यसपालि छैन तीजको रमझम « Khabarhub

यसपालि छैन तीजको रमझम


३ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्थिति ठीकठाक हुन्थ्यो भने यतिबेला तीजको रौनक छाइसक्थ्यो । महिनादिन अघिदेखि नै महिलाहरु दर, नाचगान र शुभकामना साटासाटमा व्यस्त बन्थे । छोरीचेली माइत जाने सुरसारमा हुन्थे ।

गाउँशहरमा तीज मेला, उत्सव चल्थे । विद्यालय, सामाजिक सङ्घसंस्था, महिलाका सङ्गठनलगायतले गच्छेअनुसार तीज पर्व मनाउँथे, महिलालाई दर खुवाउँथे ।

यसपालिको तीज पर्व खल्लो र निरस छ । दुई दिनअघिसम्म तीजको रमझम छैन । महिलाको स्वतन्त्रताको पर्व घर र कोठामा खुम्चिएको छ । कोरोना सङ्क्रमणको त्रासले कतै बन्दाबन्दी त कतै निषेधाज्ञा छ । कतिपय स्थानीय तहले त दिदीबहिनीलाई माइत नजान आग्रह नै गरेका छन् ।

तीजको छेकोमा गरिने मेला, प्रतियोगिता स्थगन गरिएको छ । गलकोट नगरपालिका–७ मल्मस्थित नाच्नेडाँडामा आयोजना हुने ऐतिहासिक तीज मेला यसपालि नहुने आयोजकले जनाएको छ ।

‘तीज गीत प्रतियोगितालगायतका कुनै पनि औपचारिक कार्यक्रम यो वर्ष नगर्ने निर्णय गर्‍यौँ’, नाच्नेडाँडा संरक्षण समाजका अध्यक्ष सविता मरासिनीले भनिन्, ‘दूरी कायम गरेर महिला, दिदीबहिनीहरु भेट हुने, सामान्य नाचगान गर्नेसम्म हुनसक्छ ।’

सोही ठाउँमा रहेको सिद्धेश्वर शिवालय मन्दिरमा पनि भीडभाड नहुने गरी पूजापाठको व्यवस्था मिलाइने भएको छ । विगतको शसत्र द्वन्द्वका बेला केही वर्ष रोकिएको नाच्ने डाँडाको तीज मेला अहिले भने कोरोनाको मारमा पर्‍यो ।

बरेङ गाउँपालिकामा लाग्दै आएको जिल्लाको दक्षिण भेगकै ठूलो तीज मेला पनि यो वर्ष स्थगन भयो । सरकारले नै मेला, महोत्सव आयोजनामा रोक लगाएकाले तीज मेला गर्न नसकिएको आयोजक ग्रामीण जनसहभागिता विकास केन्द्रले जनाएको छ ।

केन्द्रले तीज मेलाका अवसरमा विविध खेलकुद प्रतियोगितासहित सांस्कृतिक एवं मनोरञ्जनात्मक कार्यक्रम आयोजना गथ्र्यो । बागलुङ नगरपालिकाको रुद्रेपिपल, मालिका काठेखोला गाउँपालिकाको रेशलगायतका ठाउँमा आयोजना गरिने तीज मेला पनि यो वर्ष भएनन् ।

गाउँठाउँमा आयोजना हुने मेला, उत्सवका मौकामा हुने व्यापार पनि यो वर्ष गुम्यो । तीजका बेला बजारमा हुने किनमेल पनि ह्वात्तै घट्यो । तीजका मेला, समारोह नै नभएपछि महिलालाई पनि पोशाक र सौन्दर्यका सामग्री किन्नुपर्ने बाध्यता आइपरेन । तीजको सम्मुखमा अलिअलि भइरहेको कारोबार पनि अकस्मातको बजार बन्दले मारमा परेको व्यवसायी बताउँछन् । बजार, यातायात बन्दले कतिपयको माइत जाने योजना पनि बीचमै तुहिएको छ ।

सौन्दर्य व्यवसायी सावित्री पुनले कोरोनाले गर्दा माइत जान नपाएको प्रतिक्रिया दिइन । ‘गएपनि उतै रोकिनुपर्छ कि भन्ने डर छ, अब त गाडी, बजार सबै बन्द हुने भएपछि जाने कुरै भएन’, उहाँले भन्नुभयो, ‘यो वर्ष कोठामै बसेर तीज जाने भयो ।’

कोरोना सङ्क्रमणको जोखिम बढेपछि मङ्गलबारदेखि एक सातासम्मलाई बागलुङ नगर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । अत्यावश्यक काममा बाहेक हिँडडुल गर्नसमेत रोक लगाइएको छ ।

चाडबाडमा हुने भीडभाड र आवातजावतले कोरोना सङ्क्रमणको जोखिम थप बढ्ने भएकाले निषेधाज्ञा जारी गर्नुपरेको जनाइएको छ । निषेधाज्ञा जारी गर्ने बागलुङ नगरपालिकाको सिफारिसलाई जिल्ला कमाण्ड पोष्टले सहमति दिएको हो ।

यसअघि वडाध्यक्षमा कोरोना देखिएपछि बडिगाड गाउँपालिका पनि ७ गतेसम्मलाई ‘सिल’ गरिएको छ । यो वर्षको हरितालिका तीज बुधबार छ । अघिल्लो दिन दिदीबहिनीलाई दर खुवाउने चलन छ । महिला पतिको सुस्वास्थ्य र दीर्घायूका लागि तीजमा व्रत बस्छन् । भगवान् शिवको आरधाना गर्छन् ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  १२ : १९ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा