कोरोना महामारीमा ५७७ भेन्टिलेटर र ४ सय आइसियू बेड थपिए | Khabarhub Khabarhub

कोरोना महामारीमा ५७७ भेन्टिलेटर र ४ सय आइसियू बेड थपिए



काठमाडौँ– ०७६ माघ ९ गते नेपालमा कोरोनाको पहिलो पटक कोरोना पुष्टि भएको थियो । त्यसपछि कोराना संक्रमण विस्तारै फैलिँदै गयो । नियन्त्रणका लागि सरकारले चैत्र ११ गतेबाट लकडाउन गर्‍यो ।

लामो समयसम्म गरिएको लकडाउनले कोरोना कहर क्रमशः कम भयो । कोरोना संक्रमणको पहिलो लहर सकिने आशा गर्दै गर्दा दोस्रो लहर शुरु भयो ।

यसरी हेर्दा नेपालमा कोरोना भित्रिएको झण्डै डेढ वर्ष पुग्नै लागेको छ ।

नेपालमा माहामारीको विस्तार भएको डढ वर्ष भइसक्दा पनि यससँग जुध्ने पूर्वाधार निर्माणमा भने तदारुकताका साथ काम हुन नसकेको भन्दै आलोचना भइरहेको छ ।

यसअवधिमा सरकारले संक्रमितको उपचार र व्यवस्थापनका लागि देशभर के कति स्वास्थ्य पूर्वाधार निर्माण गर्‍यो त ?

डेढ वर्षमा स्वास्थ्य पूर्वाधारमा कति प्रगती

कोरोना संक्रमितको उपचारका लागि अहिले देशभर १ सय ५७ अस्पताल सूचीकृत छन् । स्वास्थ्य मन्त्रालयकाअनुसार नि:शुल्क उपचारका लागि ८३ अस्पतालसँग सम्झौता गरेका छ ।

२०७७ साल वैशाखसम्म देशभर ३ सय २७ वटा भेन्टिलेटर थियो । ५ सय ७७ भेन्टिलेटर थप गरी ९ सय ५ पुर्‍याइएको छ ।

थप १ सय ८० भेन्टिलेटर थप्ने प्रक्रिया शुरु भएको मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद पौडेलले खबरहबलाई बताए ।

त्यस्तै २६ सयको संख्यामा रहेको आईसीयू बेड बढाएर ३ हजार पुर्‍याइएको छ ।

उनकाअनुसार ६ सय ३० वटा बेड थप्ने तयारी भइरहेको छ ।

‘कोभिड अघि एउटा पनि एचडीयू बेड थिएन, अहिले सरकारी अस्पतालमा २ हजार ७५ र निजीमा ७ सय ७८ थप गरी सञ्चालनमा ल्याइएको छ । १४ सय बेड थप गर्ने तयारी भइरहेको छ’ उनले भने ।

अक्सिजन प्लान्ट १९ वटा थप गर्ने तयारी भइरहेको छ । त्यस्तै सय शैय्याभन्दा माथिका अस्पताललाई अक्सिजन प्लान्ट निर्माण गर्न मन्त्रालयले निर्देशन पनि दिइसकेको छ ।

प्रवक्ता पौडेलकाअनुसार कोभिडको बीचमा ५० को हाराहारीमा थपिएको छ । यसअघि ३२ वटा अक्सिजन प्लान्ट रहेको थियो ।

लिक्वीड ट्याङ कोभिड अगाडी थिएन कोभिडपछि ५ वटा थपिएको छ । २७ वटा लिक्वीड ट्याङ थप्ने मन्त्रालयको तयारी छ ।

अक्सिजन सिलिण्डर कोभिड अगाडि ६ हजार ३०० वटा थियो भने अहिले १४ हजार सिलिण्डर थपिएको छ ।

त्यस्तै यस अवधिमा ९ सय ७० अक्सिजन कन्सन्ट्रेटर थप गरिएको छ भने अक्सिजन सिलिण्डर संख्या ५ हजार १२ वटा थप गरिएको छ ।

देशभर ५५ वटा सरकारी प्रयोगशाला थपिएका छन् । हाल ३६ वटा निजी प्रयोगशालाबाट कोरोना परीक्षण भइरहेको छ ।

अहिले देशभर ६ हजार ९ सय ३४ वटा अस्पताल सञ्चालनमा छन् जहाँ १३ हजारको हाराहारीमा बेड छन् ।

पछिल्लो एक वर्षमा ती अस्पतलामा करिब दुई हजार बेड थपिएका छन् ।

राजधानीको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोभिडअघि २४ आईसीयू बेड थियो । अहिले बढाएर २८ पुर्‍याइएको छ ।

सोही अस्पतालमा कोभिडको पहिले ७ वटा भेन्टिलेटर थियो भने अहिले २२ वटा रहेको निर्देशक सागर राज भण्डारी बताउँछन् ।

उनकाअनुसार अत्याधिक चाप हुने टेकु अस्पतालमा बिरामी संख्याअनुसार भेन्टिलेटर र आइसीयू बेडको संख्या निकै कम हो ।

के छन् चुनौती ?

कोरोना भाइरस महामारीका बीच सरकारले गरेको नयाँ अस्पताल निर्माणको घोषणाले आशा जगाए पनि कार्यान्वयनको पाटो फितलो हुँदा निराशा जगाएको छ ।

नयाँ बजेटमा थप अस्पताल निर्माणको कुरा उठेपनि चालु आर्थिक वर्ष निर्माण गर्ने भनिएका अस्पतालको टुंगो अझै लागेको छैन ।

सरकारले चालू आर्थिक वर्षको बजेटले काठमाडौं उपत्यकामा ३०० शय्याको सुविधा सम्पन्न सरुवा रोग अस्पताल बनाउने घोषणा गर्‍यो ।

तर यो माहामारीको समयमा पनि उपत्यका लगायत देशभर नयाँ अस्पताल थपिएका छैनन् ।

‘थुप्रै आइसोलेसन, क्वारेन्टिन थपिए तर एउटा पनि थपिएको छैन’ प्रवक्ता पौडेल स्वीकार्छन् ।

अस्पतालमा जनशक्ति थप्न चुनौती रहेका उनी सुनाउँछन् ।

‘डाक्टर, नर्स लगायत अन्य कर्मचारी पनि थप्नुपर्ने हुन्छ उहाँहरु नभए अस्पताल सञ्चालन हुदैन’ उनले भने, ‘सामग्री त दातृनिकायबाट पनि प्रशस्त आइरहेको छ हामीले जनशक्तिमै ख्याल गर्नुपर्ने देखिन्छ ।’

भइरहेका संचरनालाई विस्तार गर्न पनि बजेट छुट्याइन्छ तर कार्यान्वयन समयमै हुन नसक्दा प्रतिक्रियामा आलोचना खेप्नु परेको उनको भनाइ छ ।

कहाँबाट कति आयो खोप ?

नेपालमा ४१ लाख ४८ हजार मात्रा खोप अनुदान र खरिदबाट ल्याइएको छ ।

गत वर्षको ८ माघमा भारत सरकारको अनुदानमा १० लाख डोज र ९ फागुनमा नेपाल सरकारले खरिद गरेको १० लाख डोज कोभिसिल्ड आइपुग्यो ।

२३ फागुनमा कोभ्याक्स सुविधाअन्तर्गत ३ लाख ४८ हजार खोप आइपुगेको थियो ।

त्यस्तै १६ चैत्रमा चीन सरकारको अनुदानमा ८ लाख र १९ मा १० लाख डोज आइपुगेको हो ।

हालसम्म करिब २७ लाख खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दोस्रो डोज खोप यही मंगलबाट शुरु भएको छ ।

प्रवक्ता पौडेलले दिएको जानकारीअनुसार देशभर मंगलवार मात्रै करिब ५६ हजारले खोप लगाएका छन् ।

सरकारले अमेरिका बेलायत, रुस भारत र चीन सरकारसँग खोप खरिदका लागि सहजीकरण गर्न पहल भइरहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य सामग्री कति आयो ?

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार, २०७६ माघ २८ गतेदेखि २०७८ वैशाख १० गतेसम्म ४९ वटा स्वदेशी तथा विदेशी संघसंस्थाबाट स्वास्थ्य सामग्री प्राप्त भएका छन् ।

जसमा गाउन एक लाख २० हजार आठ सय २४ थान, पिपिई नौ हजार नौ सय ६८ थान, सर्जिकल मास्क ४९ लाख ७१ हजार हजार ६ सय ५० थान, ६ लाख १९ हजार तीन सय जोर लगायत स्वास्थ्य सामग्री सहयोग स्वरुप प्राप्त भएका छन् ।

स्वास्थ्य सेवा विभागबाट प्राप्त जानकारीअनुसार चीन सरकारबाट २ हजार थान अक्सिजन सिलिन्डर, तिब्बत सरकारबाट ५० थान लिक्वीड अक्सिजन प्राप्त भएको छ ।

स्पेन सरकारबाट १५ भेन्टिलेटर, १० अक्सिजन कन्सन्ट्रेटर र एक लाख २४ हजार एन्टीजेन किटलगायतका सामग्रीहरू उपलब्ध भएको छ ।

स्वीट्जरल्याण्डबाट ११ लाख एन्टीजेन किट, ४० भेन्टिलेटर र १० अक्सिजन कन्सन्टेटर लगायतका अन्य स्वास्थ्य सामाग्री, बगंलादेशबाट रेम्डिसिभर औषधि प्राप्त भएको छ ।

सिंगापुरबाट २० भेन्टिलेटर र पीसीआर किट एक लाख २४ हजार लगायतका अन्य स्वास्थ्य सामग्री प्राप्त भएको छ ।

अमेरिकाबाट ५ लाख एन्टीजेन किट, पीपीईलगायत स्वास्थ्य सामग्री प्राप्त भएको छ ।

स्वास्थ्य मन्त्रालयले कोभिड महामारी नियन्त्रणका लागि गत आर्थिक वर्षमा पाँच अर्ब १७ करोड ७२ लाख ८३ हजार खर्च गरिसकेको छ ।

स्वास्थ्य उपकरण, कोभिड उपचार, खोप खरिद, मास्क, पीपीई, आइसीयू बेड, स्वास्थ्यकर्मीलाई जोखिम भत्ता, नि:शुल्क कोभिड रीक्षण तथा कोभिड १९ महामारी नियन्त्रणमा उक्त रकम खर्च गरेको हा यस वर्षको खर्च विवरण भने आउन बाकी रहेको छ ।

प्रकाशित मिति : ५ असार २०७८, शनिबार  २ : ४२ बजे

एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले खर्बपति व्यवसायी तथा सामाजिक

क्षेप्यास्त्र प्रहारको सन्देश बुझ्न अमेरिकालाई रूसको चेतावनी

मस्को – रूसले युक्रेनमा आणविक हतियार बोक्न सक्ने क्षेप्यास्त्र प्रहार

बिआरआईमा अनुदान मात्र स्वीकार्यः विमलेन्द्र निधि

जनकपुर – नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बिआरआई अनुदानका रूपमा

भयरहित वातावरणमा निर्वाचन गराउन गृहमन्त्रीको निर्देशन

काठमाडौं – गृहमन्त्री रमेश लेखक आसन्न स्थानीय तहको उपनिर्वाचन स्वच्छ,