'प्रचण्ड'लाई अध्यक्ष ओलीको पत्र : समस्याको जड शीर्ष नेताहरुमा प्रधानमन्त्री बन्ने आकांक्षा | Khabarhub Khabarhub

‘प्रचण्ड’लाई अध्यक्ष ओलीको पत्र : समस्याको जड शीर्ष नेताहरुमा प्रधानमन्त्री बन्ने आकांक्षा


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई पार्टीको काम कहाँ पुग्यो भनेर प्रश्न गरेका छन् । स्थायी कमिटीको बैठकअनुसार पार्टी अध्यक्षद्वयलाई जिम्मेवारी दिएको भन्दै उनले प्रश्न गरेका छन् ।

प्रचण्डले लेखेको पत्रका विषयमा उठेको सवालको जवाफ दिँदै प्रधानमन्त्री ओलीले महाधिवेशन गराउने वा पार्टी केन्द्रीय कमिटि बैठकको एजेण्डा बनाउने विषयमा के के गर्नुभयो भनि प्रश्न समेत गरेका छन् ।

अध्यक्ष प्रचण्डलाई पत्र लेख्दै ओलीले भनेका छन्-  भदौं २६ गते सम्पन्न स्थायी कमिटीको बैठकबाट हामी दुई अध्यक्षले गर्ने काम स्पष्ट थियौ । मैले यसअघि नै पानि–५ को निर्देशन ३ मा उल्लेखित यससम्बन्धी ४ वटा बुँदाहरू उल्लेख गरिसकेको छु ।

मेरो भागमा परेको सरकार सञ्चालनसम्बन्धी सबै कामको जश-अपजशको जिम्मा मै लिन्छु । पार्टीको नीतिगत निर्देशनको आलोकमा अध्यक्ष प्रचण्डसँग नियमित सल्लाह गरेरै सरकार सञ्चालन गर्दै आएको छु । अझ काहींकतै कमी भएको भए खुल्ला छलफल गरौं, सच्याऔं र अघि बढौं मैलै सधैँ यही भन्दै आएको छु ।

तर, के कमरेडहरूले आफ्नो भागमा परेको कामको लेखाजोखा कहिल्यै गर्नुभएको छ ? म आवेग र उत्तेजनाविना विनमताका साथ प्रश्न गर्न चाहन्छु – कार्यकारी अधिकारसहित पार्टी सञ्चालनको जिम्मा पाउनुभएको अध्यक्ष कमरेडले आफ्नो भागमा परेको कामका सन्दर्भमा के गर्नुभयो ?

पछिल्लोचोटि १५ दिनभित्र सम्पन्न गर्ने भनिएको (अझ सचिवालयले त १० दिनमा सक्ने भनेको) एकीकरणको काम अहिले कहाँ पुग्यो ? त्यसको रोडम्याप के बन्यो ? मेरा कारणले हुन नसकेको भए, यहाँले गर्नुभएको गृहकार्यमा के–केमा र कहाँ मेरो अवरोध रह्यो ?

पत्रमा उनले महाधिवेशनको तयारीको लागि बस्ने केन्द्रीय कमिटीको बैठकका एजेण्डा र प्रस्ताव तयार गर्न के–के गृहकार्य गर्नुभयो ? भन्दै प्रश्न समेत गरेका छन् ।

ओलीले पत्रमा लेखेका छन्,  ‘त्यसमा मसँग यहाँले के सहयोग माग्नुभयो ? या मैले कहीँ बाधा अवरोध पुर्‍याएँ कि ?, मलाई थाहा छ, हामी जहाँको त्यहीँ छौं ।  अहिले पनि हजारौंको संख्यामा पुराना अनुभवी कार्यकर्ताहरू जिम्मेवारीविहीन नै हुनुहुन्छ । पार्टी कमिटीका गतिविधिहरू अवरुद्ध छन् ।’

यसैबीच अध्यक्ष ओलीले पार्टीका शीर्ष नेताहरुमा प्रधानमन्त्री बन्ने चाहना पलाउँदा पार्टीभित्र अहिलेको अवस्था आएको दाबी गरेका छन् ।

अध्यक्ष पुष्पकमल दाहालसहित पाँच नेताले बैठक बोलाउन माग गर्दै लेखेको पत्रमा ओलीले नेताहरुमा प्रधानमन्त्री बन्ने चाहना हुँदा समस्या आएको प्रस्टै संकेत गरेका छन् ।

‘अहिलेको सम्पूर्ण समस्याको जड निश्चित शीर्ष नेताहरुको अगस्त्य आकांक्षाको प्रतिफलबाहेक केही होइन । शीर्ष स्थानमा रहेर दशकौं पार्टी चलाइसकेका प्रधानमन्त्री वा त्यस्तै महत्वपूर्ण पद सम्हालिसकेका व्यक्तिहरुले पुनः त्यतै फर्किने व्यग्र आकांक्षाले यथार्थमा यी सबै समस्या कृत्रिम ढंगले र बलजफ्ती खडा गरिएका हुन्,’ ओलीले दाहाललाई सम्बोधन र अन्य नेतालाई बोधार्थ दिई लेखेको पत्रमा छ ।

प्रधानमन्त्री ओलीले सरकारविरुद्ध मोर्चाबन्दी भएको भन्दै असन्तुष्टि पोखेका छन् ।

‘पटक पटक मन्त्री र प्रधानमन्त्री भइसक्नु भएका तपाईं सचिवालयका कमरेडहरुलाई म प्रश्न गर्न चाहन्छु, के विगतमा पनि प्रधानमन्त्रीको हातखुट्टा यसैगरी बाँध्ने र घेराबन्दी गरिएको थियो र ? थोरै नै होला सरकारले गरेका सकारात्मक काम सरकारमा रहनेले मात्रै प्रचार गर्ने, पार्टीपंत्तीलाई मौन राखिने गरिएको थियो र ?’ ओलीको पत्रमा छ ।

यसबाहेक उनले सरकार एउटा पार्टीको सरकारभन्दा संयुक्त सरकार जस्तो किन छ भन्ने प्रश्न पनि उठाएका छन् । ‘सौचौं, पार्टी एकीकरणको यति लामो अवधिसम्म पनि हाम्रो पार्टी, एउटै पार्टीभन्दा संयुक्त मोर्चा जस्तो किन छ र, एकतापछि हाम्रो सरकार एउटा पार्टीको सरकारभन्दा संयुक्त सरकार जस्तो किन छ ? यस्तो संक्रमण अन्त्य गर्न ढिला भएन ? यसका लागि नेतृत्व तहका कमरेडहरुको सामूहिक प्रयास आवश्यक पर्दैन र ?’ ओलीको पत्रमा प्रश्न उठाइएको छ ।

ओलीले पार्टीमा बहुमत अल्पमतको खेल घामछायाँजस्तो हुने बताएका छन् ।

‘गुटबन्दी र आग्रहको बाटोमा नहिँड्ने हो भने पार्टी भित्रको पक्षधरता आमरुपमा विषय आधारित हुन्छ, हुनु पनि पर्छ । बहुमत, अल्पमतको अंकगणित त त्यसै पनि कहिले घाम, कहिले छायाँ जस्तो हुन जान्छ । छेउछाउमा बसेका साथीहरुले सिठ्ठी बजाउँदा हौसिँदै जाने हो भने नीति र विधिबाट निर्णय गर्ने होइन, कृत्रिम रुपमा सिर्जित पर्सेप्सनको आधारमा बहकिने खतरा पैदा हुन्छ’ प्रधानमन्त्री ओलीको पत्रमा छ ।

साथै उनले पत्रमा लेखेका छन् ‘विधि, पद्धति भनेको जता दुलो, उतै दैलो भनेजस्तो होइन । पार्टीको गोपनियता अपारदर्शीता होइन । अन्तरपार्टी जनवाद स्वच्छन्दता होइन । कपट र जालझेलपूर्ण व्यवहार अन्तर पार्टी बहस वा अन्तरपार्टी संघर्ष होइन । आफू समानका कमरेडहरुसँग गरिने तहगत योजना वा पार्टी नेता, कार्यकर्ताको समीक्षाको विषय सडकको चर्चाका विषय हुन सक्दैन । हरेक चोटी गरिएका ‘कन्फिडेन्सियल’ छलफल अखबारको समाचार हुन सक्दैन ।’

यसबाहेक ओलीले पत्रमा दाहालमाथि प्रश्न गरेका छन्, कमरेड प्रचण्डले मलाई बेलाबेलामा भन्ने गर्नुहुन्छ–’मलाई फकाउनुस् न, म फकिने मान्छे, फकिन्छु नि ? ’ कसरी र के भन्दा कमरेड फकिनु हुन्छ र भन्नुस् न त ! मुलुकको समृद्धिका लागि, जनताको खुशीयालीका लागि, नेपाली कम्युनिष्ट आन्दोलनको अग्रगतिका लागि, पार्टीलाई थप सुदृढ गर्नका लागि ! हुन्छ, म तपाईंलाई फकाउन तयार छु । ल मैले फेरि फकाएँ ! आउनुस् गुटबन्दी र दाउपेच छाडौं, हाम्रो यो प्यारो पार्टीलाई एकजुट बनाऔं !’

ओलीले नियमित प्रक्रियाबाट हुने नेतृत्व हस्तान्तरण छाडेर किन अर्कोबाट समातिएको भन्दै प्रश्न उठाएका छन् । ओलीले लेखेका छन्, ‘मैले स्थायी कमिटीको बैठकमा औपचारिक रुपमै आगामी महाधिवेशनबाट अध्यक्षको जिम्मेवारीमा नरहने र आगामी निर्वाचनपश्चात् प्रधानमन्त्री नबन्ने जानकारी गराइसकेको छु ।

तर मेरो मनमा एउटा गम्भीर प्रश्न छ–’चार महिनापछि हुने महाधिवेशनबाट सहज नेतृत्व हस्तान्तरण र चयनको बाटो छाडेर हरबखत नेतृत्व परिवर्तनको चलखेल किन ? के कमरेडहरूलाई महाधिवेशनमा आउने प्रतिनिधिहरूको विवेकमाथि विश्वास छैन ? त्यसरी नै, दुई वर्षपछि आमनिर्वाचन हुन्छ । मेरो विश्वास छ–नेकपाको विजय यात्रा जारी नै रहनेछ । त्यसपछि नयाँ नेतृत्वको खोजी त हुने नै छ । के कमरेडहरूलाई दुई वर्षपछि नेकपाको भविष्य सुरक्षित छ भन्ने विश्वास टुटिसकेको हो र, होइन भने, फेरि किन सधैंभरि सरकारका लागि दौडधुप ?’

अध्यक्ष ओलीले आफ्नो पत्रमा आफूमाथि लगाइएको आरोपको जवाफ दिएका छन्, ‘अध्यक्ष प्रचण्डसहित कमरेडहरुले सचिवालय, स्थायी र केन्द्रीय कमिटीलाई क्रमशः ‘गुट, हुल्लडबाज, सडकछाप’ कमिटी भनिस् भन्ने अनर्गल आरोप लगाउनु भएको छ । मैले त कमरेडहरु यतिसम्म झुठा कुरा घोलेर कथा बुन्न सक्नुहुन्छ भन्ने सोच्न पनि सक्दिनँ । साँढे तीन बीस उमेर कटाइसकेका सहपाठीबाट यस्तो अपत्तिजनक आरोप किन र के का लागि ?’

यसबाहेक दाहाललाई ओलीको प्रश्न छ, ‘खास गरेर प्रचण्ड कमरेडलाई म प्रश्न गर्छु–केही दिनको कचपच, एकखाले सहमति, त्यसको २/४ दिन पछि फेरि उही कचपच…को शृंखलामा हामी कहिलेदेखि छौं र कहिलेसम्म रहने ? कमरेडहरुको यो ‘तमासा’बाट आजित हुनुभएको छैन ? देश, जनता र समग्र पार्टीपंक्तिले हामीबाट गरेको अपेक्षा यही हो त ?’

कात्तिक २२ मा दाहालसहित सचिवालयका पाँच नेताले ओलीलाई पत्र बुझाएका थिए । त्यसको जवाफमा ओलीले कात्तिक २५ मा दाहाललाई सम्बोधन गर्दै अन्य चार नेतालाई बोधार्थ दिएर जवाफी पत्र लेखेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १० : ४६ बजे

नेपाली संस्कृतिको प्रशंसा गर्दै चिनियाँ राजदूतले भने- दुई छिमेकी हिमाल र नदीले गाँसिएका छौँ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत छन सोङले नेपालबाटै चीनसहित विश्वभर

ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक छ : सभापति देउवा

पाटन– पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिसगोर्खा सैनिकको

‘विदेशमा रहेका नेपालीलाई आपतकालीन उद्धार गर्न ‘र्‍यापिड एक्सन टिम’ बनाऔं’

काठमाडौं–  एमाले संसदीय दलकी सचेतक सुनिता बरालले विदेशमा कार्यरत नेपाली श्रमिकलाई

१६५ खर्बको व्यापार बनाइएको योगको अन्तर्य

काठमाडौँ – इस्वी सम्वतको जुन २१ तारिक अर्थात् आज अन्तर्राष्ट्रिय

देशका विभिन्न शहरमा अन्तर्राष्ट्रिय योग दिवस, सात हजारभन्दा बढीले सामूहिक योगा गरे

काठमाडौं– काठमाडौंस्थित भारतीय राजदूतावास र वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासको समन्वयमा