अब खोलौँ आन्तरिक उडान | Khabarhub Khabarhub

अब खोलौँ आन्तरिक उडान



कोभिड-१९ अर्थात् कोरोना भाइरस महामारीका कारण सात-आठ महिना यता हजारौँ वैज्ञानिक, अध्ययनकर्ता, चिकित्सक लगायतको निद्रा उडेको छ ।

उनीहरू महामारीबाट सिर्जित समस्या समाधानका उपायहरूको खोजीमा जुटिरहेका छन् । महामारीका कारण विश्वका तमाम नागरिक अनेक अन्योलका बीच कोरोनासँग पौँठेजोरी खेलिरहेका छन् । कोरोना भाइरसलाई परास्त गर्ने प्रयास गरिरहेका छन् ।

महामारीले एकातिर मानव सभ्यातामाथि नै आक्रमण गरिहरहेको छ भने अर्कोतिर विश्वको अर्थतन्त्र दीर्घकालसम्मका लागि नराम्ररी प्रभावित बनाइदिएको छ । शक्तिशाली अर्थतन्त्र भएका मुलुकदेखि बामे सर्दै गरेका नेपालजस्ता मुलुकको अर्थतन्त्र उठ्न गाह्रो पर्ने अवस्था देखिन थालेको छ । कोराना भाइरसँग जुध्दै अर्थतन्त्र जोगाउने कुरा प्रत्येक देशका सरकारका लागि ठूलो चिन्ताको विषय भएको छ ।

कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण हवाई उडानको क्षेत्र नराम्ररी थलिएको छ । जुनसुकै मुलुकका लागि पनि अर्थतन्त्रको एउटा हिस्सा बोकेको उडान क्षेत्र लामो समयसम्म बन्द रहनु मुलुक र सम्बन्धित व्यवसायीका लागि ठूलो दुर्भाग्य हो । विश्वका अधिकांश देशहरू यही दुर्भाग्य भोगिरहेका छन् । केही विकसित मुलुकहरूमा हजारौँ मानिसहरू सडकमा निस्कन थालेका छन् । यसले लामो बन्दाबन्दीले मानव जीवन चल्दैन भन्ने सन्देश दिएको छ ।

नेपालको सन्दर्भमा गत चैत ११ देखि नेपाली आकाशमा उडान प्रतिबन्धित छ । उडानमा प्रतिबन्ध गर्नु कोरोना भाइरस संक्रमण नियन्त्रणको एउटा उपाय अवश्य हो तर यो उपाय देशको अर्थतन्त्रका लागि भने अभिशाप बन्न पुगेको छ । सरकारले संक्रमणकै कारण देखाएर पटकपटक प्रतिबन्धको समयसीमा थप्दै गएको छ ।

यस्तो निरन्तरको प्रतिबन्धले समस्यामाथि समस्या पैदा गरेको छ । नागरिकहरू आफ्नो आवश्यकताअनुसार गन्तव्यमा पुग्न सकेका छैनन् । कोही विदेशमा रोकिएका छन् त कोही स्वदेशमा रोकिएका छन् । यो आधुनिक समयमा यस्तो रोकावटले त मानिसको जीवन चल्न मुश्किल भएको छ । अलिक पुरानो जीवनमै फर्किने हो भने पनि मानिसहरू आफ्नो स्थायी गन्तव्यमा पुग्नै पर्‍यो ।

त्यसैले, सरकारले विमानस्थलमा, विमानमा र यात्रुका लागि अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेर आन्तरिक उडान सञ्चालन गर्नु बुद्धिमत्ता हुनेछ ।

आज भारत लगायत युरोपेली र अमेरिकी मुलुकले पनि अर्थतन्त्र चलायमान बनाउन आन्तरिक उडानलाई निरन्तरता दिएका छन् । उनीहरूले बाह्य उडान आंशिक बनाएर आन्तरिक उडानलाई बढवा दिएका छन् । हाम्रो छिमेकी मुलुक भारतमा कोरोना महामारीले बन्द आन्तरिक हवाई उडान दुई महिना अघिदेखि नै चालु छ ।

नेपालको छोटो आन्तरिक हवाई यात्रामा कोरोना भाइरस संक्रमणको जोखिम कम छ । विमानस्थलमा, विमानमा र यात्रुका लागि अनिवार्य स्वास्थ्य सुरक्षा मापदण्ड लागू गरेर आन्तरिक उडान चलाउनु बुद्धिमत्ता हुनेछ ।

कोरोनाको इपिसेन्टर मानिएको चीन र यसपछिका युरोपेली मुलुकहरू जर्मनी, बेल्जियम, फ्रान्स, पोर्चुगल, स्पेन लगायतका धेरैले आन्तरिक उडानहरू निर्बाधरूपम सञ्चालन गरेका छन् । नेपाल सरकारले संक्रमण रोकथामका लागि आवश्यक उपायहरूका साथ यथाशिघ्र हवाई उडान नियमित बनाउनु आवश्यक छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली हवाई क्षेत्रको विकासका लागि अघि सारेको नयाँ हवाई नीतिले पनि आगामी दिनमा हवाई क्षेत्र थप बलियो हुन्छ भन्ने प्रशस्त आधारहरू छन् ।

आन्तरिक उडानमा साथ दिएका नेपाल एयरलाइएन्स, यती, बुद्ध, श्री, तारा, सीता, समिट लगायतका एअरलाइनसलाई सुरक्षा सतर्कता अपनाएर उडान भर्न दिनुपर्छ । कम्पनीहरूको आर्थिक क्षति र यात्रुको आवश्यकतालाई ध्यानमा राखेर सुरक्षाका उपायहरूसहित उडान चालु राख्नुपर्छ ।

यस्तै, हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूको पनि उत्तिकै योगदान र जिम्मेवारी छ । यस्तो विषम परिस्थितिमा हेलिकप्टर सेवा प्रदायक कम्पनीहरू विशेष प्याकेज ल्याएर राज्य र नागरिकलाई थप सेवा दिनु तयार रहनुपर्छ । राज्यले हेलिकप्टर सेवा प्रदायक कम्पनीहरूलाई ‘रेस्क्यु’ उडानमा लगाएको प्रतिबन्ध खुला गर्नुपर्छ । रेस्क्यु उडानका लागि अनुमति दिएर जटिल प्रक्रिया सहज र सरलीकरण गर्ने काम गर्नु आवश्यक छ ।

विगतको सामान्य अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक ३५० वटासम्म आन्तरिक उडान हुने गरेका थिए । कोरोना भाइरस संक्रमणका कारण यात्रुको संख्या कम हुने पक्का छ । यस्तो अवस्थामा विमान सेवा कम्पनीहरूले यात्रुको संख्या अनुसार उडान तालिका बनाएर सेवा दिनेछन् ।

अन्तर्राष्ट्रियतर्फ पनि कोभिड-१९ स्टाण्डर्ड अपरेटिङ प्रोस्युडर्स’ अनुसार उडान सञ्चालन गर्न सकिन्छ । आन्तरिकको हकमा स्वास्थ्य सुरक्षा मापदण्ड तथा आन्तरिक अभ्यास ‘कोभिड-१९ अपरेशन रिहर्सल/एभिएशन सेफ्टी रिस्क म्यानेज्मन्ट’ अनुसार यथाशिघ्र हवाई क्षेत्र खुला गर्नु उपयुक्त हुनेछ ।

हवाई यात्रा गर्दा विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको स्प्रे, उडानपछि विमानको निःसंक्रमीकरण तथा यात्रा अवधिभर मास्क र फेस शिल्डको प्रयोगले हवाई यात्रा सुरक्षित हुनेछ । सडक यातायातबाट यात्रा गर्नु भन्दा बढी सुरक्षित हुने भएकाले यात्रा नगरी नहुँदाको अवस्थामा यात्रुले हवाई यात्रा नै रोज्नेछ ।

हालको अवस्थामा गाडीमा यात्रा गर्दा १०-१२ घण्टा लाग्ने ठाउँमा एक घण्टाभन्दा थोरै समयको हवाई यात्रामा तुलनात्मकरूपमा कम जोखिम हुनेछ । यस हिसाबले पनि आन्तरिक हवाई सेवा चालु गर्नमा ठूलो जोखिम छैन । सरकारले सीमित संख्यामै भए पनि अन्तर्राष्ट्रिय व्यावसायिक उडान गर्न अनुमति दिइसकेको छ ।

उडान बन्द राख्नु पर्दा अनेक प्रकारका शुल्क तिर्नुपर्ने वायुसेवा कम्पनीहरू ठूलो आर्थिक क्षति व्यहोर्न बाध्य छन् । आन्तरिक उडान खुला गरिए क्षतिको यो अवस्थामा ठूलो राहत मिल्नेछ । समस्याका चाङबाट भागेर होइन, स्वास्थ्य सुरक्षाका सबै उपायहरू अपनाएर सेवा सञ्चालन गर्नुपर्छ ।

सरकारले हालै घोषणा गरेको नयाँ मितिबाट सबै हवाई सेवा प्रदायक कम्पनीलाई विशेष तयारीका साथ आन्तरिक तथा बाह्य उडान गर्न अनुमति दिनुपर्छ । यसबाट अर्थतन्त्र चलायमान बनाइराख्न सहज हुनेछ । हजारौँ श्रमिकको आयस्रोत र आश्रित परिवारमा परेको क्षतिमा राहत हुनेछ । राज्यको आम्दानी पनि बढ्नेछ ।

भविष्यमा अर्को प्रकारको संक्रमण पनि देखापर्न सक्छ । यस्तो सम्भावनालाई मध्यनजर गर्दै रोकथामको तत्कालीन र दीर्घकालीनरूपमा चरणबद्ध योजनाका साथ अघि बढ्न आवश्यक देखिन्छ । सबैतिर बन्दाबन्दी गरिराख्ने हो भने कोभिड—१९ ले निम्त्याएको भन्दा ठूलो अर्को संकट आउन सक्छ । यसतर्फ समयमै ध्यान दिन आवश्यक छ ।

(बस्नेत प्रशिक्षक पाइलट तथा उद्धार उडान विज्ञ हुन् ।)

प्रकाशित मिति : १७ भाद्र २०७७, बुधबार  १० : ०३ बजे

छ वर्षपछि भोजपुर–विराटनगर उडान सुरु

टक्सार– उडान बन्द भएको छ वर्षपछि भोजपुर–विराटनगर पुनःहवाई उडान सुरु

वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो १७३ रनको लक्ष्य

काठमाडौं– वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई १७३ रनको लक्ष्य दिएको

नेपालगञ्जमा ‘लु’बाट जोगाउन घरदैलो अभियान

खजुरा– नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन उपमहानगरले

माओवादीको संसदीय दलको बैठक सिंहदरबारमा

काठमाडौं – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक बसिरहेको छ

सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने

काठमाडौं– सरकारले विश्व बैंकबाट उपलब्ध हुने करिब रु १३ अर्ब