एजेन्सी- कप्तान क्रिस्टियानो रोनाल्डोले सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान बनाएको खेलमा पोर्चुगलले रिपब्लिक अफ आयरल्यान्डलाई २-१ ले पराजित गरेको छ ।
रोनाल्डोले पहिलो हाफमा पेनाल्टी चुकाए पनि खेलको अन्त्यतिर लगातार दुई गोल गर्दै पोर्चुगललाई जित दिलाए ।
इन्ज्युरी समयमा विजयी गोल गर्दै रोनाल्डोले टोलीलाई जित दिलाउन सफल रहे ।
खेलको १५औँ मिनेटमा रोनाल्डोले पेनाल्टीमा अग्रता दिलाउने अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । रोनाल्डोको प्रहार गोलरक्षक ग्याभिन बाजुनुले विफल पारेका थिए ।
पहिलो हाफको अन्तिम मिनेटमा पाहुना टोली आयरल्यान्डले अग्रता लियो । उसका लागि जोन इगनले कर्नरमा हेडरमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए ।
८७औं मिनेटमा रोनाल्डोले प्रहार गरेको फ्रिकिकलाई गोलरक्षक बाजुन्जुले उत्कृष्ट बचाउ गरे पनि लगत्तैको कर्नरमा रोनाल्डोले हेडरमार्फत गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए ।
इन्ज्युरी समयको छैटौं मिनेटमा रोनाल्डोले पोर्चुगलका लागि विजयी गोल गरे । जोआओ मारियोको क्रसलाई सदुपयोग गर्दै रोनाल्डोले गरेको हेडर गोलरक्षक बाजुनुले बचाउन सकेनन् ।
दुई गोल गरेर पोर्चुगललाई जित दिलाएका रोनाल्डो अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडी पनि बने । पोर्चुगलका लागि उनको १ सय ११औँ गोल थियो । यसअघि इरानका अली दाइको नाममा रहेको १ सय ९ गोलको कीर्तिमानलाई तोड्दै यो उपलब्धि रोनाल्डोले आफ्नो नाम गरेका हुन् ।
खेलअघि रोनाल्डोलाई युरोपेली च्याम्पियनसिप २०२० को सर्वाधिक गोलकर्ताको ट्रफी पनि प्रदान गरिएको थियो । रोनाल्डोले युरोका दौरान पोर्चुगलका लागि ५ गोल गरेका थिए ।
प्रतिक्रिया