अन्योलमा जनगणना २०७८, जिल्लाका कार्यालयमा काम ठप्प « Khabarhub

अन्योलमा जनगणना २०७८, जिल्लाका कार्यालयमा काम ठप्प


२८ श्रावण २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- असार पहिलो हप्तामै सक्ने गरी तयारी गरिएको राष्ट्रिय जनगणनाको काम नयाँ भेरियन्टसहितको कोरोना जोखिमका कारण रोकिएपछि फेरि कहिले हुने भन्ने अन्योल कायम छ ।

गत वैशाख १६ गतेदेखि नयाँ भेरियन्टसहितको कोरोनाबाट बच्न निषेधाज्ञा जारी गरिएपछि वैशाख १९ गतेको मन्त्रिपरिषद् बैठकले जनगणना स्थगन गर्ने निर्णय गरेको थियो ।

राष्ट्रिय योजना आयोगअन्तर्गतको केन्द्रीय तथ्याङ्क विभागले जनगणनाको तयारीस्वरूप आठ हजार ५०० सुपरिवेक्षकलाई तालिमसमेत दिइसकेको छ । जनगणनाका लागि ७७ जिल्लाका ८७ कार्यालयमा सामानसमेत पुर्‍याइएको छ ।

विभागको ३३ जिल्लामा कार्यालय छ । अरु केही जिल्लाका कार्यालय सरकारी भवनमा सञ्चालन गरिए पनि धेरै जिल्लामा कार्यालयका भाडा तिर्न बाध्य हुनुपरेको छ । कार्यालय बन्द गर्दा सामान कहाँ राख्ने भन्ने समस्या छ ।

असारसम्मका लागि लिइएको जिल्ला जिल्लाका जनगणना कार्यालयको म्याद असोजसम्म थपिए पनि काम हुने नहुने भन्ने निश्चित नभएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।

जनगणनाको काम फेरि शुरु गर्न मन्त्रिपरिषद्ले नै निर्णय गर्नुपर्छ । जनगणनाका लागि सुपरिवेक्षक छनोट गरी ३९ हजार गणक छान्ने प्रक्रिया शुरु भएको थियो । गणकका लागि डेढ लाखले आवेदन दिएका छन् ।

सुपरिवेक्षक र गणकका लागि दुई महिनाको तलब दिने गरी आवेदन माग गरिएको थियो । विसं १९६८ देखि शुरु भएको जनगणनाका क्रममा यसपटक आवेदन नै आह्वान गरेर जनशक्ति व्यवस्थापन गरिएको हो ।

यसअघि सामुदायिक विद्यालयका शिक्षकलगायत सरकारी कर्मचारीबाट जनगणना गरिन्थ्यो । सुपरिवेक्षकका लागि स्नातक तह उत्तीर्ण र गणकका लागि प्रवीणता प्रमाणपत्र तह उत्तीर्णले आवेदन दिन पाउने गरी जनशक्ति माग गरिएको थियो ।

मन्त्रिपरिषद्ले जनगणना सार्ने वा गर्नेमध्ये निर्णय नगर्दा कार्यालय र कर्मचारी भए पनि काम अघि बढ्न सकेको छैन । असारदेखि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर अरु सेवा सुरु भए पनि जनगणना भने रोकिएको छ ।

यसपटक वडा तहसम्मको तथ्याङ्क लिने गरी जनगणनाको तयारी भएको छ । जनगणनालाई सहयोग गर्न वडाध्यक्षको अध्यक्षतामा वडा सहजीकरण समिति गठन गरिएको छ ।

स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा स्थानीय तह समन्वय समिति, जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा जिल्ला समन्वय संयन्त्रको व्यवस्था गरिएको छ । जिल्ला समन्वय संयन्त्रमा स्थानीय तहका प्रमुख, उपप्रमुखको प्रतिनिधित्व रहेको छ ।

विसं १९६८ देखि १०/१० वर्षमा हुँदै आएको जनगणना २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि २००८ सालमा हुन सकेन । विसं २००९ मा महोत्तरी पूर्व र २०११ सालमा महोत्तरी पश्चिम गरेर दुई चरणमा जनगणना गरिएको थियो । त्यसबेला दुई चरणमा जनगणना गरिए पनि अहिले त्यसो गर्न नसकिने निर्देशक लामिछाने बताउँछन् ।

नेपालमा भएको जनगणनाले अन्तर्राष्ट्रियस्तरमा तुलनायोग्य भनी मान्यता पाएको पनि विसं २०११ देखि नै हो ।

प्रकाशित मिति : २८ श्रावण २०७८, बिहीबार  १० : २५ बजे

महिला क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले दिए राजीनामा

काठमाडौं – नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मनोज कटुवालले

सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली – जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था

५६ वर्षमा डिग्री गरेका सुजयराजको अनुभव : पढाउनेले झन् धेरै पढ्नु पर्छ

काठमाडौं– उमेरले होइन, इच्छाशक्तिले मानिसलाई सफलताको शिखरसम्म पुर्‍याउँछ । बुढ्यौली

दश घण्टापछि कुमार बेनको घरबाट बाहिरिए बालेन

ललितपुर– काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ललितपुर तरेको १० घण्टापछि