दाङ- बर्डफ्लु जोखिम हुन नदिन दाङमा पूर्व तयारी थालिएको छ । तयारी स्वरुप भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङले बर्डफ्लु सम्बन्धी सचेतना कार्यक्रम गरेको हो ।
जिल्लामा हालसम्म कुनै पनि बर्डफ्लुको संक्रमण नभए पनि सचेतनामुलक कार्यक्रम सुरु गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र दाङका प्रमुख डा. बेदबहादुर केसीले जानकारी दिए ।
नेपालका बर्डफ्लुको संक्रमण नदेखिए पनि भारतका केही स्थानमा देखिएकाले नेपालमा भित्रिन नदिनका लागि सरकारले पूर्व तयारी सुरु गरेको उनको भनाइ छ ।
जिल्लामा पनि सरोकारवाला निकायसँग सहकार्य गरेर अगाडि बढिएको प्रमुख केसीले बताए । यसका बारेमा नागरिकलाई सचेतना जगाउन जरुरी रहेको उनी बताउँछन् । नागरिकलाई ढुक्क भएर मासु, अण्डा सेवन गर्न समेत उनले आग्रह गरे ।
जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले सबैले आ–आफनो जिम्मेवारी बहन गर्न सक्नु पर्ने बताए । सबैले आफ्नो स्थानबाट जिम्मेवारी बहन गर्न सकेमा रोगको संक्रमण हुन नसक्ने उनको भनाइ छ ।
प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बर्डफ्लुको जोखिम नभए पनि पूर्व तयारका लागि सचेतना कार्यक्रम आयोजना गरिएको बताए ।
रोगको संक्रमण हुन नदिनका लागि व्यावसायिक मर्यादा पालना गर्न समेत उनले आग्रह गरे । व्यवसायीहरुले आफ्नो व्यवसायसँगै नागरिकको स्वास्थ्यमा समेत ध्यान दिन जरुरी रहेको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
जिल्लामाका सबै नाकाहरुमा कडाइ गरिएको उनको भनाइ छ । जिल्लामा रहेका भारतसँगका सीमानाकामा पशुपंक्षी आयातमा रोकिएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।
प्रतिक्रिया