कोभिड खोपमा नेपाललाई चीनको चर्को दबाब « Khabarhub

कोभिड खोपमा नेपाललाई चीनको चर्को दबाब



काठमाडौँ— कोरोना भाइरस (कोभिड–१९) विरुद्धको आफ्नो खोप तुरुन्तै लैजान नेपाललाई ताकेता पत्र पठाएको चीनले नेपालीमाथि दबाबको अर्को नीति सार्वजनिक गरेको छ ।

चीनको नयाँ नीति अनुसार चीन जान चाहने नेपाली नागरिकले कोरोना भाइरसविरुद्ध चिनियाँ खोप नै लगाएको हुनुपर्नेछ ।

काठमाडौंस्थित चिनियाँ दूतावासले यही चैत २ गते एक विज्ञप्ति जारी गर्दै आफ्नो देशमा निर्मित कोरोना भाइरसविरुद्धको खोप लगाएका नेपाली नागरिकलाई मात्र चीन प्रवेशको अनुमति दिने जनाएको छ ।

दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘दूतावासले ती भिसा आवेदकहरूलाई सहजीकरण गर्नेछ जसले चीनमा निर्मित कोभिड–१९ का भ्याक्सिन लिएको प्रमाणपत्रसहित निवेदन दिएका हुनेछन् ।’

यसबारे नेपाल सरकार मौन छ ।

दूतावासले चिनियाँ खोप लगाएका व्यक्तिका लागि मात्र भिसा प्रक्रियामा सहजीकरण गर्ने जनाए पनि चीनले नेपाललाई दिने भनेको खोप अझै आएको छैन ।

नेपालमा अक्सफोर्ड एस्ट्राजेनेकाले बनाएको कोरोनाविरुद्ध खोप ‘कोभिसिल्ड’ भारतबाट ल्याएर खोप अभियान चलाइएको थियो । चिनियाँ कम्पनी सिनोफार्मले बनाएको खोप नेपाललाई दिने भनिए पनि ढुवानी नेपाल आफैँले गर्नुपर्ने भएपछि खोप ल्याउने प्रक्रिया अलपत्र परेको छ ।

नेपाल सरकारले अहिले कोरोना भाइरसविरूद्धको चिनियाँ खोप ‘भेरो सेल’ लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ । चिनियाँ कम्पनी सिनोफार्मले बनाएको उक्त खोपलाई औषधि व्यवस्था विभागले आपतकालीन प्रयोगको लागि अनुमति दिएको हो ।

अहिले नेपालमा खोपको अभावमा खोप अभियानमा असर पर्ने अवस्था छ । सुरुमा भारतले १० लाख खोप अनुदानमा दिएको थियो । त्यसपछि सिरम इन्स्टिच्युटसँग २० लाख खोप खरिद गर्ने सम्झौता गरी अग्रिम भुक्तानी भइसकेको छ ।

दश लाख खोप दिएको सिरमले बाँकी १० लाख तत्काल दिन नसक्ने भनेपछि नेपालमा खोप अभियान असर पर्ने अवस्था देखिएको हो ।

विज्ञहरू भन्छन् : चीनको हेपाहा नीति

चीनको भिसा पाउन चीनकै खोप लगाएको हुनुपर्ने चिनियाँ सरकारको नीति हेपाहा प्रवृत्तिको नमुना हो भन्छन् विज्ञहरू । चीनले नेपालीलाई भेदभावको व्यवहार गरेको विश्लेषक अरुणकुमार सुवेदीको भनाइ छ ।

सुवेदी भन्छन्, ‘चीन सरकारको नीति नै यहाँको दूतावासले नै बोल्ने हो । विश्व स्वास्थ्य सङ्गठन वा संसारका अन्य यस्तै संस्थाले अनुमोदन गरेको खोप लगाएको प्रमाणले मात्रै प्रवेश अनुमति दिइनेछ भन्नुपर्ने थियो ।’

उनको विचारमा जापानी, अमेरिकी, युरोपेलीहरूलाई नभएर नेपालीलाई मात्रै लागू भएको हो भने योभन्दा हेपाइ अरू हुँदैन ।

सुवेदी भन्छन्, ‘वासिङ्टन वा दिल्लीमा रहेका चिनियाँ राजदूतावासले काठमाडौँमा रहेको दूतावासले जस्तो विज्ञप्ति निकालेका छैनन् त्यसैले नेपालमाथि भेदभाव हो ।’

पूर्वराजदूत दीपकुमार उपाध्याय खोपबारे चिनियाँ नीति ठूलो देशले सानो देशलाई गरेको थिचिमिचो ठान्छन् । उनी भन्छन्, ‘सरकारले परराष्ट्र नीतिमा सन्तुलन गर्न नसक्दा यस्तो समस्या निम्तिएको हो । चीनको यस्तो निर्णयले दुरगामी हिसाबले चीनलाई पनि राम्रो हुँदैन ।’

यस्ता कुरामा सरकार सतर्क हुनुपर्ने उनको तर्क छ । चीनले मेरो देशकै खोप लगाउनै पर्छ भन्न नमिल्ने उनको तर्क छ ।

चीनको यस्तो नीतिले चीन जाने नेपाली पर्यटक, काम विशेषले जाने नेपाली र नेपाली विद्यार्थीहरू बढी समस्यामा पर्ने छन् ।

चिकित्सकहरू पनि भ्याक्सिन जस्तो संवेदनशील विषयलाई यसरी बाध्यकारी बनाउन नमिल्ने तर्क गर्छन् । ‘यसरी अनिवार्य गर्न कुनै पनि हालतमा मिल्दैन । यसको अर्थ चीन नजानु भनेको हो,’ जनस्वास्थ्यविद् डा.अनुप सुवेदी भन्छन्, ‘चीनले जस्तै अरू देशले पनि गरे भने के हुन्छ ?’

सुवेदीका अनुसार कूटनीतिक हिसाबले चीनले दिएको सन्देश राम्रो होइन । उनी भन्छन्, ‘चिनियाँ भ्याक्सिन नै लगाएको हुनुपर्छ भन्नु गलत हो । यसो भन्ने वैज्ञानिक पनि छैन ।’

चीनले भ्याक्सिनलाई राजनीतिक र व्यापारिक बिषय बनाएको डा. सुवेदीको बुझाइ छ ।

जनस्वास्थ्यविद् डा. रवीन्द्र समीर चीनले व्यापारिक दृष्टिले त्यस्तो वक्तव्य निकालेको हुनसक्ने बताउँछन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले मान्यता दिएको खोप लगाएपछि सबैले विश्वास गर्नुपर्ने उनको भनाइ छ ।

िनियाँ खोपप्रति नै आशंका

चीनले उत्पादन गरेको कोरोनाविरूद्धको खोपले गम्भीर असर निम्त्याएको भन्दै विभिन्न मुलुकमा परीक्षणमा समेत रोक लगाइएको छ । नेपालमा ल्याउने भनेको चिनियाँ खोपलाई डब्लुएचओले आपतकालीन प्रयोगका लागि मात्र मान्यता दिएको छ ।

चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको सिनोभ्याक खोपको ब्राजिलमा गरिएको तेस्रो चरणको परीक्षणमा क्रममा ५०.४ प्रतिशतमात्रै प्रभावकारी देखिएको छ ।

अक्सफोर्डले विकास गरेको खोप ७० प्रतिशत तथा फाइजर र मोडर्नाले विकास गरेको खोप ९५ प्रतिशत प्रभावकारी भएको अवस्थामा चिनियाँ खोप ५० प्रतिशतमात्रै प्रभावकारी भएको भन्दै पश्चिमी मुलुकहरूले यस बारेमा प्रश्न उठाइरहेका छन् ।

जनस्वास्थ्यविद् डा.समीरमणि दीक्षित कुनै खोप ल्याउनुअघि त्यसको सक्सेस तथ्यांक र गुणस्तरको अध्ययन गर्नुपर्ने बताउँछन् । उनी भन्छन्, ‘चीनको होस या जुनसुकै कम्पनीको, खोप ल्याउँदा निको सबै कुरा बुझेरमात्र ल्याउनुपर्छ । दबाबका भरमा कुनै पनि खोप ल्याउनु हुँदैन ।’

जनस्वास्थ्यविद् डा.सुवेदीका अनुसार पनि अहिले नेपालमा प्रयोग भइरहेको कोभिसिल्ड र चिनियाँ भ्याक्सिनको संरचना नै फरक छ । उनका अनुसार चिनियाँ भ्याक्सिन भाइरसको समग्र संरचनालाई इनएक्टिभेट गरेर बनाइएको हो । यसको प्रभावकारिताको तुलनात्मक अध्ययनबारे केही जानकारी छैन ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ८ : ५५ बजे

रामहरि श्रेष्ठ हत्या प्रकरण : गोविन्दबहादुर बटालालाई १० वर्ष कैद सजाय

काठमाडौं– सर्वोच्च अदालतले कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठ हत्या प्रकरणमा दोषी

संविधान संशोधन कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीत्रयसँग सुझाव संकलन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित

काठमाडौंमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु, वुसिया संस्कृति र एआई प्रविधिबीच संवाद

काठमाडौं – ‘२०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी’ काठमाडौंमा सुरु भएको

विश्वकपमा युद्धको छाया, इरानी समर्थकको टिकट कोटा पनि रद्द

काठमाडौं– पश्चिम एशियामा जारी युद्धको प्रभाव विश्वभर परिरहेका बेला फुटबलको

‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा

काठमाडौं– सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना