छाङ्गरु र तिङ्करमा खाद्यान्न अभाव : चामल प्रतिकेजी २५० रूपैयाँ | Khabarhub Khabarhub

छाङ्गरु र तिङ्करमा खाद्यान्न अभाव : चामल प्रतिकेजी २५० रूपैयाँ


२९ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला – दार्चुलाको व्यास गाउँपालिका–१ छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न बाटो नहुँदा यहाँका दुवै गाउँमा खाद्यान्न अभाव हुन थालेको छ ।

गत वैशाखमा कुञ्चा सरेका व्यासीका लागि नेपालतिर भएर गाउँ जान बाटो नहुँदा खाद्यान्न अभाव हुन थालेको हो ।

विगतमा भारतीय बाटो र चीनको ताक्लाकोट भएर खाद्यान्न ढुवानी गर्दै आएका व्यासीले यो पटक बन्दाबन्दीका कारण खाद्यान्न ढुवानी गर्न पाएका छैनन् । अहिले गाउँमा पुरानै खाद्यान्न खाँदैछन् ।

गाउँमा चामल अभाव हुन थालेपछि यहाँ चामल प्रतिकिलो २५० रूपैयाँ सम्ममा खरिद बिक्री हुन थालेको छ । चीनबाट निर्यात गरिएको पुरानो चामल अहिले व्यासको छाङ्गरुमा २५० रूपैयाँ प्रतिकिलो खरिद बिक्री भइरहेको बुदीमा होटल व्यवसाय गर्दै आउनुभएका व्यापारी देवसिंह खातीले जानकारी दिए ।

‘नेपालकै भूमि भएर कुञ्चा (बसाइँसराइ) सर्दा बाटोघाटो थिएन । अहिले यही क्षेत्रका पसलबाट खाद्यान्न खरिद गर्दा महँगो मूल्य पर्दैछ । चामल किन्न पाइँदैन । केही पसलमा मात्रै चामल पाइए पनि महँगो मूल्य हालेर खानुपर्ने बाध्यता छ’, खातीले सुनाए ।

उनका अनुसार अहिले छाङ्गरु र तिङ्करमा मौज्दात रहेको चामल सकिन थालेपछि स्थानीयवासीले गाउँमा पाइने पुरानो अन्नबाली खान थालेका छन् । अहिले यहाँका स्थानीयवासीले फापर, कोदोजस्ता पुराना अन्न अहिले आएर प्रयोग गर्दै आएका छन् ।

सरकारले सुरक्षाकर्मीका लागि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरे पनि व्यासीका लागि खाद्यान्न ढुवानी हुन नसक्दा स्थानीयवासीले समस्या खेप्नुपरेको छ । विगतमा ८० देखि ९० रूपैयाँ प्रतिकिलो पाइने चामलको मूल्य अहिले दोब्बरभन्दा बढीले वृद्धि भइरहेको छ ।

‘घरमा पुरानो अन्न फापर उवा, नप्पल हुनेले त्यही प्रयोग गर्छन्’, स्थानीय गीता बोहराले भनिन् । पुरानो अन्न नभएका घरमा के खाउँको अवस्था पुगिसकेको छ । समयमै चामल ढुवानी हुन नसके दुवै गाउँ र पशुपालक कृषक भोकमरीमा पर्ने अवस्था आएको स्थानीयवासी बताउँछन् ।

व्यास गाउँपालिका अध्यक्ष दिलीपसिंह बुढाथोकी छाङ्गरु र तिङ्करके लागि छिट्टै खाद्यान्न ढुवानी हुने बताउँछन् । यहाँका दुवै गाउँका लागि सदरमुकाम खलङ्गामा खाद्यान्न पुगिसकेको बताउँदै उहाँले भने, ‘मौसम सफा हुने बित्तिकै दुवै गाउँका लागि खाद्यान्न ढुवानी हुन्छ ।’

दुवै गाउँका लागि सरकारले २०० क्विन्टल खाद्यान्न पुँयाउँदैछ । अहिले छाङ्गरुमा ११९ घरधुरी र तिङ्करमा ७० घरधुरी छन् भने दर्जन बढी भेडा व्यवसायी यो क्षेत्रमा बसेका छन् ।

छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी गर्न शनिबार हेलिकप्टर प्रस्थान गरे पनि मौसममा सुधार हुन नसक्दा बीच बाटोबाटै फर्किएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दुवै गाउँमा हेलिकप्टरमार्फत शनिबारदेखि दार्चुला सदरमुकामबाट चामल ढुवानी शुरु गर्ने तयारी गरे पनि मौसम खराबी हुँदा हेलिकप्टर ती गाउँमा जान नसकेको हो ।

शुक्रबार सदरमुकाम खलङ्गामा पुगेको हेलिकप्टरले शनिबार मध्याह्न हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गर्ने तयारी गरेको थियो । सदरमुकाम खलङ्गाबाट मध्याह्न हिँडेको हेलिकप्टर थि भीरभन्दा माथि जान नसकेको गाउँपालिका अध्यक्ष बुढाथोकीले जानकारी दिए ।

बाक्लो कुहिरो लागेका कारण हेलिकप्टर थिभन्दा माथि जान नसकेपछि सदरमुकाम खलङ्गा फर्किएको छ । पहिलो दिन गाउँपालिका अध्यक्ष बुढाथोकी, नेपाली काँग्रेस पार्टी सभापति ललितसिंह बोहरा, वडा नम्बर १ का वडाध्यक्ष अशोकसिंह बोहरा र गाउँ कार्यपालिका सदस्य वासु ऐतवाल लिएर हेलिकप्टर खलङ्गाबाट उडेको थियो ।

छाङ्गरु र तिङ्करमा एक/एक सय क्विन्टल चामल हेलिकप्टरमार्फत ढुवानी गरिने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सुर्खेतस्थित प्रादेशिक प्रमुख भीमबहादुर थापाले जनाए ।

प्रतिस्पर्धाका आधारमा कम्पनीले निजी हवाई कम्पनी माउन्टेनले सस्तो दरमा चामल ढुवानी गर्ने जनाएपछि ती गाउँमा खाद्यान्न ढुवानी शुरु गरिएको उनको भनाइ छ ।

चामल ढुवानीको प्रतिस्पर्धामा तीन वटा हवाई कम्पनीले सहभागिता जनाएका थिए ।

सबैभन्दा न्यून प्रतिकिलोग्राम दुई सय ४९ रुपैयाँ ९८ पैसा भाडा कबोल गर्ने माउन्टेन हेलिकप्टर कम्पनीसँग चामल ढुवानीको सम्झौता गरिएको थियो । – रासस

प्रकाशित मिति : २९ असार २०७७, सोमबार  १२ : ०९ बजे

इञ्जिन ल्याएर तत्काल विमान सञ्चालन गर्न निगमलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगमको ए–३२०

मधेसमा धान उत्पादनमा कमी आउने

पर्सा – धान बाली लगाउने बेलामा मधेस प्रदेशमा सुक्खायाम र

एनपीएलको टिकट बुकिङ खुला, मूल्य ५ सयदेखि २ हजारसम्म

काठमाडौं – नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर

पूर्वमहालेखापरीक्षक खत्रीलाई प्रश्न : जोखिम हेरेर मात्रै पूर्ण कर परीक्षण गर्ने नीति कति उचित ?

काठमाडौं– जेन-जी आन्दोलनपछि बनेको सरकारले अर्थतन्त्रमा दीर्घकाल र अल्पकालमा प्रभाव