सुन प्रकरण नयाँ मोडमा, थप रहस्यमय बन्दै घटना | Khabarhub Khabarhub

सुन प्रकरण नयाँ मोडमा, थप रहस्यमय बन्दै घटना



काठमाडौं । यही साताको मंगलबार, १३ गते, बिहान प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन र दुई थान हतियार बरामद गरेको भन्ने समाचार आयो ।

त्यसको केही बेरमै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले पत्रकार सम्मेलन गरेर बरामद भएको १५ किलोमध्ये आधा किलोमात्र सुन रहेको र बाँकी साढे १४ किलो सुनको जलप लगाएको चाँदी रहेको जानकारी दिए ।

उक्त सामान बोकेको बा६च ५५१९ नम्बरको स्कोर्पियो गाडी भने सामान फ्याँकेर फरार भएको भनियो । दुई थान पेस्तोलसहित यति परिमाणमा सामान बरामद हुँदा पनि प्रहरीले सामान बोक्ने गाडी किन पक्राउ गर्न सकेन भन्ने प्रश्न चौतर्फी उठ्यो ।

भोलिपल्ट अर्थात बुधबार महानगरीय प्रहरी कार्यालय रानीपोखरीले वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को संयोजकत्वमा छानविन समिति गठन गर्‍यो ।

सुरुमा महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाको संयोजकत्वमा ५ सदस्यीय टोली गठन गरे पनि पछि थापालाई संयोजकबाट हटाएर महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी सुशीलकुमार यादवलाई संयोजक बनाइयो । थापा सदस्यमा झारिए । त्यसयता ३ दिनमा सुन प्रकरण रहस्यमय मोडमा पुगेको छ ।

प्रहरी जवानकै कोठमा भेटियो १ किलो पहेँलो धातु

शुक्रबार सुन प्रकरणको अपरेसनमा संलग्न प्रहरी जवान प्रशन्न श्रेष्ठ बस्ने कोठाबाट सुनजस्तै देखिने एक किलो पहेँलो धातु बरामद भएको छ । महानगरीय प्रहरी बृत्त दरबारमार्गमा कार्यरत प्रहरी जवान प्रशन्नको बुढानीलकण्ठस्थित डेराबाट उक्त धातु बरामद भएको हो ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी विश्वराज पोखरेलले प्रहरी जवानको डेराबाट १ किलो पहेँलो धातु बरामद भएको पुष्टि गरेका छन् । उनले भने, ‘पहेँलो धातु बरामद भएको छ, अहिले यही प्रकरणको अनुसन्धान गर्न बनेको छानविन समितिले थप अनुसन्धान गरिरहेको छ ।’

यो घटनासँगै मङ्गलबार यता चौतर्फी चासो र चर्चाको विषय बनेको सुन प्रकरणले नयाँ मोड लिने देखिएको छ ।

अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी भन्छन्, ‘अपरेसनमा संलग्न प्रहरीकै घरबाट घटनामा बरामद भएको प्रकृतिकै पहेँलो धातु भेटिएको छ, यसबाट घटनामा प्रहरीकै मिलेमतो हुनसक्ने थप प्रमाण जुटेको छ ।’

उनका अनुसार यो पहेँलो धातु त्यही समूहको हो भन्ने प्रमाणित भयो भने घटनाको अनुसन्धानले अर्को मोड लिनेछ ।

प्रहरीले नै देखायो नक्कली घटनास्थल !

सुन प्रकरणको छानविनका लागि गठित एसएसपी नेतृत्वको छानविन समितिले सुन बरामद भयो भनिएको स्थान नै नक्कली भएको पत्ता लगाएको छ । छानविनमा संलग्न एक प्रहरी अधिकारीका अनुसार अनुसन्धानका क्रममा प्रहरीले नै नक्कली घटनास्थल देखाएको खुलेको हो ।

ती अधिकरीले भने, ‘महानगरीय प्रहरी बृत्त, दरबारमार्गका प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) रञ्जन दाहालले घटनास्थल नै परिवर्तन गरेर आफूभन्दा माथिल्लो निकायलाई गुमराहमा राखेको खुलेको छ ।’

काठमाडौंको कमलादीमा सेतो कपडाको झोला फ्याँकेर स्कोर्पियो गाडी फरार भएको भनिए पनि त्यस क्षेत्रमा नभई सुन्धारा क्षेत्र हुनसक्ने ती अधिकारीले बताए । उनले भने, ‘अनुसन्धानका क्रममा त्यसक्षेत्रको सीसी क्यामेरा फुटेजमा प्रहरीले बताएअनुसारको घटनाक्रम नै देखिएको छैन । त्यसक्षेत्रका सर्वसाधारणलाई समेत घटनाको बारेमा जानकारी छैन । कमलादी क्षेत्रमा घटना भएको हुनै सक्दैन ।’

प्रहरीको गरिरहेको चेकजाँचका क्रममा हतियार र सामानसहितको झोला फालेर गाडी भागेको भनिए पनि त्यो भनाइ झुटो भएको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार सामान रहेको सेतो झोला महानगरीय प्रहरी वृत्त दरबारमार्गका प्रहरी जवान बहादुरसिंह कडायतको हातमा नै दिइएको थियो । कडायत दरबारमार्ग प्रहरीको सीआरभी टोलीका चालक हुन् ।

मुख्य योजनाकार इल्ताफ हुसेन अन्सारी

छानविन समितिको प्रारम्भिक निष्कर्ष अनुसार यो सुन प्रकरणका मुख्य नाइके इल्ताफ हुसेन अन्सारी रहेको खुलेको छ । प्रहरी अधिकारीका अनुसार उनकै योजनामा यो सबै घटना भएको हो ।

बारा जिल्ला घर भएका इल्ताफ यसअघि नक्कली भारतीय नोट कारोबारमा जेल परिसकेका व्यक्ति हुन् । प्रहरी अनुसन्धान अनुसार उनी नक्कली नोट कारोबार गिरोहका नाइके भनिएका युनिस अन्सारी समूहका सदस्य समेत हुन् ।

उनलाई २०६७ जेठ २६ गते ललितपुर जिल्ला अदालतले नक्कली भारु कारोबारमा दोषी ठहर गर्दै कैद र जरिवाना सुनाएको थियो । उनी जेल परेर छुटेपछि सुन तस्करीलगायत अवैध धन्दामा लागेको प्रहरीको निष्कर्ष छ । उनी भारतीय प्रहरीको पनि ‘मोस्ट वान्डेट’ सूचीमा छन् ।

प्रहरीले अहिले ३ जना भारतीय नागरिक देवान पटेल, विजय पटेल र निलेश सखियालाई नियन्त्रणमा लिएको छ । यस बाहेक प्रहरीले शुक्रबार मात्र चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने कालिगढ मनिष मल्लिकलाई पनि पक्राउ गरेको छ ।

भागेको भनिएको स्कोर्पियो ललितपुरमा भेटियो

हतियारसहितको सामान फ्याँकेर भागेको भनिएको बा६च ५५१९ नम्बरको स्कोर्पियो बिहीबार ललितपुरको नख्खिपोटस्थित एक घरबाट फेला परेको छ । प्रहरी अनुसन्धान अधिकारीका अनुसार बरामद गाडी बाराका इन्साद हुसिनको हो ।

ती अनुसन्धान अधिकारीले भने, ‘घटनामा प्रयोग भएको स्कोर्पियो गाडीको स्वरूप परिवर्तित अवस्थामा फेला परेको छ । गाडीको नम्बर प्लेट एउटै देखिए पनि पछाडिको स्वरुप परिवर्तन भएको छ ।’

उनका अनुसार सीसीटिभी फुटेजमा देखिएको गाडीको पछाडि भर्‍याङ र ऐना देखिन्छ । बिहीबार दिउँसो फेला परेको गाडीमा भर्‍याङ र ऐना छैन । यसबाहेक छतको दायाँबायाँ राखिएको कालो रंगको शो समेत हटाइएको छ ।

दरबारमार्गका डीएसपी जिम्मेवारीबाट हटाइए

सुन प्रकरणलाई लिएर महानगरीय प्रहरी वृत्त, दरबारमार्गका प्रमुख डीएसपी रञ्जन दाहाल बिहीबार जिम्मेवारीबाट हटाइएका छन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलका अनुसार, १५ किलो सुन भनेर बरामद भएको पहेँलो धातु प्रकरणमा मुछिएपछि डीएसपी दाहाललाई छानविनका लागि महानगरीय प्रहरी वृत्त दरबारमार्गको नेतृत्वबाट हटाइएको हो ।

डिआइजी पोखरेलका अनुसार, दाहालमाथि घटनास्थल परिवर्तन गरेको, माथिल्लो निकायलाई गुमराहमा पारेको र अभियुक्त भगाएको आरोप लागेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ५ : ३० बजे

इलाम २ मा सुहाङ नेम्बाङ एक हजार मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १,

चीनले नेपालीलाई भिषा शुल्क नलिने

काठमाडौं । छिमेकी मुलुक चीनले नेपाली नागरिकलाई भिषा शुल्क नलिने

प्रचार अभावले ओझेलमा हनुमन्तेडाँडा

दोलखा– दोलखामा रहेको हनुमन्ते डाँडा प्रचार प्रसारको कमीले ओझेलमा परेको

सङ्घीय सरकारलाई कर्णालीका मुख्यमन्त्री कँडेलको ११ बुँदे सुझाव

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अन्तर सरकारी वित्त

दुबईद्वारा ‘विश्वको सबैभन्दा ठूलो’ विमानस्थल टर्मिनलको निर्माण सुरु

दुबई – अल मकतुम अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ टर्मिनलको काम सुरु