सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले समाजमा दया, करुणा तथा सद्भाव कायम गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने बताएका छन् । कैलालीको धनगढीमा आयोजित आज ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय एवं राजयोग प्रशिक्षण केन्द्र धनगढीको ३५औँ वार्षिकोत्सव समारोहमा उनले समाजलाई सकारात्मक दिशामा अघि बढाउन नयाँ दर्शन, विचार र सदाचारको विकास गर्नुपर्ने आवश्यकता औँल्याए ।
मुख्यमन्त्री भट्टले विश्वमा बढ्दै गएको द्वन्द्व, अशान्ति र विभिन्न अभावका बीच शान्तिको कामना भइरहेको र यसमा ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय तथा ओमशान्ति परिवारले महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेको भन्दै प्रसंशा गरे । उनले समाज रूपान्तरण, शान्ति, सदाचार र सामाजिक सद्भावका लागि यस संस्थाले पुर्याउँदै आएको योगदानबाट अरुले पनि शिक्षा लिनुपर्ने बताए ।
“समाजमा सकारात्मक सोच, नैतिक मूल्य, आध्यात्मिक चेतना र आपसी सद्भावको विकास गर्दै समुन्नत समाज निर्माणमा सबैले आ–आफ्नो क्षेत्रबाट योगदान गरौँ”, मुख्यमन्त्री भट्टले भने, “सरकार, सरोकार भएका निकाय र धार्मिक तथा आध्यात्मिक संस्थाले आफ्नो दायित्व निर्वाह गरे समाज विकासमा सकारात्मक टेवा पुग्नेछ ।” उनले प्रदेश सरकारले स्थानीय आवश्यकता र नागरिकका अपेक्षाअनुसार विकास र समृद्धिका लागि विभिन्न क्षेत्रमा काम गरिरहेको बताए ।
मुख्यमन्त्री भट्टले सुदूरपश्चिमलाई अझ सबल, सक्षम र अनुकरणीय बनाउन सबै क्षेत्र, संस्था तथा नागरिकको साथ र सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रले समाजमा बढ्दै गएको बेचैनी, अशान्ति र असहिष्णु प्रवृत्तिलाई आध्यात्मिक जागरणका माध्यमबाट निरुत्साहित गर्न सकिने बताए । यस कार्यमा ब्रह्मकुमारी इश्वरीय विश्वविद्यालयलगायत धार्मिक तथा आध्यात्मिक संस्थाको भूमिका महत्त्वपूर्ण हुने धारणा राखे ।














प्रतिक्रिया