तिनाउ नदीमा अनियन्त्रित दोहन, बस्ती जोखिममा | Khabarhub Khabarhub

तिनाउ नदीमा अनियन्त्रित दोहन, बस्ती जोखिममा



बुटवल– जेठ महिनाको मसान्त नजिकिँदै गर्दा रुपन्देही हुँदै बग्ने नदी–खोलामा चरम दोहन बढेको छ । डोजर र एस्काभेटर लगायतका हेबी इक्युमन्ट प्रयोग गर्दै मापदण्ड विपरित नदी–खोलामा बालुवा, गिटी र ढुङ्गा निकालिने गरेको छ ।

जेठ लागेपछि नदी र खोलामा बालुवा, गिटी र ढुङ्गा निकाल्ने र ओसार्ने साधानहरुको लर्को लागेको छ । बुटवल उपमहानगरपालिका–११ को प्रगतिनगर बस्तीनजिकै एकै पटक ५ वटा डोजर चलाएर नदीमा उत्खनन भइरहेको छ ।

गत वर्ष पनि बस्तीनजिकै नदीजन्य पदार्थ उत्खनन् गरिएको थियो । वर्षायाममा तिनाउ नदीले वहाव परिवर्तन गरेर बस्तीका केही घर नै बगाएको थियो । केही दिनअघि भएको भारी वर्षामा उर्लिएर आएको तिनाउले जमिन कटान गर्दा बस्ती थप जोखिममा परेको छ ।

अहिले सोही जोखिम क्षेत्र नजिकै फेरि ५ वटा डोजर चलाएर नदीजन्य पदार्थ उत्खनन गर्ने काम भइरहेको छ । अनियन्त्रित उत्खननले बस्ती जोखिममा परेको दुर्गा भवानी टोल विकास संस्थाका अध्यक्ष नरसिंह रावलले बताए ।

‘हामीले बस्ती जोखिमा पर्‍यो भनेर पटक पटक बुटवल उपमहानगरपालिकाको कार्यालय र वडा कार्यालयमा जानकारी गरायौँ,’ उनले भने, ‘नदीमा तटबन्धन पनि भएन, बरु बस्तीलाई नै जोखिम हुने गरी उत्खनन भएको छ ।’

नदी नजिकका बासिन्दाहरुले बस्ती खतरामा रहेको कुरा जानकारी गराउँदै तटबन्ध गरिदिन स्थानीय सरकारसमक्ष माग राखेका छन् तर जोखिमको क्षेत्रनजिकै यस वर्ष पनि बालुवा निकाल्ने काम भइरहेको छ । अनियन्त्रित उत्खननले नदी गहिरिँदै गएको छ । वर्षा याममा नदीले वहाव परिवर्तन गर्दा देवीनगरको प्रगतिनगर बस्ती नै जोखिममा परेको स्थानीय सूर्यबहादुर विश्वकर्माले बताए ।

‘हाम्रो घर तिनाउको किनारमा छ,’ उनले भने, ‘नदी गहिरो हुँदै गएको छ, पोहोर पनि जमिन कटान भयो, अब घरनजिकै आएको छ, यस वर्ष बाँच्न गाह्रो छ ।’

जेठ महिनामा तिनाउ र दानव नदीमा उत्खननका लागि ठेक्का खुलेपछि नदीजन्य पदार्थ निकाल्न शुरू भएको हो । स्थानीय सरकारहरुले ठेक्का प्रक्रियाबाट नदीजन्य पदार्थ निकासको लागि अनुमति दिने गरेका छन् ।

जेठ मसान्तसम्म उत्खनन् गर्न पाइने भएकोले समय सकिन लाग्दा चरम दोहन बढ्दै गएको छ । स्थानीयवासी वीरबहादुर गरबुजाले भने, ‘नदी गहिरो हुँदै गएको छ, हाम्रो बस्ती बगाउन लागेको छ । स्थानीय प्रशासन, उपमानगरपालिका र वडालाई उत्खनन रोक्न आग्रह गरे पनि कतैबाट सुनुवाइ भएन ।’

वातावरणीय प्रभाव मूल्यांकनअनुसार अहिले उत्खनन भइरहेको क्षेत्रमा १ दशमलव ८० देखि २ दशमलव २० मिटर गहिराइसम्म नदीजन्य पदार्थ झिक्न मिल्छ भनिएको छ । अहिले सरकारी निकायबाट अनुगमन नहुँदा तीन मिटरसम्म गहिराइमा बालुवा निकालिएको छ ।

दुई किलोमिटरभन्दा बढी लम्बाइमा लस्करै चार जना ठेकेदारले बालुवा निकाल्ने गरेको स्थानीय चूडामणि पोखरेलले बताए । वातावरणीय प्रभाव मूल्यांकन नभई जथाभावी उत्खनन बढ्दै जाँदा पानीको मुहान सुक्दै गएको उनको भनाइ छ ।

स्थानीयतहले जथाभावी उत्खननको अनुमति दिँदा नदीको अस्तित्व मेटिँदै गएको उनले बताए । स्थानीय सरकार आएपछि पछिल्ला तीन वर्षमा नदीमा मनपरि दोहन बढ्दै गएको पोखरेलको भनाइ छ ।

तिलोत्तमा नगरपालिकाको डिङ्गानगर, मगरघाट, हरिहरपुर र बुटवलको रङ्गशाला नजिक, मोतीपुर क्षेत्र लगायतमा दुई दर्जन भन्दा धेरै डोजर र एस्काभेटरले ढुङ्गा, गिट्टी र बालुवा निकाल्ने गरेका छन् ।

बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उत्खननको लागि अनुमति दिएका स्थानहरुमा अनुगमन भइरहेको बताए । मापदण्ड विपरित उत्खनन गरेकालाई कारबाही गरेको उनको भनाइ छ ।

प्रकाशित मिति : २७ जेठ २०७८, बिहीबार  १ : ५६ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको