चिसोका कारण तराईको जनजीवन कष्टकर | Khabarhub Khabarhub

चिसोका कारण तराईको जनजीवन कष्टकर


२८ पुस २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– विगत तीन दिनदेखि बाक्लो हुस्सु र अत्याधिक चिसोका कारण महोत्तरीलगायत तराईको जनजीवन प्रभावित भएको छ ।

दिनभरी नै लाग्ने हुस्सु र कुहिराका कारण घाम लाग्न नसकेपछि बढेको चिसोले तराईको जनजीवन कष्टकर बनेको हो ।

पश्चिमी वायुका कारण साम्य हुन लागेको जाडो पुनः दोहोरिएको छ । तराईका जिल्लामा अहिले दैनिकरुपमा बढेदै गएको जाडोका कारण जनजीवन निकै प्रभावित भएका छन् ।

चिसोवाट वृद्धवृद्धा, बालबालिका र दैनिक मजदूरी गरेर जीविका चलाउने वर्ग बढी प्रभावित हुने गरेको आफ्नै घर अगाडि अत्यधिक जाडोले काम्दै गरेका जलेश्वर नगरपालिका–६ का ६० वर्षीय जीवछ मोमिनले बताए ।

निरन्तरको चिसो, कठ्याङ्ग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण वातावरण बिग्रेर मानिस, चौपाया पशु, पक्षी तथा बालीनालीसमेत प्रभावित भएको छ । चिसोकै कारण अहिले महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित जिल्लाको शहरी तथा ग्रामीण भेगमा मानिसको चहलपहलमा कमी आएको छ भने जिल्लावासी बाक्लो कुहिरोका कारण यातयातका साधन चढ्न छोडेका छन् ।

यता जिल्लाका विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ भने चिसोकै कारण जिल्लाको हाट बजारहरुमा मानिसको उपस्थिति न्यून भएको छ । चिसो बढेपछि चिया पसलमा अत्यधिक भीड हुने गरेका छन् ।

बिहान ४ बजेदेखि बेलुका ८ बजेसम्म चिया पिउनेको लाइन लाग्ने गरेको जलेश्वर नगरपालिका–२ मा चिया पसल गर्दै आएका दिलीप साहले बताए । उनले आफू पसल बन्द गर्न खोज्दा पनि ग्राहकले बन्द गर्न नदिने र बिहान ४ बजे नै आएर पसल खोल्न तथा राति अबेरसम्म चिया पसलमै बस्न आग्रह गर्ने गरेको बताए ।

चिसोकै कारण जिल्लाको स्वास्थ्य केन्द्रलगायत जिल्ला अस्पतालमा विभिन्न किसिमका बिरामीको सङ्ख्यामा समेत वृद्धि भएको चिकित्सकहरु बताउँछन् । लगातार बढ्दै गएको जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी बढी प्रभावित भएका छन् ।

साथै आर्थिकरुपले कमजोर व्यक्तिसमेत बढ्दै गएको जाडोको प्रत्यक्ष मारमा परेको चिकित्सक गिरेन्द्रकुमार झाले बताए ।

चिसोका कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुखाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको स्वास्थ्यकर्मी झाले बताए । जाडोबाट बच्नका लागि ठाउँठाउँमा स्थानीयवासीले आगो बालेर ताप्ने गरेको देखिन्छ ।

यसैबीच जाडोकै कारण ग्रामीण भेगमा वस्तुभाउलाई पनि समस्या भइरहेको तथा किसान पनि दलहन, तेलहन र तरकारी बालीमा प्रतिकूल असर परिरहेकामा चिन्तित भएको जलेश्वर नपा–८ का किसान आशनारायण मण्डलले बताए । उनले मुसुरो, खेसारी, आलस, रहरलगायत दलहन र तेलहन बाली र काउली, गोलभेँडा, मटरलगायत तरकारी बाली प्रत्यक्षरुपमा चिसोबाट प्रभावित भएको बताए ।

दिनभरी नै लाग्ने बाक्लो हुस्सुले घाम झुल्किन नपाउँदा सर्वासाधारणलाई बिस्कुन र धोएका लुगा सुकाउनसमेत समस्या भइरहन्छ । आलु, गोलभेँडाको खेती पछिल्ला दशकमा व्यवसायिकरुपमा भइरहे पनि वर्षेनी देखिने डढुवा रोगको प्रकोपवाट यी बाली जोगाउन किसानलाई मुश्किल हुने गरेको छ ।

यो रोगवाट जोगाउन कतिपय किसानले ‘टनेल’(पारदर्शी प्लाष्टिको छानासहितको टहरो) बनाएर त्यस मुनि गोलभेँडालगायत तरकारी बालीको खेती गर्ने गरेका पनि छन् । टनेलको व्यवस्थापन गर्न नसक्ने कतिपयले बिषादी पनि छर्किने गरेका छन् ।

यस्तो विषादी प्रत्येक सात/आठ दिनको फरकमा छर्किन सकेमा मात्र बोली जोगाउन सकिने सल्लाह कृषि प्राविधिकले दिने गरेका छन् । पटक–पटक बिषादी किनेर छर्किनका लागि कमजोर आर्थिक अवस्था भएका किसानलाई क्षमता नहुँदा उनीहरुलाई बाली जोगाउनै मुश्किल छ ।

रातिको तापक्रम पाँच डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने तथा चिसो मौसमको अवस्थामा रहने हुँदा ढुसी सक्रिय हुन गई बोटमा डढुवाको सङ्क्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ । लामो समयसम्म हुस्सु र कुहिरो लागेर धेरै चिसो भइरहँदा ओसिलो जग्गामा गरिएको आलु, गोलभेँडालगायतको बालीमा डढुवा सङ्क्रमणको समस्या हुने गरेको कृषि ज्ञान केन्द्र महोत्तरीले जनाएको छ ।

जिल्लामा जाडो दोहोरिएर जिल्लावासीले कष्टकर जीवन बिताइरहँदा पनि स्थानीय तहले हालसम्म यसबाट बच्नका लागि कुनै पनि व्यवस्था नगरेको स्थानीयवासीको गुनासो छ ।

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ३ : १२ बजे

डोलेश्वरमा महाशिवरात्रिको तयारी पूरा

भक्तपुर – केदारनाथको शीर मानिने डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रिको तयारी

पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध

काठमाडौं – नेपाल प्रहरीले महाशिवरात्रिमा पशुपति क्षेत्रमा पूजाआजा आउने भक्तजनलाई

महाशिवरात्रिको पूर्वसन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरु)

काठमाडौं – देशभरका शिवालयमा बुधबार महाशिवरात्रि मेला लाग्दैछ । सोही

पशुपतिमा महाशिवरात्रिको तयारी पूरा, बिहान दुई बजेदेखि चारै ढोका खुल्ने

काठमाडौं – महाशिवरात्रि पर्वका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा

केआईआईटीबाट फर्किएका विद्यार्थीलाई त्रिविले क्रेडिट ट्रान्सफर गरिदिने

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भारतको ओडिशास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल