काठमाडौँ– चाङ्गन अटोग्रुपले नेपाली बजारमा प्रवेश गर्ने औपचारिक निर्णय गरेको छ । नेपालस्थित एमएडव्लु वृद्धि अटोकर्पसँग व्यापारिक साझेदारीमा यस चीनिया कम्पनीले नेपालमा आफ्नो उत्पादनहरूको विक्रीवितरण गर्नेछ ।
सन् २०२१ मा चाङ्गन ब्राण्डका प्यासेन्जर गाडीहरू चीनमा सबैभन्दा बढी विक्री हुन सफल भएको थियो । त्यसैगरी सन् २०२० मा यस ब्राण्डका २० लाख वटा गाडीहरू विश्वका ६० मुलुकहरूमा विक्री भएको थियो । चीनमा विक्री र त्यहाँबाट निर्यात हुने अधिकांश फोर्ड र माज्दा गाडीहरू चाङ्गन अटोग्रुपले उत्पादन गर्दछ ।
एमएडव्लु स्कोडा, जीप, जेसिबी, यामाहा, फोटोन र एमएएन जस्ता अन्तर्राष्ट्रिय अटोमोबाइल ब्राण्डहरूको नेपालस्थित एकमात्र आधिकारिक विक्रेता हो । यो अटोमोबाइल क्षेत्रमा काम गर्ने देशकै दोस्रो ठुलो कम्पनी पनि हो ।
सेडान, पिकअप, एसयुभी र इभीको साथसाथै अवार्ड विनिङ्ग युनिआइ श्रेणीका ब्राण्डहरू उत्पादनकर्ता चाङ्गनले नेपाली बजारमा आफ्नो एक बेग्लै छवि बनाउन सफल हुनेमा एमएडव्लुका अध्यक्ष विष्णु अग्रवालको विश्वास छ ।
उनका अनुसार भविष्यमुखी बनावट र नविन प्रविधिले सम्पन्न चाङ्गन ब्राण्डले समग्र नेपाली अटोमोबाइल उद्योगलाई नयाँ गति दिन सहयोग गर्नेछ, साथै एमएडव्लु चाङ्गन गाडीको ग्राहकहरूको लागि उत्कृष्ट भन्दा उत्कृष्ट सेवा, सुबिधा प्रदान गर्न प्रतिबद्ध छ ।
यसैगरी चाङ्गन अटोग्रुपका उप महाप्रबन्धक देङ्गले एमएडव्लुसँग साझेदारी गर्दै नेपाली बजारमा अन्तर्राष्ट्रियस्तरको उत्पादन ल्याउन पाउँदा आफूहरू अत्यन्तै खुसी भएको बताएका छन् । यो देशकै दोस्रो ठुलो अटोमोटिभ ग्रुपले आफ्नो ग्राहक केन्द्रित विक्री सेवाको लागि ख्याति कमाएको छ, साथै यस सहकार्य मार्फत चाङ्गन ब्राण्ड आफ्नो सर्वोत्कृष्ट उत्पादन मार्फत ग्राहकवर्गको बदलिँदो आवश्यकता र चाहनाहरूलाई परिपूर्ति गर्ने तर्फ उन्मुख रहेको पनि उनको दावी छ ।
पहिलो चरणमा सेडान, पिकअप र एसयुभी तथा दोस्रो चरणमा विभिन्न विद्युतिय गाडीहरू नेपालमा विक्रीवितरण गर्ने योजना चाङ्गन अटोग्रुपको छ ।
प्रतिक्रिया