पूजाआजा रोकिए पनि पशुपतिनाथ घुम्न पुग्छन् भक्तजन ! | Khabarhub Khabarhub

पूजाआजा रोकिए पनि पशुपतिनाथ घुम्न पुग्छन् भक्तजन !



काठमाडौँ- सोमवार साँझ नयाँबस्तीकी सकुन्तला बोहरा पशुपतिनाथ मन्दिरको मुख्य प्रवेशद्वारमा नाङ्लाभरी फूलमाला लिएर भक्तजनको प्रतीक्षामा थिइन् ।

‘ए हजुर फूलमाला लिएर जानुस्’ बाटोमा हिँड्ने कोही देख्नासाथ उनी बोलाइरहेकी थिइन् । मानिसहरु भने नसुनेझैं हिडिरहेका थिए ।

‘आज त २ सयभन्दा व्यापार नै भएन’ खल्तीबाट सयका दुई वटा नोट झिक्दै उनले भनिन् ।

सामान्य दिनमा २ देखि ३ हजार रुपैयाँको फूलको व्यापार गर्ने सकुन्तला २ सय रुपैयाँको व्यापार गरेर पशुपतिको गेटमा दिन बिताइरहेकी छिन् ।

त्यसो त यो नै उनको पहिलो अनुभव भने होइन । यसअघि कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनका कारण करिब १० महिना उनले घरमै बिताइन् ।

सोमवार साँझ मन्दिर परिसर सुनसान थियो । गेटबाहिर केही मानिसहरु हिँडिरहेका थिए । आरतीस्थलतर्फ मानिसहरुको केही बाक्लै उपस्थिती थियो । अन्य दिनको तुलनामा आर्याघाट केही सुनसान देखिन्थ्यो ।

कोरोना भाइरसको संक्रमण बढेपछि पशुपति क्षेत्र विकास कोषले शुक्रवारदेखि भक्तजनका लागि पूजाआजा गर्न अनिश्चितकालीन रोक लगाएको छ ।

पूजाआजाका लागि रोक लगाए पनि मानिसहरुको आवतजावत भने रोकिएको छैन । मानिसहरु पूजाका लागि मात्र नभई दिनभरको थकानलाई भुलाउनका लागि पनि पशुपति मन्दिर पुग्ने गरेको बताउँछन् ।

कपनदेखि आएका बद्री खतिवडा भन्छन्, ‘दिनभरी काम गरेर साँझ पशुपति आएर आरती हेर्न पाउँदा मन आनन्दित हुन्छ त्यसैले सधै आउँछु । लकडाउन भएर हिँडडुल मै रोक लगाइए आइँदैन ।’

सामान्य अवस्थामा सोमबार र शनिबार २५ हजार र अन्य दिन ७ हजारको हराहारीमा भक्तजन पशुपतिनाथ पुग्ने गरेकोमा पूजापाठ र दर्शनमा रोक लगाउँदा पनि दैनिक ५०० हाराहारी मानिस पशुपतिनाथ पुग्ने गरेका छन् ।

कतिपय व्यक्तिहरू दर्शनका लागि मात्रै पनि पशुपतिनाथ प्रवेश गर्ने र मन्दिरको प्राङगण बाहिर गेटबाटै ढोगेर फर्किने गरेको पनि पाइएको छ ।

संक्रमणको जोखिम बढेपछि पशुपतिनाथ मन्दिरमा भक्तजनको आवातजावतमा रोक लगाए पनि रमिता हेर्नकै लागि पुग्ने मानिसहरूले जोखिम बढाएपछि कोषका अधिकारीहरू चिन्तित छन् ।

कोषले सार्वजनिक रुपमै गत शुक्रबार सुचना टाँसेर भक्तजनको उपस्थितिलाई रोक लगाइएको जनाए पनि त्यसलाई बेवास्ता गर्दै मन्दिरमा जानेक्रम रोकिएको छैन । रमिता हेर्नकै लागि कतिपय मानिसहरू पशुपतिनाथ मन्दिर परिषर पुगे पनि उनीहरूलाई कारबाही गर्ने अधिकार कोषसँग नरहेको कोषाध्यक्ष मिलन दाहाल बताउँछन् ।

‘किरियापुत्री र घाटमा आउनेहरुलाई नआउनुस् भन्न मिल्दैन,’ उनले भने, ‘रमिता हेर्नकै लागि आउनेहरूलाई जोखिम नमोल्नुहोस् भन्ने मेरो आग्रह छ ।’

निषेधाज्ञा भएपछि भने मानिसहरु आवतजावतमा कमी आउने कोषको विश्वास छ । ‘१६ गतेदेखि निषेधाज्ञा नै शुरू हुन्छ, त्यसपछि रमिता हेर्न आउने पनि घट्लान्,’ दाहालले भने ।

कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालकाअनुसार अहिले मूल भट्ट, भट्ट र भण्डारी बसेर नित्यपूजा गरिरहेका छन् ।

‘विश्वभर फैलिदै गएको नयाँ भेरियन्ट सहितको कोभिड १९ को संक्रमण नेपालमा समेत बढ्दै गएको सन्दर्भमा सो को रोकथाम तथा व्यवस्थापनका लागि संक्रमक रोग ऐन, २०२० को दफा २ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले आदेश गरेको र सो आदेशको दफा ४ मा भए बमोजिम वैशाख १० गतेबाट अर्को व्यवस्था नभएसम्म पशुपति गुह्येश्वरी मन्दिरलगायतका क्षेत्रमा नित्य पूजाबाहेक अन्य क्रियाकलाप गर्न नपाउने व्यवस्था गरिएको छ ’ कोषद्वारा जारी सूचनामा भनिएको छ ।

 

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ८ : ४० बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस