काठमाडौँ– दशैँलाई नेपालीहरुले राष्ट्रिय तथा महान पर्वका रुपमा मनाउँदै आइरहेका छन् । वसन्त ऋतु सकिएसँगै शरद ऋतुको सुरुवातमा पर्छ दशैँ ।
खुलेको आकाश । खेतमा लहलह धानका बाला । बारीभरी कोदाको कपानी अनि घरआगँन वरीपरी फुल्नै लागेका सयपत्रीका गुच्छाहरु । साच्ची नयाँ ऋतु र दशैँ मनाउने महिना पनि रमाइलो छ ।
कार्तिक १ गते घटस्थापनाको दिनदेखि सुरु भएको यस वर्षको १४ गते कोजाग्रत पुर्णिमाको दिनबाट सकिँदै छ ।
विगतका वर्षहरुमा झैँ यस वर्ष दशैँको माहोल देखिएन् । आठ महिनाअघि देखि कोरोना भाइरस संक्रमण निरन्तर फैलिरहँदा यस वर्षको दशैँमा धेरैको परिवारसँगको मिलनसमेत हुन पाएन ।
शहरका दैनिक हजारको संख्यामा कोरोना संक्रमित थपिएसँगै सरकारले जहाँ छौं त्यही दशैँ मनाऔँ भन्दै पटकपटक आह्वान समेत गरिरहेको छ ।
कतिपयलाई कोरोना पोजेटिभ देखिएर आइसोलेसनमा बस्नुपर्यो भने निको भएकाहरु प्नि संक्रमणको डरले कर्मथलो तिरै दशैँ मनाइरहेका छन् ।
त्यस्तो त सँस्कृतविद्हरुले पनि जात्रा, पर्व आगामी दिनमा पनि आउने र मनाउन सकिने हुँदा यस वर्ष घरमै बसेर सुरक्षाकासाथ दशैँ मनाउन सुझाव समेत दिइरहेका छन् ।
दशैँ मनाउने प्रचलन परम्परादेखि नै चलिआएको र यसलाई निरन्तरता दिदैं यस वर्ष परिवारका सदस्यलाई मात्र टीका लगाएर आशिर्वाद दिएको बताउँछन् सँस्कृतविद् सत्यमोहन जोशी ।
‘परिवारका सदस्यमा हालसम्म कोरोना भाइरस देखिएको छैन’ जोशीले खबरहबसँगको कुराकानीमा भने, ‘त्यसैले हामी पुरै परिवार नै क्वारेन्टाइनलाई आइसोलेसन बनाएर बसेका छौँ, परिवार नै आइसोलेसनमा बसेको घरमा टीका लगाउन कोही आउँछ र !’
विगतका वर्षमा झैं यसवर्ष पनि विजया दशमीमा टीका ग्रहण गर्न आउनेको लर्को लाग्ला भनेर सुरक्षित रहन आइसोलेसनमा बसेको उनको भनाई छ ।
यस वर्षको दशैँमा आफन्तहरुसँग पनि मोवाइलको माध्यमबाट मात्र सम्पर्कमा रहेको उनले बताए । विगतका वर्षहरुमा टाढादेखि आफन्तहरु आउने गर्थे भेट हुन्थ्यो मिठो मसिनो खाइन्थ्यो, शताब्दी पुरुष जोशी भन्छन्, ‘तर कोरोनाको डरले यो दशैँमा कोहीसँग भेटघाट गरिएन, घरमै मिठो मसिनो, खाइयो बसियो, फोनबाटै शुभकामना भने आदनप्रदान गरेँ ।’
कोरोना भाइरसबाट बच्नका लागि दशैँ लगायत कुनै पनि जात्रा र पर्वहरुमा उपस्थित नहुन र घरघरमा बसेर चाडपर्व मनाउन समेत सुझाव दिन्छन् जोशी ।
भन्छन्, ‘दशैँ सकिनै लाग्यो १५ दिनपछि तिहार आउदैछ तर यस वर्ष हामी घरमै सुरक्षित भएर बस्नुपर्छ सकेसम्म गाडीमा यात्रा गर्नुहुँदैन शहरबाट गाउँ नजाऔँ, गाउँबाट शहर नआऔँ जहाँ छौँ त्यही बसौँ हामी स्वस्थ्य भयौँ भने चाडपर्व अर्को वर्ष पनि आउँछ ।’
विगतको दशैँ
दशैँ भन्नासाथ सबैको दिमागमा आउँछ, ‘राम्रो लगाउने र मिठो खाने ।’ त्यो प्रचलन आज मात्र होइन । लामो समयअघिदेखि चलिआएको हो । दशैँ आउनु डेढ महिना अगावै बजारमा पुग्थे मानिसहरु लुगा किन्न ।
नयाँ लुगा किन्न जत्ति हतार हुन्थ्यो त्यति नै सिलाउन पनि हुन्थ्यो । सुचिकार (लुगा सिलाउने मान्छे) पनि निकै व्यस्त हुन्थे । सँस्कृति अनुसार चल्नै पर्ने ।
जातजाति अनुसार फरक-फरक तरिकाले मनाउँछन् दशैँ । नेवार, तामाङ जातिका मानिसहरुले एक महिना अघिदेखि नै कोदो र चामलको जाड राख्न थाल्थेँ । जाडबाट रक्सी बनाउथेँ ।
गाउँमा मात्र होइन । शहरका विभिन्न स्थानमा पनि दशैँ आउनु अगावै घरघरमा चिउरा कुट्ने, ढिकीमा धान कुट्ने, जातोमा पिठो पिस्ने जस्ता कामहरु शुरु हुन्थ्यो । जोशीको पनि यो अनुभव पुरानो भइसक्यो अहिले ।
जोशीको बाल्यकाल पनि यसरी नै बित्यो । सय वर्ष अघिदेखि दशैँको अनुभव बटुल्दै आएका जोशी पहिलो पटक घरभित्रै बसेर दशैँ मनाएको र इष्टमित्रसँग भेटघाट नगरेको बताउँछन् ।
टीका र जमराको महत्व !
परम्परादेखि परक रङका टीका हरेकका निधारमा देखिन्छन् ।
विजया दशमी अर्थात् टीकाको दिनदेखि पूर्णिमाको दिनसम्म मान्यजनको हातबाट टीका र आशिर्वाद ग्रहण गर्ने प्रचलन छ ।
दुर्गा भवानीलाई मन पर्ने भएकाले जमराको रुपमा जौंको प्रयोग गरिने प्रचलन रहेको जोशी बताउँछन् । आफ्नो घर सधैँ प्यारा हुन्छ ।
‘परिवार र मान्यजनका हातबाट टीका थाप्नु सौभाग्यको कुरा पनि हो’ उनी भन्छन्, निधारमा रातो टीका पुरुषले शिरमा ढाकाको टोपी र कानमा जमरा सिउरन्छन् । त्यस्तै महिलाहरुले चुल्ठीमा जमरा राखेर पिङ खेल्न हिड्छन् जमराले नेपालीको धार्मिक र साँस्कृतिक महत्वलाई झल्काउँछ ।’
प्रतिक्रिया