दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए एनसीसी) नेदरल्याण्ड्सले सिन्धुपाल्चोकको जुगल गाउँपालिका- २ स्थित लिदीका पहिरो पीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।
एनसीसी नेदरल्याण्ड्सले संकलन गरी पठाएको २ लाख १८ हजार ५ सय २६ रुपैयाँ पहिरो पीडितहरुको अस्थायी बस्ती बासखर्क पुगेर संघका आइसिसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गरेका हुन् ।
उपाध्यक्ष लामाले वडाका वडाध्यक्ष प्रताप लामालाई सहयोग चेक हस्तान्तरण गरे ।
संघले यसअघि पनि ५ लाख सहयोग गरेको बताउँदै उपाध्यक्ष लामाले सो सहयोग तत्काल पीडितहरुको आवश्यकताअनुसार खर्च गर्न पनि आग्रह गरे ।
उपाध्यक्ष लामाले एनआरएनए एनसीसी नेदरल्याण्ड्सको सराहनीय कार्यको प्रशंसा गर्दै वर्तमान कोभिड- १९ को विषम परिस्थितिमा पनि रकम संकलन गरी पठाएकोमा एनसीसी अध्यक्ष श्रीराम कँडेल लगायत सम्पूर्ण कार्यसमिति तथा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरे ।
वडाध्यक्ष लामाले नेदरल्याण्ड्सबाट सहयोग रकम संकलन गरी पठाउने सबैमा धन्यवाद ज्ञापन गर्दै उपलब्ध रकम पीडितहरुको आवश्यकताअनुसार खर्च गर्ने बताए ।
जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकोमा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने २ जना अझै बेपत्ता छन् । पहिरोले ३९ घरमा पूर्णरुपमा क्षति हुँदा १ सय ६७ भन्दा बढी स्थानीय प्रभावित भएका छन् ।
प्रतिक्रिया