‘बालुवा नचाले चुलामा आगो बल्दैन’ « Khabarhub

‘बालुवा नचाले चुलामा आगो बल्दैन’


२२ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– भीमदत्त नगरपालिका–९ खल्लाका नन्दा भुलको उमेर ६० वर्ष ढल्किनै लागेको छ । उमेर ढल्दै गए पनि काम गर्ने जोस् र जागर भने तन्नेरीको जस्तै छ । बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म महाकाली नदीको बगरमा बालुवा गिट्टी चाल्नु उनको दिनचर्या हो ।

नदीको बगरमा बालुवा नचाले उनको घरको चुलोमा आगो बल्दैन । बाध्यतावस उनले बालुवा गिट्टी चाल्ने कार्यलाई अङ्गाल्दै आएका छन् । आर्थिक रुपमा विपन्न परिवारका भुलले नदीको बगरमा पाँच वर्षदेखि बालुवा गिट्टी चाल्दै आएका छन् ।

बालुवा गिट्टी चालेर बिक्री गरी आएको पैसाले उनले परिवारको खर्च चलाउँदै आएका छन् । ब्रह्मदेव बजारबाट झण्डै पाँच किलोमिटर उत्तरमा रहेको खल्ला बस्तीमा बस्दै आएका नन्दाको घरबासका लागि मात्रै जग्गा रहेको छ ।

घरका लागि आवश्यकपर्ने खाद्यान्न, लत्ताकपडाको जोहो बालुवा गिट्टी चालेर आउने रकम जेनतेन धानिदै आएको छ । “गाउँमा रोजगारीका लागि अरु विकल्प छैन”, उनले भने, “बालुवा गिट्टी चाल्नु रहर नभएर बाध्यता हो । यसबाटै घरखर्च चलेको छ ।”

विगतमा गाउँका युवा भारतमा मजदूरी गरी जीविका चलाउँदै आएका थिए । कोरोनाको महामारी फैलिएपछि अधिकांश युवा भारतमा रोजगारी गुमेपछि घर फर्केका छन् । घर फर्केपछि रोजगारी नहुँदा अधिकांश परिवारका युवादेखि बुढापाकासम्म नदीको बगरमा बालुवा गिट्टी चाल्ने कार्यमा संलग्न हुँदै आएका छन् ।

भारतबाट फर्केका करन सार्कीसमेत नदीको बगरमा श्रीमतीसँगै बालुवा गिट्टी चाल्ने कार्य गर्दै आएका छन् । चारदेखि पाँच दिनमा उनले चालेको बालुवा गिट्टी बेचेर रु दुई हजार जति कमाउने गरेका छन् । “बिहानदेखि साँझसम्म नदीको बगरमै हुन्छौं”, उनले भने, “पाँच दिनदेखि एक हप्तामा दुई हजार जति कमाइ हुन्छ । त्यही कमाइले घरको खाना खर्च धानिएको छ ।”

“बस्दै आएको ऐलानी बलौटे जग्गामा लगाएको अन्नले एक महिना खान पुग्दैन । नजिकैका बजारमा रोजगार पाइदैन । बालुवा नचालेर के गर्नु” उनले भने, “बाध्यता छ ।” बालुवाप्रति ट्राली रु एक हजार र गिट्टी प्रति ट्राली रु दुई हजारमा बिक्री हुने गरेको छ ।

“नदीको बगरमा बालुवा गिट्टी चाल्न थालेपछि भगाउने समेत गरिन्छ”, सार्कीले भने, “पहिला माथिल्लो भागमा बालुवा गिट्टी चाल्थ्यौं । त्यहाँ चाल्न दिइएन । भगाइयो । यहाँबाट कुन दिन भगाउने हुन ठेगान छैन ।”

“बालुवा गिट्टी चालेर नबेचेपछि गुजारा चल्दैन । यो कार्य रोकेपछि बिजोग नै हुन्छ । साँझ बिहानको खानाको छाक टार्नसमेत मुस्किल हुन्छ”,उनले भने ।

आर्थिक अभावका कारण अभिभावकसँगै नदीको बगरमै बालबालिकासमेत बालुवा गिट्टी चाल्ने कार्यमा संलग्न हुने गरेका छन् । घरखर्च चलाउन निकै अप्ठेरो परेका कारण बालबालिकालाईसँगै काममा लगाउनुपरेको अधिकांश परिवारले दुःखेसो पोखेका छन् ।

“कोरोना सङ्क्रमणका कारण विद्यालय पनि सञ्चालनमा छैनन् । त्यसैले पनि विद्यालय पढ्दै आएका बालबालिकालाई बालुवा गिट्टी चाल्ने कार्यमा लगाएका छौं”, बालुवा गिट्टी चाल्नमा संलग्नहरुले भने, “विद्यालय सञ्चालन भए पनि कापी, कलम र पोशाकको व्यवस्था गर्नेसम्मको हैसियत धेरैसँग छैन । विद्यालय पढदै गरेकालाई बिचमै विद्यालय छुटाएर काममा लगाउनुपरेको छ ।”

यहाँका अधिकांश बालबालिकाले बालुवा बोकेरै पढाइ खर्च जुटाउने गरेको स्थानीयवासीको भनाइ छ । बजारक्षेत्रमा आवश्यक पर्ने अधिकांश बालुवा बालबालिकाले चाल्ने गरेको स्थानीयवासी अनिता सार्कीले बताउनुभयो । निःशुल्क पढ्न पाउनुपर्ने बालबालिकाको अधिकार संविधानमा किटान गरिएको भए पनि, सरकारले समेत बालबालिकालाई अनिवार्य रुपमा विद्यालय पठाउन भर्ना कार्यक्रम सञ्चालन गरे पनि भीमदत्त नगरपालिका–९ खल्लालाई छुन सकेका छैनन् । अभिभावकहरूकै असहयोगका कारण बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन कठिन भएको दाबी नगरपालिकाको छ ।

विद्यालय नआएर बालुवा बोक्दै घरखर्च चलाउने बालबालिकाका विषयमा सम्बन्धित सबै निकायले छलफल गरी समस्या समाधानतर्फ लाग्नुपर्ने उनको भनाइ छ । बालुवा गिट्टी चाल्दाचाल्दै धेरै जना बिरामी भए पनि उपचार खर्च नहुँदा रोग पालेर बस्नुपर्ने अवस्थासमेत रहेको छ ।

महाकाली नदीको बगरमा बालुवा चाल्नेमा अधिकांश दलित परिवार संलग्न छन् । बालुवा गिट्टी चाल्ने परिवारको आर्थिक अवस्था दयनीय छ । बस्नका लागि गतिलो घरसमेत छैन । अधिकांश परिवार झोपडीमा बस्दै आएका छन् । महाकाली नदीमा बालुवा गिट्टी चाल्नेको सङ्ख्या सय भन्दा बढी छ ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ११ : १५ बजे

ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण र औद्योगीकरणको प्रमुख आधार हो : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले ऊर्जा क्षेत्र नेपालको आर्थिक रूपान्तरण, रोजगारी

अवकाशपछि कृषि उद्यम : पूर्व प्रधानाध्यापकको ७० रोपनीमा व्यावसायिक खेती

डडेल्धुरा– डडेल्धुरामा एक पूर्व प्रधानाध्यापकले व्यावसायिक कृषि व्यवसायमार्फत लाखौँ रुपैयाँको कारोबार

सदनको जनसरोकारका विषयको प्रगति सांसदलाई फोन गरेरै जानकारी गराइने

काठमाडौं– सरकारले संघीय संसद्मा सांसदहरूले उठाउने जनसरोकारका प्रश्न तथा समस्या

गणेश नेपालीको आत्मदाहबारे वीरको प्रष्टीकरण : सक्दो प्रयास गर्‍यौँ, बचाउन सकेनौँ

काठमाडौं- त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह गरेका गणेश नेपालीको निधनबारे वीर

गणेश नेपालीको मृत्युपछि महानगर र सरकारविरुद्ध प्रदर्शन

काठमाडौं– मुगुका गणेश नेपालीको मृत्युको घटनापछि काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन