हामी व्यक्ति हत्याका घटनाहरू सुन्छौँ, समाचारमा पढ्छौँ । नेपालमा व्यक्ति हत्याका घटना कति हुन्छन् ? यस्तो जिज्ञासा हुनु स्वाभाविक हुन्छ ।
पछिल्ला तीन आर्थिक वर्ष र चालु आर्थिक वर्षको कात्तिक १५ गतेसम्म प्रहरीले व्यक्ति हत्याका कुल २ हजार ३९ वटा मुद्दा दर्ता गरेको छ । आर्थिक वर्ष ०७४/७५ र २०७५/७६ को तुलनामा २०७६/७७ मा हत्याका घटनामा कम भएका छन् । चालु आर्थिक वर्षको कात्तिक १५ सम्मको तथ्यांकले भने हत्याका घटना बढेको देखाउँछ ।
दैनिक करिब २ जनाको हत्या
प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार गत साउनयताको साढे ३ महिनामा देशभर १९७ जनाको हत्या भएको छ । जसमध्ये साउनमा ५७ जना, भदौमा ६१ जना, असोजमा ५३ जना र कात्तिक १५ सम्ममा २६ जनाको हत्या भएकोछ ।
प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार नेपालमा दैनिक सरदर २ जनाको हत्या हुने गरेको छ । एसएसपी कडायत भन्छन्, ‘हत्याका अधिकांश घटना चिनेजानेका व्यक्ति र आफन्तबाटै हुने गरेको पाइएको छ ।’ हत्या भएको टुङ्गो लागे पनि दोषी पक्राउ नपरेका घटना यो तथ्यांकमा समावेश छैन ।
देशभर भएका हत्याका घटना
प्रहरी प्रधान कार्यालयको तथ्याङ्कअनुसार पछिल्ला तीन आर्थिक वर्ष र चालु आर्थिक वर्षकोकात्तिक १५ गतेसम्ममा सबैभन्दा बढी प्रदेश १ मा ३९९ जना र प्रदेश २ मा ३९९ जनाको हत्या भएको छ । लुम्बिनी प्रदेशमा ३५६ जना, बागमती प्रदेशमा २४२ जना, काठमाडौँ उपत्यकामा १६१ जना, गण्डकी प्रदेशमा १७६ जनाको हत्या भएको छ । सुदूरपश्चिम प्रदेशमा १७१ जना र कर्णाली प्रदेशमा १३५ जनाको हत्या भएको छ ।
काठमाडौँ उपत्यकामामहिनामा ५ जनाको हत्या
महानगरयि प्रहरी कार्यालयका अनुसार काठमाडौँ उपत्यकाका तीन जिल्लामा मात्र महिनाका सरदर ५ जनाको हत्या हुने गरेको छ ।
तथ्याङ्क अनुसार साउनयता साढे तीन महिनँमा काठमाडौं उपत्यकामा १३ वटा हत्याका घटना भएका छन् । साउनमा ५ वटा, भदौमा ४ वटा, असोजमा ३ वटा र कात्तिक १५ सम्म एउटा घटना भए । यस अघि तीन आर्थिक वर्षमा काठमाडौँ उपत्यकामा १४८ वटा हत्याका घटना भएका थिए ।
उपत्यकामा भएका हत्याका घटना
प्रहरीको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७४/७५ मा काठमाडौँ उपत्यकामा खुनडाका तथा कर्तव्यज्यान गरी ५३ जनाको हत्या भएको छ। त्यस्तै आर्थिक वर्ष २०७५/७६ मा यो सङ्ख्या बढेर ६० जना पुगेको थियो । आर्थिक वर्ष २०७६/७७ मा भने ३५ वटा हत्याका घटना भए ।
सामान्य विवादमै हुन्छ हत्या
प्रहरीका अनुसार घटना विश्लेषण गर्दा सामान्य विवादमै आफन्त र चिनजानकै व्यक्तिबाट हत्या हुने गरेको पाइएको छ । नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुवेर कडायत भन्छन्, ‘कतिपय घटना सामान्य विवादमै भएको देखिन्छ । अवैध यौन सम्बन्ध र त्यसलाई लुकाउने प्रयास, सामान्य लेनदेन, झैझगडा र तनावका कारण आवेगमा आएर हत्या हुने गरेको पाइएको छ ।’
तराई क्षेत्रतिरजमिनको सीमान र कुलोलगायत सामान्य कारणले समेत हत्या हुने गरेको देखिएको छ । कतिपय क्षेत्रमा सामान्य गालीमा पनि हत्याका घटना भएका छन् ।
नेपाल प्रहरीका पूर्वएआइजी देवेन्द्र सुवेदीलेनदेन विवाद र अवैध सम्बन्ध नै हत्याको मुख्य कारण हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘तत्कालको रिस नियन्त्रण गर्न नसक्दा र अवैध सम्बन्ध लुकाउनधेरैजसो हत्याका घटना हुने गरेको देखिएको छ ।सामान्य विवादमा रिस नियन्त्रण गर्न नसक्दा पनि हत्या हुने गरेको छ ।’
अपराधशास्त्री माधव आचार्य आर्थिक अभाव र उच्च महत्वाकाङ्क्षालगायतका कारणले मानिसहरू विस्तारै क्रुर हुँदै गएको विश्लेषण गर्छन् । उनी भन्छन्, ‘समाज विस्तारै क्रुर हुँदै छ । मानिहरूमा उच्च महत्वकाङ्क्षासँगै जिद्दी स्वभाव बढेको छ । सामान्य आवेगसमेत धान्न नसक्दाहत्याजस्तो जघन्य अपराध हुने गरेको छ ।’
अनौठो के छ भनेधेरैजसो हत्याका घटना आफन्त र चिनेजानेकै व्यक्तिबाट भएका छन् । आचार्य भन्छन्, ‘रिस उठाउने पनि प्रायः आफन्त नै हुन्छन् । रिस उठाए भनेर बदलाको भावना लिने स्वभाव बढ्छ अनि आफन्तले नै हत्याको घटना गराउने क्रम बढ्दै गएको हो ।’
नेपाल प्रहरीका पूर्वडिआइजीहेमन्त मल्लका अनुसार अपराधका घटना संख्याभन्दा पनि मनोविज्ञानसँग जोडिएको हुन्छ । ‘आम नागरिकले कति सुरक्षित अनुभव गरे भन्ने कुरा महत्वपूर्ण हुन्छ,’ मल्ल भन्छन्, ‘नेपालमा भन्दा अमेरिकामा हत्याको तथ्यांक धेरै बढी छ तर त्यहाँका जनाताले आफू सुरक्षित महसुस गर्छन् । नेपालमा एकजनाको हत्या हुँदा पनि आम नागरिकमा मनोवैज्ञानिक रुपमा ठूलो असर पर्छ ।’
हुन सक्छ नियन्त्रणको उपाय
समाजमा हत्याका घटना नियन्त्रणका लागि जनचेतना बढाउनु पर्ने विज्ञहरू बताउँछन् । अपराधशास्त्री आचार्य भन्छन्, ‘अपराधका घटना नियन्त्रणका लागि सबैभन्दा महत्वपूर्ण कुरा जनचेतना फैलाउनु नै हो । रिस नियन्त्रण गर्न र समाज व्यवस्थापन गर्न जनचेतना फैलाउनुपर्छ ।’व्यक्तिहरूमाबदलाको भावनलिई माफी दिने अभ्यासमा समाज अघि बढाउनुपर्ने उनको धारणा छ ।
पूर्वडीआइजीमल्लका अनुसार समाजमा अपराधका घटना कम गर्न सबैभन्दा महत्वपूर्ण कुरा नैतिक शिक्षा हो । जघन्य अपराधका घटना नियन्त्रणका विषयमा नैतिक शिक्षा फैलाउनुपर्ने र युवाहरूका लागि अवसर र रोजगारी सिर्जनामा ध्यान उनको धारणा छ ।
प्रतिक्रिया