मोरङ- वर्षेनी खोलामा आउने बाढीले मोरङको बूढीखोलास्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहर जोखिममा परेको छ ।
वर्षेनी कटान बढ्दै गएकाले नहरको संरचना जीर्ण बन्दै गएको सिँचाइ आयोजनाले जनाएको छ । बूढीखोलाको पूर्व, पश्चिम र दक्षिणतर्फबाट तीव्र गतिमा कटान भइरहेको छ । तर, यसलाई नियन्त्रण गर्न आयोजनाले खासै पहल गरेको देखिँदैन ।
बजेट अभावका कारण समयमै कटान नियन्त्रण गर्न नसकिएको आयोजनाले जनाएको छ । कटानका कारण खोला दिनप्रतिदिन गहिरिँदै जानाले पनि नहर संरचनाको जोखिम झन बढेको छ ।
नदी कटानका कारण संरचना भत्किएमा यसले मोरङतर्फ सिँचाइ हुने शाखा नहरहरू समेत नराम्ररी प्रभावित हुने बताए । मोरङका नौवटा शाखा नहरलाई यसले प्रत्यक्ष प्रभाव पार्ने आकलन गरिएको छ ।
छुरछुरिया, हरिनगरा, विराटनगर, वरियाती, नयाँपट्टि, आमझोडा, रञ्जनी, चिस्याङ र झमनपुर शाखाबाट सिँचाइ हुने क्षेत्रका किसान प्रभावित हुनेछन् ।
केही समयअघि मोरङको लोहन्द्राखोलास्थित नहरको संरचनालाई बाढीले बगाउँदा केही शाखा नहरमा आश्रित किसान अहिले पनि आकाशेपानीको भरमा खेती गर्न बाध्य छन् । समयमै कटान नियन्त्रणमा आयोजनाले ध्यान नदिँदा यस्तो अवस्था आएको यस क्षेत्रका किसानहरूको गुनासो छ ।
विराटनगर शाखा नहर जलउपभोक्ता समितिका अध्यक्ष वीरेन्द्र माझीले बूढीखोलाको संरचना भत्कियो भने मोरङको कुनै पनि शाखा नहरमा पानी नजाने र यसबाट किसानलाई मात्र नभई राज्यलाई पनि धेरै नोक्सानी हुने बताए ।
उनले विभागले समयमै यसको उपचार गर्नुपर्ने बताए । यो नहरको संरचना भत्किए मोरङमा सिँचाइ हुने २८ हजार अर्थात् ४२ हजार बिघा खेतमा सिँचाइ गर्न समस्या हुने आयोजनाका डिभिजनल इञ्जिनियर रमेशलाल कर्णले जानकारी दिए ।
बूढीखोलाको संरचना बनाउन आयोजनाले २९ करोड ९७ लाख ५६ हजारमा ठेक्का लगाई काम भइरहेको आयोजना प्रमुख भिलानन्द यादवले जानकारी दिए ।
लोहन्द्राखोलामा भएको कटान आवश्यक बजेट अभावमा तत्काल रोक्न नसकिएको यादवले जानकारी दिए । त्यस क्षेत्रका किसानले धानखेतीको समयमा पानीका लागि सास्ती व्यहोर्नुपरेको प्रमुख यादवले बताए ।
बूढीखोलामा रहेको पुरानो नहर बचाउन विभागले तत्काल एक करोड ५० लाख विनियोजन गर्नुपर्ने इञ्जिनियर कर्णले जानकारी दिए । विभागबाट ३४ लाखको बोलपत्र आह्वान भइसकेको उनले बताए । यस वर्षको वार्षिक स्वीकृत कार्यक्रमअनुसार ६२ लाख बजेट विनियोजन भई बोलपत्र आह्वान हुने अवस्थामा रहेको उनले जानकारी दिए ।
हरिनगरा शाखा नहर जलउपभोक्ता समितिका अध्यक्ष सुजित माझीले धेरै पहिलेदेखि नै बूढीखोलाको संरचना बचाउन आवाज उठाइरहे पनि विभागले ध्यान नदिएकोमा दुःख व्यक्त गरे ।
त्यस्तै, बरियाती शाखा नहर जलउपभोक्ता समितिका अध्यक्ष मोहन श्रेष्ठले दिनप्रतिदिन बूढीखोला गहिरिँदै गएको, नहरको संरचनाले पनि ५० वर्ष पार गरिसकेको उल्लेख गर्दै यसलाई बचाउनुको विकल्प नभएको बताए ।
प्रतिक्रिया