मोबाइल फोनको लतले एक्लिदै बालबालिका « Khabarhub

मोबाइल फोनको लतले एक्लिदै बालबालिका


२६ श्रावण २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– ७ का दिपेन पुन निद्राबाट बिउझिँने बित्तिकै टेबुलमाथिको मोबाइल हातमा लिन्छन् । मोबाइलको स्क्रिन हेरेर उनको दैनिकी शुरु हुन्छ । कक्षा ६ मा पढ्ने १२ वर्षीय पुनले मोबाइलमा के हेर्छन् त्यो त परिवारलाई पत्तो हुँदैन । उनले मोबाइल नपाउञ्जेलसम्म रिसाउने, झर्किने र खानै नखाइदिने गर्छन् । जसले गर्दा उनको परिवार पनि तनावमा रहनुपर्छ ।

अनलाइन क्लासको बहानामा बालबालिका एक्लिदै गएका र उनीहरुको आनिबानीमा नकारात्मक परिवर्तन देखा पर्न थालेपछि अभिभावक चिन्तित बनेका छन् ।

“अहिले अनलाइन क्लासका नाममा मोबाइल, ल्यापटप र कम्प्युटरमा बालबालिका व्यस्त हुने गरेका छन्, न बोलाएको सुन्छन्, न समयमा खाना खान्छन्, अनलाइन क्लासमा पनि ज्वाइन नभएको भनेर विद्यालयबाट अभिभावकलाई फोन आइरहन्छ”, बेनी मङ्गलाघाटका अभिभावक तिलबहादुर पुनले भने । “बिहान उठ्नसाथ मोबाइल नहेरी अरु कुनै काम गर्न मान्दैनन्”, बेनी नगरपालिका– ४ सिगाका अभिभावक मोहन पौडेलले भने, “न बाबाआमा, न साथी सङ्गती, मोबाइल पाएपछि अरु कोही पनि चाहिदैन, यस्तो पाराले त कसरी बनाउँछन् खै आजभोलिका बालबालिकाले राम्रो भविष्य ?”

पौडेलको जस्तै चिन्ताले अहिले अधिकांश अभिभावक पिरोलिएका छन् । अनलाइन कक्षाको नाममा बिहान उठेदेखि राति ११/१२ बजेसम्म बालबालिका मोबाइल र ल्यापटपमा घोप्टिने गर्न थालेपछि अभिभावकले आ–आफ्ना बालबालिकाप्रति निगरानी त बढाउन थालेका छन् तर परिणाम भने झन विपरीत प्राप्त भइरहेको अभिभावकको गुनासो रहने गरेको छ ।

“बिहानदेखि रातिसम्म नै मोबाइलमा व्यस्त हुन थालेपछि मैले तीन दिनसम्म बच्चाको निगरानी गरेँ, अनलाइन क्लासमा ज्वाइन नै नभइ, पब्जी र अरु नानाभाँतिका खेल पो हेर्दोरहेछ”, बेनीका अभिाभवक सुमन सापकोटाले भने, “त्यसपछि सम्भाइबुझाइ गर्दा उल्टै खानै खान मानेन, रिसाउने,झर्किने पो गर्न थाल्यो ।”

म्याग्दीका प्रायः सबै अभिभावक मोबाइल फोन र इन्टरनेटले आफ्ना छोराछोरी कस्तो बाटोमा लाग्ने हुन् भन्ने कुराले चिन्तित छन् । कोरोना सङ्क्रमणका कारण भौतिकरुपमा उपस्थित भई विद्यालयमा पठनपाठन गर्ने वातावरण नभएपछि विद्यालयले अनलाइन क्लास सञ्चालन गर्ने गरेका छन् । तर, अधिकांश बालबालिकालाई अनलाइन क्लास मोबाइल खेलाउन पाइने गतिलो बहाना बनेको छ ।

शुरु शुरुमा बालबालिकालाई भुलाउन मोबाइल दिने गरेका अभिभावक पनि मोबाइलबिना अहिले बस्नै नसक्ने भएपछि तनाबमा छन् । पछिल्लो समय अभिभावकको मनमा एउटै मात्रै प्रश्न उठ्न थालेको छ–बच्चालाई मोबाइलको लतबाट कसरी छुटकारा दिलाउने?

ज्यामरुककोटकी लक्ष्मी सुवेदीले छोरी सानो छँदा घरधन्दा भ्याउनुपर्ने अवस्था भएकाले मोबाइल खेलाउन दिएर भुलाउने गर्थे । विस्तारै विस्तारै छोरीलाई मोबाइल खेलाउने बानी भयो । अहिले मोबाइल भएपछि आमाबुबा, साथीभाई नै भुल्ने र कोठाबाट बाहिर निस्कन नमान्ने जस्ता क्रियाकलाप गर्न थालेपछि आफू आजित बनेको लक्ष्मीले सुनाइन ।

बालबालिकामा विकसित हुँदै गएको एकलकाँटे प्रवृत्तिको असर दीर्घकालसम्म पर्ने भएकोले यसतर्फ अभिभावक सचेत रहनुपर्ने समाजशास्त्री तथा बाल मनोविज्ञानका जानकारको राय रहेको छ । पछिल्लो समय अभिभावकको व्यस्त जीवनशैली र प्रविधि प्रयोगका कारण बालबालिका समाजमा घुलमिल हुन नचाहने, एकान्तमा बस्न रुचाउने जस्ता आनीबानी बढ्न थालेको बालरोग चिकित्सक डा मीना शाक्यले बताए ।

मोबाइल फोन भेटेपछि घण्टौंसम्म एक्लै बस्ने, कोसँग कस्तो व्यवहार गर्ने, कसरी बोल्ने जस्ता संस्कार बालबालिकामा हराउँदै गएको अभिभावकको गुनासो छ । रासस

प्रकाशित मिति : २६ श्रावण २०७८, मंगलबार  ४ : ०३ बजे

झापामा आज रातिदेखि मतगणना सुरु हुँदै

झापा– प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरू संकलन

काठमाडौंका यी स्थानमा हुँदैछ मतगणना

काठमाडौं– प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको

झण्डै ६० प्रतिशत मत खस्यो : आयोग 

काठमाडौं– काठमाडौं आज भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा देशैभरी झण्डै ६०

आयोगको औपचारिक घोषणा : प्रतिनिधि सभा निर्वाचनमा ६० प्रतिशत मत खस्यो

काठमाडौं – निर्वाचन आयोगले बिहीबार भएको प्रतिनिधि सभाको निर्वाचनमा करिब

सामाजिक सञ्जालमा प्रधानमन्त्री कार्कीलाई बधाईको ओइरो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीलाई सामाजिक सञ्जालमा बधाईको ओइरो आएको छ