Khabarhub

फुटको संघारमा नेकपा, दुवै पक्ष वार–पारको तयारीमा



काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले अचानक संघीय संसदको चालु अधिवेशन अन्त्य गरेपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक द्वन्द्व वार कि पारको चरमोत्कर्षमा पुगेको छ ।

पार्टीका एक अध्यक्ष पुष्पकमल दाहालले संसद अधिवेशन अन्त्यको संकेत बुधबार नै पाइसकेका थिए । बिहीबार बिहान खुमलटार पुगेका ओली पक्षधर नेताहरूको अभिव्यक्तिबाट पनि दाहाललाई आफूलाई प्राप्त सूचनामा विश्वास भयो ।

बिहीबार बालुवाटारमा स्थायी कमिटी बैठक सुरु हुनुअघि मन्त्रिपरिषद बैठक बस्न लागेको जानकारी पाएपछि दाहालले प्रधानमन्त्री ओलीलाई तत्कालै भेटेर यसबारेमा सोधेका थिए । ओलीले तिक्ततापूर्ण जवाफ दिएको र त्यहाँ उत्पन्न असहज परिस्थिति महासचिव विष्णु पौडेलले सह्मालेको स्थायी कमिटीका एक सदस्यले बताए ।

प्रधानमन्त्रीले संसद अधिवेशन अन्त्य गरेपछि ओली इतरका नेताहरूले राति अबेरसम्म चरण चरणमा छलफल गरेका छन् । प्रधानमन्त्री ओलीले संसद विघटनको समेत कदम चाल्न सक्ने चार शीर्ष नेताहरू (दाहाल, झलनाथ खनाल, माधवकुमार नेपाल र वामदेव गौतम) को अनुमान छ ।

संसद अधिवेशन नचलेको अवस्थामा आफूमा झन् धेरै शक्ति केन्द्रित गरेर प्रधानमन्त्री ओली नयाँ ‘जङ्गबहादुर’ बन्न सक्ने अनुमान चार नेताको रहेको र यसको सामना कसरी गर्ने भन्ने विषयमा छलफल जारी रहेको स्रोतको भनाइ छ ।

प्रधानमन्त्री ओलीले अध्यादेश जारी गराएर पार्टी फुटको तरबार देखाउन सक्ने अनुमान गर्दै चार नेताले सोहीअनुसार तयारी गर्ने गरी छलफल केन्द्रित गरेका छन् । सकेसम्म पार्टी फुट्नबाट जोगाउने र त्यसो हुन नसके फुटको तयारी गर्ने निष्कर्षको नजिक चार नेता रहेको एक सदस्यले बताए ।

ती सदस्यका अनुसार प्रधानमन्त्री ओलीलाई पार्टी अध्यक्षबाट राजीनामा गराउने पहिलो प्राथमिकता हुनेछ । उनी यसमा तयार भए बाँकी अवधि पनि सरकार उनैले चलाउने छन् । यस विपरीत प्रधानमन्त्री पद त्याग्न तयार भए उनी पार्टीका दुई मध्येका एक अध्यक्ष रहने छन् ।

यी दुवै विकल्पमा ओली तयार नभए एक चौथाइ सदस्यको हस्ताक्षरले प्रतिनिधिसभाको विशेष अधिवेशन बोलाएर प्रधानमन्त्रीबाट हटाउने प्रक्रिया पनि हुन सक्नेछ । यो अवस्था आए पनि पार्टी विभाजन नै हुनेछ ।

शनिबार स्थायी कमिटी बैठकसम्ममा दुवै पक्षले वार कि पारको अन्तिम तयारी गर्नेछन् । स्थायी कमिटी सदस्य गणेश शाहका अनुसार ओलीको कार्यशैलीबाट सरकार र पार्टी दुवै धरापमा पर्छन् भन्नेमा चार शीर्ष नेताहरू एकमत देखिन्छन् । छिमेकीसँगको सम्बन्ध थप खराब बन्दै जाने पनि उनीहरूको ठहर छ ।

यसो भए पनि ओलीलाई एक पदमा कायम राखेर पार्टी एकताका बाँकी काम अघि बढाउने मध्यमार्गमा चार नेता दाहाल, खनाल, नेपाल र गौतम सहमत छन् ।

स्थायी कमिटीको चालु बैठकले पार्टीको द्वन्द्व समाधानमा ठोस निकास दिन नसके ओली थप निरंकुश हुँदै जाने नेताहरूको ठहर छ । ओली पक्षका नेताहरूले संसद अधिवेशन अन्त्यसँगै आफू बलियो भएको आभास दिन थालेका छन् । एक नेताले ओलीलाई संसदीय प्रक्रियाबाट अपदस्थ गरेर देखाउन चुनौती दिए ।

ओलीनिकट एक स्थायी कमिटी सदस्यका अनुसार प्रधानमन्त्रीमाथि सम्भावित अविश्वास प्रस्ताव छल्न संसद अधिवेशन अन्त्य गरिएको हो । अध्यादेश आउने होइन, अध्यादेश आउने कुरा ओलीका विपक्षीहरूको भयमात्रै हो ।

अर्का एक सदस्यले पार्टी एकता बचे नेताहरूलाई धन्यवाद दिऊँला भने । उनका अनुसार पार्टी फुटको संघारमा छ । शनिबार हुने स्थायी कमिटी बैठक अघि कुनै समाधान ननिस्के पार्टी फुट्न सक्नेछ ।

दाहाल निकट मानिने एक सदस्यले एक नम्बर अध्यक्ष (ओेली) पार्टी फुटाउन तयार भए अर्का अध्यक्ष (दाहाल) पनि तयार हुने बताए । सकेसम्म ओलीलाई पार्टी पद्धतिमा ल्याएर पार्टी एकता जोगाउने प्रयास हुनेछ ।

मझधारका एक सदस्यले भने ध्वंशै हुनेजस्तो अवस्था आइहाले  नेताहरूले सहमतिको कुनै न कुनै विन्दु फेला पार्ने विश्वास प्रकट गरे ।

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशनसँगको सम्झौता अनुमोदन नहुने र आफूलाई अपदस्थ गर्न सक्ने संसद अधिवेशनको औचित्य नदेखेरै ओलीले अधिवेशन अन्त्य गराएका हुन् । यसो भएपछि कम्तीमा छ महिना उनलाई कसैले सजिलै अपदस्थ गर्न सक्नेछैन ।

चार नेताको गठबन्धले प्रधानमन्त्री ओलीले राजनीतिक दलसम्बन्धी तीन महिनाअघिको अध्यादेश ब्युँताएर पार्टी फुटाउन सक्ने अनुमान गरेका छन् । निर्वाचन आयोगमा नेकपा एमाले दर्ताका लागि परेको निवेदनलाई नेताहरूले संयोगमात्रै नभई सुनियोजित ठानेका छन् ।

एक नेताका अनुसार ओली निकटका केही सांसदको सक्रियतामा अति निकटस्थ व्यक्तिहरूको नाम राखेर नेकपा एमाले दर्ताको निवेदन हालिएको हो । यसलाई पार्टी फुटाउने सुनियोजित षड्यन्त्रका रूपमा चार नेताको समूहले बुझेको छ ।

ओली निकटस्थ उनको राजीनामा मागिरहेका चार नेता पार्टी फुटाउन तयार हुने छैनन् भन्ने निष्कर्षमा छन् ।

नेकपाको यो चरम द्वन्द्व कुन परिणाममा टुङ्गिने हो सम्भवत आउँदो साताभरिमा प्रष्ट भइसक्नेछ ।

प्रकाशित मिति : १८ असार २०७७, बिहीबार  १० : ४७ बजे

डडेल्धुरामा जिप दुर्घटना, चार जनाको घटनास्थलमै मृत्यु

अमरगढी– यहाँको नवदुर्गा गाउँपालिका–५ मा आज बिहान से १ ज

जनार्दनलाई स्वार्थ समूहको संज्ञा दिँदै प्रचण्डले भने- उनले नपत्याउँदैमा फरक पर्दैन, पदाधिकारी बैठकमा समीक्षा हुन्छ

विराटनगर- प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले

ट्रम्पको ‘ट्यारिफ’ले खोस्यो भारतीय हिराको चमक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतबाट आयात हुने सामानमा ५० प्रतिशतसम्म

अनियन्त्रित मनलाई नियन्त्रित गर्न सत्संग गरौँ : उपप्रधानमन्त्री सिंह

काठमाडौं– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अनियन्त्रित मनहरूलाई

अमेरिकी चर्चमा बन्दुकधारीले आक्रमण गर्दा दुई बालबालिकाको मृत्य, १७ जना घाइते

वाशिङ्टन- अमेरिकाको मिनियापोलिस राज्यको एक चर्चमा सेवा गरिरहेका विद्यालय जाने