जहाँ विद्यार्थीहरूले नै निर्माण गर्छन् देवी सरस्वतीका मूर्ति…! « Khabarhub

जहाँ विद्यार्थीहरूले नै निर्माण गर्छन् देवी सरस्वतीका मूर्ति…!


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिरहा– विद्याकी देवी सरस्वतीको पूजा देशभर धुमधामका साथ गरिन्छ । अझ् विद्यार्थीहरूले उत्सवका रूपमा नै सरस्वतीको पूजा गर्छन् । तराई–मधेसमा पनि सबै जसो विद्यालयमा सरस्वती पूजाको आयोजन गरिन्छ । पूजा भव्य रूपमा गर्न शिक्षक तथा विद्यार्थीहरू केही दिन अघिदेखि नै तयारीमा जुट्छन् ।

सरस्वतीको स्थायी प्रतिमासहितको मन्दिर नभएका स्थानमा विद्यार्थीहरूको पहिलो काम माटोको कलात्मक मूर्तिको जोहो गर्नु नै रहेको हुन्छ । यसका लागि व्यावसायिक मूर्तिकारहरूबाट मूर्ति खरिद गरेर ल्याउने गरिन्छ । अनि भव्य तरिकाले विद्यार्थीहरूले उत्सव मनाउँछन् ।

यसबेला माटो, काठ, बाँस र परालबाट निर्मित देवी सरस्वतीको मूर्तिको माग पनि ह्वातै बढेको हुन्छ । मूर्तिकारहरूलाई पनि माग पूरा गर्न भ्याइ नभ्याइ हुन्छ । तर, सिरहामा एउटा यस्तो पनि विद्यालय छ, जहाँका विद्यार्थीहरूले आफै मूर्ति बनाउँछन् । मिर्चैया नगरपालिका–५ स्थित न्यू चिल्ड्रेन बोर्डिङ स्कूलका विद्यार्थीहरू सरस्वती पूजाका लागि आफै मूर्ति निर्माणमा जुट्छन् ।

माटो मुछने, माटो–बाँस र परालको समायोजनमा मूर्तिलाई आकार दिने, रंगरोगन गर्ने, श्रृंगार गर्नेलगायतका सम्पूर्ण काम विद्यार्थीहरूले नै गर्छन् । यो काममा मूर्ति निर्माणमा रुचि भएका सबै कक्षाका विद्यार्थीहरू सक्रिय हुन्छन् । उनीहरू श्रीपञ्चमीभन्दा दुई साताअघि नै निर्माण कार्यमा जुट्छन् । मूर्ति निर्माणको नेतृत्व कक्षा ११ का विद्यार्थी आनन्द साहले गर्दै आएका छन् ।

‘मलाई कागजमा विभिन्न किसिमका चित्रहरू कोर्ने कलामा सानैदेखि रुचि थियो । त्यसैले माटोको पनि मूर्ति किन नबनाउने भनेर साथीहरूसँग सल्लाह गरी गत वर्षदेखि स्कूलमै हामीले सरस्वतीको मूर्ति बनाउन थाल्यौँ । अघिल्लो वर्ष म यो विद्यालयमा कक्षा १० को विद्यार्थी थिएँ । अहिले म यहाँ नपढे पनि विद्यार्थीहरूलाई सहयोग गर्न यस वर्ष पनि आएको छु ।’

विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण साहले भने, ‘कलामा रुचि भएका विद्यार्थीहरूको व्यावहारिक ज्ञान बढोस् भन्ने उद्देश्यले मैले हौसला प्रदान गर्दै आएको छु । अन्य विद्यालयहरूले पनि यसको अनुसरण गरोस् भन्ने मेरो चाहना छ ।’

तराई–मधेसमा व्यावसायिक मूर्तिकारहरूले तीन हजारदेखि २० हजार रुपैयाँसम्ममा मूर्तिहरू बिक्री गर्दै आएका छन् । विद्यार्थी आनन्द साहले भने, ‘हामी आफैले मूर्ति निर्माण गर्दा देवी सरस्वतीप्रतिको अपनत्व र स्नेह बढ्नुका साथै खर्च पनि कम हुन्छ । बजारको भन्दा आधा खर्चमा आकर्षक मूर्ति हामीहरूले आफै बनाइरहेका छौँ ।’

विद्यार्थी साह अहिले मिर्चैयाकै सगरमाथा उच्च माध्यमिक विद्यालयमा अध्ययनरत छन् । उनले यस वर्षबाट त्यहाँ पनि सरस्वतीको मूर्ति निर्माणको थालनी गरेका छन् । साहले भने, ‘सगरमाथा स्कूलमा पनि यहाँका विद्यार्थी र न्यू चिल्ड्रेन स्कूलका विद्यार्थीहरूलाई ल्याएर यसपटक मूर्ति निर्माण गरेका छौँ ।’

सगरमाथा स्कूलका प्रधानाध्यापक प्रदीप तिवारीले भने, ‘ज्ञान, सिप र प्रविधिलाई सँगसँगै लैजान सके मात्र गुणस्तरीय जनशक्ति उत्पादन हुन सक्ने नेपाल सरकारको अवधारणा रहेको छ । यही अवधारणाअनुसार विद्यार्थीहरूले ज्ञानलाई सिपमा रूपान्तरण गरेको यो एउटा उदाहरण हो । कला मात्र होइन सबै किसिमका किताबी ज्ञानलाई सिपमा परिणत गर्नु आजको आवश्यकता हो ।’

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ४ : १४ बजे

स्वरोजगार प्रवर्द्धनका लागि २० उद्यमीलाई ल्यापटप वितरण

फिक्कल– स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारतर्फ प्रेरित गर्ने उद्देश्यले

चार महिनापछि खुल्यो लहान नगरपालिकाको बैंक खाता

सिरहा– विगत चार महिनादेखि रोक्का रहेको लहान नगरपालिकाको बैंक खाता

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डमा धमाधम काम हुँदै

गण्डकी– आगामी असारसम्ममा निर्माण सक्ने लक्ष्यसहित पोखरा–मुग्लिन सडकको पश्चिम खण्डको

वनमा आगो लगाएको कसुरमा अदालतमा मुद्दा दायर

त्रिशूली– सामुदायिक वनमा आगो लगाएको अभियोगमा डिभिजन वन कार्यालयले बिहीबार

आईपीएल: अन्तिम बलमा कोलकाता पराजित, लखनउको रोमाञ्चक जित

कोलकाता– इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को १५औँ खेलमा लखनऊ