प्रधानमन्त्रीका रूपमा देउवाको दायित्व « Khabarhub

प्रधानमन्त्रीका रूपमा देउवाको दायित्व


२९ असार २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा सर्वोच्च अदालतको संवैधानिक इजलासले परमादेश जारी गरेको विशेष परिस्थितिमा मुलुकको प्रधानमन्त्री पदको जिम्मेवारीमा पुगेका छन् । अदालतको आदेशबाट प्रधानमन्त्री नियुक्त भएको यो सामान्य परिस्थिति होइन । जाँदाजाँदै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘विशेष सम्बोधन’ मा प्रकट गरेको विचारले पनि प्रधानमन्त्रीका रूपमा देउवाका दिन सहज हुने छैनन् भन्ने संकेत गरेको छ ।

राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गरेको जानकारी दिने विज्ञप्तिमा संविधानको धाराको साटो ‘श्री सर्वोच्च अदालत, संवैधानिक इजलासको मिति २०७८/३/२८ को फैसला बमोजिम’ देउवालाई प्रधानमन्त्री पदमा नियुक्त गरेको भन्ने उल्लेख हुनु प्रधानमन्त्रीका रूपमा देउवाका दिन सहज हुने छैनन् र राष्ट्रपतिबाट सहज सहयोग हुनेछैन भन्ने संकेत हो ।

देउवाले १४९ जनाको समर्थन रहेको दाबी गरेका भए पनि नेकपा एमालेमा विकसित हुँदै जाने परिस्थितिले देउवा सरकारको भविष्य निर्धारण गर्नेछ । देउवालाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने एमाले नेता माधवकुमार नेपालले लिने रणनीति देउवा सरकारको भविष्यको मूल आधार हुनेछ । संविधानको धारा ७६(५) विरलै प्रयोग हुने विशेष र संवेदनशील अवस्था हो । यस्तो अवस्थामा देउवाको नेतृत्व कौशलको पनि महत्व हुनेछ ।

जुनसुकै कारणले भए पनि देउवाले प्रतिनिधिसभाको विश्वास प्राप्त गर्न सकेनन् भने अन्ततः मुलुक निर्वाचनमा जानेछ । यसको विकल्प हुनेछैन । राजनीतिकरूपले निर्वाचनमा जानु सत्तारूढ दल नेपाली कांग्रेसलाई पनि उचित लाग्न सक्छ तर प्रतिनिधिसभा दोस्रो पटक पुनर्स्थापना हुनु र देउवा प्रधानमन्त्री नियुक्त हुनुको मर्म आउँदो सात महिनाभित्र निर्वाचन गराउनु होइन । यसले अन्ततः प्रतिनिधिसभालाई असफल प्रमाणित गर्नेछ र धारा ७६(५) को औचित्यमाथि पनि प्रश्न उठ्नेछ ।

पहिलो पटक पुनर्स्थापित भएपछि प्रतिनिधिसभाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन सक्नुपर्थ्यो । यसमा प्रतिनिधिसभा पुनर्स्थापना पक्षका दलहरू असफल भएकै हुन् । यसले ताजा जनादेश नै उपयुक्त थियो भन्ने राजनीतिक सन्देश दिएकै हो । अर्को प्रधानमन्त्री दिन नसकेको परिणाम स्वरूप ओली ठूलो दलको नेताको हैसियतमा फेरि प्रधानमन्त्री पदमा नियुक्त भए । यो घटनाले देशमा ओलीको विकल्प छैन भन्ने सन्देश दियो । यसैको परिणाम थियो दोस्रो पटकको विघटन ।

देशको कार्यकारी प्रमुखका रूपमा दैनिक शासन/प्रशासन चलाउनु त छँदैछ, यससँगै प्रतिनिधिसभाको बाँकी अवधि पूरा गराउनु देउवाको प्रमुख दायित्व हुनेछ । प्रधानमन्त्रीका रूपमा उनको सबैभन्दा ठूलो सफलता पनि यही हुनेछ । ओलीले प्रधानमन्त्री पदबाट संविधानमाथि थिचोमिचो गरेका थिए, संविधानको हुर्मत लिएका थिए ।

आफ्नो कार्यकालमा संविधान प्रयोगको असल संस्कार बसाउने दायित्व देउवाको हुनेछ ।

यो सत्ता परिवर्तन एक प्रधानमन्त्रीको सट्टा अर्को प्रधानमन्त्री मात्रै होइन । यो एक ऐतिहासिक र दूरगामी महत्वको फैसलापछिको परिणाम हो । उक्त फैसला संविधानको व्याख्याका हिसाबले मात्रै होइन राजनीतिक रूपले पनि सर्वथा उचित थियो भन्ने सिद्ध गर्नु देउवाको सफलताको कसी हुनेछ । प्रधानमन्त्रीका रूपमा देउवाले र सत्तारूढ दलको रूपमा नेपाली कांग्रेसले लोकतन्त्र र संवैधानिक सर्वोच्चताको महत्ता स्थापित गर्ने ठूलो अवसर पनि हो ।

प्रधानमन्त्रीका रूपमा देउवाको बाटो राजनीतिक र आर्थिकरूपले निकै कष्टपूर्ण हुनेछ । विपक्षी नेताका रूपमा उनले पूर्वप्रधानमन्त्री ओलीको प्रतिशोध र जालझेल पनि सामना गर्नुपर्नेछ । यो निकै कठिन हुनेछ भन्ने संकेत ओलीले दिएर गएका छन् । यसको कुशलतापूर्वक सामना गरेर अघि बढ्नु उनका लागि लागि कम चुनौतीपूर्ण हुनेछैन । कोरोना भाइरस संक्रमणले थुपार्दै गएका समस्यासँग पनि कुशलतापूर्वक जुध्नु पर्नेछ ।

चार पटक प्रधानमन्त्री भएका र निकै कठिन परिस्थितिको सामना गरेका देउवा छलछामबाट होइन, राजनीतिक कुशलताबाट सबै किसिमका चुनौती सामना गर्दै अघि बढ्नु पर्नेछ र निर्वाचन मार्फत राजनीतिको सहज अवतरण गराउनुपर्नेछ । देउवा प्रधानमन्त्रीका रूपमा विकृति र विसङ्गतिका पर्याय बनेका छन् । यसलाई उनका विपक्षीले उनीविरुद्धको बलियो हतियार बनाउनेछन् । आफ्नो यस्तो विगत सच्याउने र राजनेताका रूपमा स्थापित हुने अपूर्व अवसर देउवालाई प्राप्त भएको छ ।

र, प्रधानमन्त्री देउवाले संविधानको धारा ७६(५) मार्फत कांग्रेसले निर्दलीयताको अभ्यास गरेको भन्ने आरोप व्यावहारिक रूपमा खण्डन गर्नुपर्नेछ ।

नवनियुक्त प्रधानमन्त्री देउवालाई हार्दिक बधाई र कार्यकालको सफलताको शुभकामना !

प्रकाशित मिति : २९ असार २०७८, मंगलबार  १० : १२ बजे

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

दमौली– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाका

लागूऔषध गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ

धरान– धरान उपमहानगरपालिका-१३ स्थित कोशी लोकमार्गबाट प्रहरीले ५९ किलो प्रतिबन्धित

सांसद एवं उच्च सरकारी अधिकारीलाई सम्मान

काठमाडौं– कान्तिपुर सिटी कलेज (केसिसी)ले सांसद तथा उच्च सरकारी ओहदामा

पर्यटकीयस्थल घोडेपानी जोड्ने सडक श्रमदानबाट मर्मत

म्याग्दी– स्थानीयले श्रमदान गरेर म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ मा रहेको पर्यटकीयस्थल

ठमेलको एलओडी विश्वका उत्कृष्ट डिजे क्लबको ४०औं स्थानमा

काठमाडौं– ठमेलस्थित एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट