काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सबै नेपालीले खोरोनाविरुद्धको खोप प्राप्त गर्ने सक्ने भन्दै दिएको अभिव्यक्ति फेरेका छन् ।
गत बुधबार खोप अभियानको उद्घाटन गर्दै दिएको अभिव्यक्ति फेर्दै उनले अब एक वर्षमा सबै नेपालीले कोरोनाको खोप पाउने बताएका छन् ।
उनले आज चितवनमा भएको कार्यक्रममा सबै नेपालीका लागि खोप उपलब्ध हुन १ वर्ष लाग्ने दाबी गरेका हुन् ।
प्रधानमन्त्री ओलीले कोरोना भाइरस (कोभिड- १९)को उपचारमा फ्रन्ट लाइनमा रहेकालाई खोप लगाउन सुरु गरिएको र सबै नेपालीलाई खोप उपलब्ध हुन १ वर्ष लाग्ने बताएका हुन् ।
उनले फ्रन्ट लाइनमा रहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायतलाई खोप उपलब्ध हुनै ३ महिना लाग्ने पनि बताए ।
भारतले अनुदानमा दिएको कोभिसिल्ड खोपको कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा रहेकाहरूलाई लगाउने अभियानको उद्घाटन गर्दै ओलीले भनेका थिए, ‘हामी अरु मित्रराष्ट्रहरूसँग र संघसंस्थाहरूसँग पनि कुरा गरिरहेका छौं । हामी ठान्छौं करिब ३ महिनाभित्र हामीले सम्पूर्ण नेपालीलाई खोप उपलब्ध गराइसक्ने छौं । मेरो विचारमा ३ महिना लाग्न सक्छ ।’
सरकारले १५ वर्षभन्दा माथिका ७२ प्रतिशत अर्थात् २ करोड १६ लाखलाई खोप दिने योजना अघि सारेको छ।
यो पनि पढौँ
तीन महिनाभित्र सबै नेपालीलाई कोरोनाविरूद्ध खोप लगाउँछौँ : प्रधानमन्त्री ओली
प्रतिक्रिया