सशस्त्रका २९ गुल्म खारेज | Khabarhub Khabarhub

सशस्त्रका २९ गुल्म खारेज


२ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले सशस्त्र प्रहरी बलका २९ वटा गुल्म खारेज गरी आठवटा सीमा सुरक्षा गण बनाउने निर्णय गरेको छ ।

भन्सार तथा औद्योगिक सुरक्षामा खटिएका जनशक्तिलाई सीमा सुरक्षामा केन्द्रित गर्ने योजनाअनुसार सशस्त्र प्रहरीको नयाँ जनशक्ति संरचना तयार गरिएको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गरेको छ । सर्वेक्षणअनुसार सशस्त्र प्रहरीले जनशक्ति पुनर्संरचनाको तयारी अघि बढाएको छ । गृह मन्त्रालयका सहसचिव रामप्रसाद आचार्यको नेतृत्वमा तयार गरिएको ओएन्डएम सर्वेक्षण स्वीकृत भएको हो ।

भन्सार तथा औद्योगिक सुरक्षाका लागि सशस्त्रको गुल्म अनावश्यक भएको निष्कर्षसहित २९ गुल्म हटाएर त्यहाँ कार्यरत प्रहरीलाई सीमामा खटाउने प्रक्रिया अघि बढाइएको छ ।

गुल्ममा कार्यरत जनशक्तिलाई नयाँ गणमा समायोजन गर्न लागिएको छ । यसअघि सम्बन्धित जिल्लाका गणमातहत बोर्डर आउट पोस्ट (बिओपी)मा परिचालन हुन्थ्यो । अब सीमा हेर्न विशिष्टीकृत गणहरू बन्नेछन् ।

एउटा गणले करिब तीनवटासम्म जिल्लाका बिओपीहरू हेर्नेछन् । गुल्मका चार हजार ६ सय ४० जनशक्तिलाई आठवटा गणमा सार्न लागिएको छ । नयाँ जनशक्ति तत्काल थप नहुने भएकाले अहिलेकै जनशक्तिको जिम्मेवारी हेरफेर गरी सीमामा दोब्बर बनाउन लागिएको छ ।

सशस्त्र प्रहरीलाई धेरै प्रकारको जिम्मेवारी दिँदा प्रभावकारी हुन नसकेको भन्दै सीमामा केन्द्रित गर्न लागिएको गृह मन्त्रालयका एक अधिकारीले बताए । यसअनुसार आठवटा जिल्लामा सशस्त्र प्रहरीका दुईवटा गण हुनेछन् । दुई निकायलाई प्रस्ट जिम्मेवारी नहुँदा काममा डुप्लिकेसन हुने र समन्वयमा समस्या हुन सक्ने सशस्त्र प्रहरीका एक उच्च अधिकारी बताउँछन् ।

नयाँ संरचनाअनुसार अब सीमाक्षेत्रमा सशस्त्र प्रहरीको बिओपीको संख्या दुई सय २१ पुग्नेछ । हाल एक सय ३० छ । गत २६ मंसिरकै मन्त्रिपरिषद् बैठकले एक सय १४ वटा बिओपी थप्ने नीतिगत निर्णय गरिसके पनि कार्यान्वयन भएको थिएन ।

सीमा सुरक्षाको प्रमुख जिम्मेवारी रहेको सशस्त्रको करिब पाँच हजार जनशक्ति मात्र सीमा सुरक्षामा खटिएको छ । उसको कुल जनशक्ति ३७ हजार छ ।

सीमामा सुरक्षा बढाउन उसले नौ हजारभन्दा धेरै दरबन्दी थपको प्रस्ताव गरेको छ । तर, तत्काल दरबन्दी थप्न सक्ने अवस्था नरहेको गृह मन्त्रालयका एक अधिकारी बताउँछन् ।

सशस्त्र प्रहरीको वरिष्ठ हवल्दारका दरबन्दी कटौती गरी माथिल्लो तहका केही दरबन्दीमा मिलान गरिएको छ । गृह मन्त्रालयका अनुसार एसपीको ६, तथा डिएसपी र इन्स्पेक्टरको नौ/नौवटा दरबन्दी थप भएको छ । लेखा समूहतर्फका एक सय २४ हवल्दारको दरबन्दी कटौती गरी माथिल्लो पदमा मिलान गरिएको छ । जसमध्ये २४ सिनियर तथा एक सय पदमा सइ र असइको दरबन्दी थपिएको छ ।

सशस्त्र प्रहरीमा माथिल्लो तहमा थोरै मात्र पद हुँदा इन्स्पेक्टरबाट डिएसपी हुन २० वर्ष लाग्ने समस्या छ । थपिएका दरबन्दीहरू धेरैजसो नयाँ स्थापना हुन लागेका सीमा सुरक्षा गणमा राखिएको छ ।

सशस्त्र प्रहरीका आठवटा बाहिनीको दरबन्दी कटौती गरी ६ वटा शिक्षालयमा कायम गरिएको छ । एक सय २५ जनाका दरले शिक्षालयमा दरबन्दी कायम गरिएको हो । यसअघि शिक्षालयमा सबैजसो प्रहरी बाहिनीबाट काजमा खटिने गरेका थिए । सर्वेक्षणमा उनीहरूको दरबन्दी नै त्यहीँ कायम गरिएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७७, शुक्रबार  १० : ३३ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र