हिमालले छेक्यो आमाको बाटो-आमा आउने बाटो हेर्दै चीनमा रहेका नेपाली चेलीका सन्तान « Khabarhub

हिमालले छेक्यो आमाको बाटो-आमा आउने बाटो हेर्दै चीनमा रहेका नेपाली चेलीका सन्तान


२५ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-
यी रोए पनि दु:ख लाग्छ, यिनले सम्झे कि आमा भनि
यी हाँसे पनि सुख छैन, यिनले बिर्से नि आमा भनी।’
राष्ट्रकवि माधवप्रसाद घिमिरेले ‘गौरी’ शोक काव्यमा लेखेका उल्लिखित हरफ चीनमा हुर्किरहेका बालबालिकाकासँग ठ्याक्कै मेल खान्छ। अबोध बालबालिका हाँसे भने उनका अभिभावकले ठम्याउनेछन्– यिनले आमालाई बिर्सिए। कहिलेकाहीं उनीहरु रोए फेरि अभिभावकले सम्झने छन्– यिनले आमालाई सम्झिए।

आफ्नी आमाको बाटो विशाल हिमालले छेकेको छ भन्ने ती अबोध बालबालिकालाई थाहा छैन। आमाले छाडेर गएको डेढ वर्षभन्दा बढी भइसकेकाले उनीहरुको स्मृतिमा मातृ छाया धुमिल बन्दै गएको हुन सक्छ। चितवन (नेपाल) कि मेरिना गुरुङ (परवर्तित नाम) सात वर्ष पहिले चीनको भित्री मंगोलिया प्रान्तका लिउसँग बिहे गरेर यहाँ आएकी थिइन्। उनले पति लिउबाट माया र परिवारबाट राम्रै सम्मान पनि पाएकी थिइन्।

उनको कोखबाट जन्मिएका छोरा अहिले साढे पाँच वर्षका भएका छन्। बिहे गरेर चीन आएपछि पनि मेरिना बीचमा दुईपटक नेपाल गइन्। नेपालबाट अरु चेलीलाई चीनमा बिहे गरेर आउन प्रेरित गरिन्। डेढ वर्षअघि उनी नेपाल गएकी चीन फर्किनन्। ‘म त चीन फर्किने भनेर नेपाल गएकी थिएँ तर परिबन्दले गर्दा फर्कन सकिनँ’, मेरिनाले नागरिकसँग भनिन्, ‘साथीसँगै नेपाल गएकी थिएँ। साथीले बिहे गरेर सँगै चीन फर्कने भनेकी थिइन्। उनको बिहे दर्ता नै भएन। त्यही झमेलामा लाग्दालाग्दै मेरो भिसा सकियो।’

मेरिनासँगै जन्मघर नेपाल फर्केकी थिइन् नुवाकोटकी रिदम विक (परिवर्तित नाम) पनि। रिदम पनि चिनियाँ युवकसँग बिहे गरेर यहाँ आएकी थिइन्। उनकी छोरी अहिले चीनमा छिन्। उनी साढे चार वर्षकी भइन्। यसबीचमा रिदमको चिनियाँ पतिसँग केही असमझदारी उत्पन्न भयो। उनीसँग अर्का चिनियाँ युवक सम्पर्कमा आए। रिदम पतिसँगको सम्बन्ध तोडेर अर्का चिनियाँ युवकसँग बिहे गर्न नेपाल फर्कने विचारले चिनियाँ साथीलाईसमेत साथमा लिएर मेरिनासँग नेपाल गएकी थिइन्। उनले नेपाल गएर नयाँ चिनियाँ युवकसँग बिहे दर्ता गरेर चीन फर्कने सोचाइ बनाएकी थिइन्। तर उनले पहिलो पतिसँग नेपालमा गरेको बिहे दर्ता कायमै थियो।

कानुनी रुपमा उनले पहिलो चिनियाँ पतिसँग सम्बन्ध विच्छेद गरेकै थिइनन्। फलतः उनको नयाँ चिनियाँ साथीसँग बिहे दर्ता हुन सकेन। चिनियाँ नयाँ साथी (युवक) सँग बिहे दर्ता नगरीकन उनी चीन फर्कन सक्ने अवस्था थिएन। किनभने चीन फर्किएपछि उनलाई बसोबासका लागि कानुनी झन्झट थियो। उनी पतिसँग झगडा गरेर नेपाल गएकी थिइन्। चिनियाँ नयाँ युवकसँग बिहे दर्ता गर्न दलालको चक्करमा पर्दापर्दै उनको भिसा अवधि सकियो। रिदमसँगै मेरिनाको पनि भिसा अवधि सकियो। मेरिना र रिदम दुवै चीन फर्किन पाएनन्। मेरिनाका छोरा र रिदमकी छोरी आमाको पर्खाइमा रहेको नागरिक दैनिकमा खबर छ ।

‘मेरी आमाचाहिँ आउँदिनन् आन्टी ?’ मेरिनाका छोराले आफूसँग भेट हुँदा सोधेको कल्पना लामा बताउँछिन्। नेपाली चेली कल्पना पनि चिनियाँसँग बिहे गरेर यहाँ आएकी हुन्। चीनमा कल्पनाको घर र मेरिनाको घर एउटै क्षेत्रमा पर्छ। भेट हुँदा मेरिनाका छोराले मनै कटक्क हुने गरी आफ्नी आमाको बारेमा सोध्छन्। आफूसँग जबाफ नभएपछि मेरिनाको घरको बाटो भएर हिँड्न छाडेको कल्पना बताउँछिन्। उनी भन्छिन्, ‘त्यो बालकको अनुहार हेर्दा कस्तो माया लागेर आउँछ। मेरिना नेपालमा कसरी बसेकी होलिन कुन्नि।’

चीनमा दूधे बच्चा छोडेर नेपाल फर्कनेमा परी (परिवर्तित नाम) थापा पनि हुन्। काठमाडौं गोलढुंगाकी परी पनि सन् २०१३ मा चिनियाँ युवकसँग बिहे गरेर यहाँ आएकी थिइन्। चार वर्षको छोरा छोडेर डेढ वर्ष जन्मघर नेपाल गएकी उनी पनि चीन फर्किइनन्।

चीनको उत्तर–पूर्वमा पर्ने हैलुङचाङ प्रान्तका चिनियाँसँग बिहे गरेर केही नेपाली चेली यहाँ आएका छन्। आठ/नौ वर्षअघिदेखि नेपाली चेली उक्त प्रान्तका चिनियाँसँग बिहे गरेर यहाँ आउन थालेका हुन्। चीनमा पुरुषको तुलनामा महिलाको संख्या थोरै छ। त्यसमाथि बिहे गर्न केटापक्षबाट ठूलो धनराशि खर्च हुने गर्छ। बिहे गर्दा केटापक्षबाट केटी पक्षलाई धेरै पैसा दिनुपर्ने भएकाले चिनियाँ समाजमा बिहे जटिल आर्थिक र सामाजिक समस्या बन्न थालेको छ। आर्थिक अवस्था कमजोर भएका चिनियाँ केटाले चिनियाँ केटीको साटो भियतनामी केटी बिहे गर्ने चलन छ। पछिल्लो समय केही चिनियाँ युवक ‘बेहुली’ खोज्न बंगलादेश, पाकिस्तान र नेपालसम्म पनि पुग्न थालेका छन्।

त्यस्तै पत्रिकाले दुधे बालकको गर्धन रेटेर हत्या, संसदमा प्रधानमन्त्री र सांसदको भनाभनलगायतका समाचार प्राथमिकताका साथ छापिएको छ।

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार  ७ : २९ बजे

माओवादीका पूर्वकेन्द्रीय सदस्यसहितका नेताहरू एमाले प्रवेश

काठमाडौँ- नेकपा माओवादी केन्द्रका तत्कालीन केन्द्रीय सदस्य रवि गौतमसहितका नेता

भ्रमपूर्ण सूचना फैलनसक्ने भन्दै पत्रकार महासंघले गरायो सचेत

काठमाडौँ – नेपाल पत्रकार महासंघले निर्वाचनको रिपोर्टिङमा खटेका पत्रकारहरूलाई समाचार

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

हरिहरपुरगढीमा श्रीमानद्वारा श्रीमतीको हत्या

कमलामाई (सिन्धुली)- सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–३ रानीपानीमा श्रीमानले बन्चरो प्रहार गरी

परराष्ट्रमन्त्री शर्मासँग साउदीका राजदूतको भेट

काठमाडौं – परराष्ट्रमन्त्री बालानन्द शर्मालाई नेपालका लागि साउदी अरेबियाका राजदूत