विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने दिनभरका अन्तर्राष्ट्रिय घटनाक्रम


२२ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज फागुन २२, २०७८ या अंग्रेजी क्यालेन्डर अनुसार मार्च ६, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

बेलायतस्थित नेपाली रेष्टुरेन्टमा अवैध कामदार भेटिए लाइसेन्स खारेज हुने

बेलायतको लिंकनशायरमा सञ्चालित एक नेपाली रेष्टुरेन्टबाट प्रहरी र अध्यागमन अधिकारीहरूले दुई अबैध कामदार फेला पारेको छ । ग्रान्थमस्थित द जर्ज सपिङ सेन्टरमा रहेको नेपाली रेष्टुरेन्ट फ्युजन बुफेमा जनवरीमा प्रहरी र अध्यागमनका अधिकारीहरुले छापा मार्दा सो कुरा फेला पारेका हुन् ।

परिसरमा दुई अवैध कामदार फेला पारेपछि उक्त नेपाली रेस्टुरेन्टले आफ्नो इजाजतपत्र (लाइसेन्स) गुमाउन सक्ने प्रहरीले बताएको छ ।अधिकारीहरूले इशान आचार्यसहित तीन जना कामदारहरू फेला पारेका छन् । जसले पहिले आफ्नो भाइ मनिष आचार्यसँग मिलेर रेष्टुरेन्टमा साझेदारी गरेका थिए ।

त्यस्तै, उक्त रेष्टुरेन्टमा एक वेट्रेस पनि साझेदार थिइन् । उक्त रेष्टुरेन्टको शेफ उक्त वेटे«स महिलाको साथी थिए जसले गृह कार्यालयमा शरणको लागि आवेदन दिएका थिए।

वेट्रेस र शेफ दुबैलाई पहिले केही समयको लागि काममा राखिएको थियो । तर तिनीहरूको भिसाको म्याद सकिएको थियो, यसको मतलब तिनीहरूसँग युकेमा काम गर्ने अनुमति थिएन, न त तिनीहरूको भिसा आधारमा रेष्टुरेन्टमा काम गर्न अनुमति पनि थिएन ।

दक्षिण केस्टेभन जिल्ला काउन्सिलको इजाजतपत्र समितिको प्रतिवेदनमा मरिश आचार्यले अधिकारीहरूलाई आफूले लेखापाललाई कागजातहरू जाँच गर्न पठाएको तर उनले वेट्रेसको केही समयलाई मात्र मात्र अनुमति दिएको बताएका छन् ।

प्रहरीले आचार्यले सही कागजातहरू जाँच नगरेको र लाइसेन्स समीक्षा सुनुवाईमा आफ्नो चेकको प्रमाण उपलब्ध गराउन आह्वान गरिरहेको बताएको छ।

उनीहरूले दक्षिण केस्टेभेन जिल्ला काउन्सिलको इजाजतपत्र समितिलाई रेष्टुरेन्टको इजाजतपत्र रद्द गर्ने विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गरिरहेका छन् ।

आचार्यले फागुन २४ गते हुने विचार गर्नुपर्ने समीक्षा निवेदनको पक्षमा प्रतिनिधित्व गरेपनि काउन्सिलले उनको प्रतिवेदनलाई सार्वजनिक रूपमा हेर्नबाट छुट दिएको छ ।

आचार्यले फागुन २४ (बुधबार) हुने हुने सुनुवाइमा निवेदनको पक्षबाट प्रतिनिधित्व गरेका छन् । स्थानीय रिपोर्टिङ सेवाले थप सोधपुछको लागि आचार्यलाई सम्पर्क गरेको छ।

बेलायतको कानुनी अनुसार गैरकानूनी कामदारलाई काममा लगाउनु अपराध हो र रोजगारदाताले ठगी ऐन अन्तर्गत कारबाही भोग्नुका साथै कानून उल्लङ्घन गरेको पाइएमा राजस्व कार्यलयबाट कारबाही हुनेछ ।

युक्रेनले दुई रुसी लडाकु विमान खसाल्यो

युक्रेनी फौजले शनिबारमात्रै दुई रुसी लडाकु विमान खसालेको दाबी गरेको छ ।

उत्तरी शहर चेर्निभ बाहिर उडिरहेको रुसी लडाकु विमानलाई युक्रेनका ‘हवाई रक्षा विशेषज्ञ’ ले खसालेको युक्रेनी रक्षामन्त्रालयले जनाएको छ । रक्षामन्त्रालयले ट्वीट मार्फत् भिडियो सार्वजनिक गर्दै रुसी लडाकु विमान खसालिदिएको जनाएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएअनुसार घटनामा विमानका एक सहचालक ‘मेजर क्रिभोलापोभ’ को मृत्यु भएको छ । विमानका अर्का सहचालक ‘क्रास्नोयात्र्सेभ’ विमानबाट प्याराशुटमार्फत उम्केको जनाइएको छ । उनलाई युक्रेनी फौजले नियन्त्रणमा लिएका छन् ।

त्यस्तै, अर्को घटनामा युक्रेनी फौजले मुलुकको दक्षिणमा पर्ने मिकोलायेभ शहर नजिक अर्को रुसी लडाकु विमान खसालेको छ ।युक्रेनको नेक्स्टा टेलिभिजनले जनाएअनुसार यस घटनामा पनि एकजना रुसी विमानचालकलाई नियन्त्रणमा लिइएको छ ।

अमेरिकामा आँधी, ६ को मृत्यु

अमेरिकाको आयोवा राज्यमा आएको आँधीमा परी ६ जनाको मृत्यु भएको छ । राज्यको म्याडिसन काउन्टीमा शनिबार आएको आँधीका कारण उनीहरूको मृत्यु भएको हो ।

अमेरिकी सञ्चारमाध्यमहरूले आँधीमा परी मृत्यु हुनेमा चार वयस्क र दुई बालबालिका रहेको जनाएका छन् । आँधीबाट अरु चार जना घाइते भएको जनाइएको छ ।

‘मध्य आयोवाको लागि सबैभन्दा खराब समय समाप्त भएको छ । तुफानहरू पूर्वतिर सर्दै छन् ।’ राष्ट्रिय मौसम सेवा डे मोइनले ट्वीट गरेर जानकारी दिएको छ । आइतबारको क्षतिको राम्ररी अनुसन्धान गरिने बताइएको छ ।

यो आँधी स्थानीय समुदायको लागि धेरै विनाशकारी रहेको र उद्धार प्रयासहरू रातभर जारी रहने सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

आयोवाका गभर्नर किम रेनोल्ड्सले म्याडिसन काउन्टीको लागि प्रकोपको घोषणा गरेका छन् । यस घोषणाले राज्यका स्रोत साधनलाई आँधीपछिको अवस्था सुधार्नको लागि सहयोग र प्रयोगको अनुमति दिने बताइएको छ ।

युक्रेनको मारिउपोल शहरमा पुन : अस्थायी युद्धविराम

युक्रेनको मारिओपोल शहरमा पुनः अस्थायी युद्धविराम घोषणा गरिएको छ ।

मारिओपोल शहरमा स्थानीय समयअनुसार आइतवार बिहान १० बजेदेखि साँझ ९ बजेसम्मका लागि अस्थायी युद्ध विराम घोषणा गरिएको त्यहाँको सीटी काउन्सिलले जनाएको छ ।

यसअघि पनि यो सहरमा रुसी सेनाले युद्धविराम घोषणा गरेको थियो ।सर्वसाधारणलाई त्यहाँबाट सहज ढंगले अन्य क्षेत्रमा जान र अन्य मानवीय सहायकता लागि भन्दै रुसी सेनाले युद्धविराम घोषणा गरेको थियो ।

तर, रुसी सेनाले बम हमला र गोलाबारी गरेको विवरण सार्वजनिक भएको थियो ।

युक्रेनको गोप्य हतियार अत्याधुनिक ड्रोन

गएको ११ दिनदेखि युक्रेनमा रुसी आक्रमण जारी छ । युद्धमा दुबै पक्षले अत्याधुनिक हतियारको पनि प्रयोग गर्दै आएका छन् । रुसी पक्षले लक्षित निशानामा सटीक प्रहार गर्न सक्ने अत्याधुनिक क्षेप्यास्त्रको प्रयोग गरी हवाई मैदान, सैनिक पूर्वाधार र अन्य सैनिक पूर्वाधारहरूमा आक्रमण गरिरहेको दाबी गर्दै आएको छ ।

यद्यपि युक्रेनी पक्षले भने सार्वजनिक पूर्वाधार र आवसीय क्षेत्रमा पनि आक्रमण जारी रहेको बताउने गरेको छ । अहिले भने युक्रेनी पक्षले पनि अत्याधुनिक चालकरहित विमान ड्रोनको प्रयोग गरी रुसी निशानामा आक्रमण गरिरहेको खुलासा भएको छ । द टाइम्स अफ लण्डनले प्रकाशित गरेको समाचारअनुसार युक्रेनी फौजले ‘खेल नै परिवर्तन गर्ने’ नयाँ किसिमको ड्रोन प्रयोगमा ल्याएको हो ।

‘पनिशर’ नाम दिइएको यस किसिमको ड्रोन आकारमा पनि सानो रहेको र ३ किलोग्रामसम्म विष्फोटक बोकेर दुश्मनको मोर्चाभन्दा ३० माइल टाढासम्म मार हान्न सक्ने जनाइएको छ । युक्रेनी ड्रोन डिजाइन गर्ने कम्पनी ‘यूए– डाइनामिक्स’ का इन्जिनियर युजेन बुलात्सेभलाई उद्धृत गर्दै जनाइएअनुसार रुसी आक्रमण शुरु भएयता यो ड्रोनले ६० भन्दा धेरै ‘सफल कारवाही’ गरिसकेको छ ।

‘लामो दुरीसम्म मानवीय क्षति नहुनेगरी मार हान्ने यो सबैभन्दा सस्तो र सजिलो उपाय हो ।’ बुलात्सेभले उक्त समाचापत्रलाई बताएका छन् । यो विद्युतीय ड्रोनको पखेटा ७.५ फुट लामो रहेको र यसले १३ सय फिटको उचाइसम्म घण्टौं उडान भर्नसक्ने दाबी गरिएको छ । नियन्त्रण प्रणालीमा भौगोलिक अवस्थितिको तथ्यांक भरेमात्रै पुग्ने यो ड्रोनले उक्त क्षेत्रमा गई स्वचालित रुपमा आक्रमण गर्नसक्ने बताइएको छ ।

यो ड्रोनका साथमा ‘स्पेक्टर’ भन्ने अर्को जासुसी ड्रोन पनि उडाइने र जासुसी ड्रोनबाट प्राप्त लक्ष्यमाथि ‘पनिशर’ ड्रोनले आक्रमण गर्ने प्रणाली रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यो ड्रोनका प्राथमिक निशानाहरु इन्धन तथा गोलबारुद भण्डारण, विद्युतीय युद्धकेन्द्र, हवाई प्रतिरोधी क्षेप्यास्त्र प्रणालीजस्ता अचल पूर्वाधारहरू रहेको जनाइएको छ ।

कसले आफूमाथि आक्रमण गर्यो भन्ने नै थाहा पाउन मुस्किल पर्ने भएकाले यस हतियारले रुसी फौजको मनोबल पनि गिराइरहेको बुलात्सेभको भनाइ छ ।

अमेरिकी र युक्रेनी राष्ट्रपतिबीच टेलिफोन वार्ता

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग टेलिफोन वार्ता गरेका छन् ।
बाइडेनसँगको वार्तामा सुरक्षा, युक्रेनलाई आर्थिक सहयोग र रुसमाथि प्रतिबन्ध लगाउने विषयमा छलफल भएको राष्ट्रपति जेलेन्स्कीले एउटा ट्विटमा उल्लेख गरेका छन् ।

जेलेन्स्कीले इजरायलका प्रधानमन्त्री नाफतली बेन्नेटसँग पनि टेलिफोन वार्ता गरेका छन् । जेलेन्स्कीसँग छलफल गर्नुअघि बेन्नेटले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई मस्कोमा भेट गरेका थिए ।

इजरायल अमेरिकाको प्रमुख साझेदार भए पनि प्रधानमन्त्री बेन्नेटले रुससँगको सम्बन्धलाई पनि मझबुत बनाउन खोजेका छन् । जेलेन्स्कीको अनुरोधमा इजरायल रुस र युक्रेनबीच मध्यस्थता गर्न इच्छुक देखिएको छ ।

तेश्रो चरणको वार्ता सोमबार

रुस र युक्रेनबीचको युद्ध जारी रहेका बेला अर्को चरणको शान्ति वार्ता सोमबार हुने भएको छ । यसअघि पनि दुई देशबीच युक्रेन र बेलारुसको सीमामा दुई चरणमा वार्ता भएको थियो । तर यस पटक भने वार्ता कहाँ भन्ने बारेमा केही खुलाइएको छैन । रुसी र युक्रेनी अधिकारीहरूबीच भएको पहिलो र दोस्रो चरणको वार्तामा कुनै निष्कर्ष ननिस्किएको अधिकारीहरुले जनाएका छन् ।

तेस्रो चरणको वार्ता सोमबार हुने जानकारी युक्रेनका तर्फबाट वार्ता टोलीका सदस्य डेभिड आरकसानले दिएका हुन् । उनले फेसबुक स्टाटसमा युक्रेन र रुसका बीचमा अर्को अर्थात् तेस्रो चरणको वार्ता सोमबार हुने बारेमा जानकारी दिएका हुन् ।

युक्रेनका अधिकारीहरुले यसअघिका दुई चरणको वार्तामा कुनै सफलता प्राप्त नभएकाले यस वार्तामा पनि त्यस्तो कुनै ठूलो नतिजा निकाल्ने अपेक्षा नगरिएको बताएका छन् । दुई दिनअघि दोस्रो चरणको वार्ता सकिएपछि वार्तामा सहभागी अधिकारीहरु दुवै पक्ष आआफ्नो राजधानी फर्किएर आवश्यक परामर्श गरी यो तेस्रो चरणको वार्ता गर्ने बताएका छन् ।

रुस पछिल्लो चरणमा वार्ता जारी राख्न सहमत भएको थियो । सोही बमोजिम नै दुवै पक्ष वार्तामा बसेका थिए । रुस र युक्रेनले आगामी केही दिनभित्र नै अर्को उच्चस्तरीय वार्तामा बस्ने भएका शुक्रबार बताइएको थियो ।

उता रुसले भने पछिल्ला दिनमा युक्रेनको राजधानी किभका आवासीय क्षेत्रहरूमा हवाई आक्रमण गरेको छ । रुसले यहाँका आवासीय क्षेत्रहरुमै गोलाबारी गरिरहेको आरोप लगाइएको छ ।

युक्रेनी राजधानी किभमा भने खतराको जनाउ दिने साइरनहरु अहिले पनि बजेका बताइएको छ । त्यस्तै युक्रेनको उत्तरी शहर चर्निभमा पनि गोलाबारी भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

गएको हप्ता दिनभन्दा लामो समयदेखि रुसले युक्रेनमाथि धेरै स्थानबाट हमला गरिरहेको छ । ती स्थानहरुमा युक्रेनी फौजको प्रतिवाद भने जारी छ । जसका कारण रुसी सेना अगाडि बढ्ने गति कम भएको बताइएको छ । यसैले पनि रुस वार्ताका लागि तयार भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको विश्लेषण छ ।

नाकाबन्दी ‘युद्धको घोषणा’ जस्तै – पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा मुलुकहरूले आफ्नो मुलुकमाथि लगाएका नाकाबन्दी र प्रतिबन्धहरू ‘युद्धको घोषणा’ सरह भएको चेतावनी दिएका छन् । राजधानी मस्कोस्थित एरोफ्लोट एअरलाइन्सको तालिम केन्द्रमा महिला सहचालकहरुलाई सम्बोधन गर्ने क्रममा पुटिनले यस्तो बताएका हुन् । ‘धन्य ईश्वर यस्तो भएको छैन ।’ पुटिनले भने ।

उनले युक्रेनी आकासमा ‘नो फ्लाइ जोन’ को घोषणा गरेमा त्यसले यस्तो घोषणा गर्ने मुलुकविरुद्ध मुठभेडको अवस्था ल्याउने र रुसले तिनीहरूलाई दुश्मन सैनिकको रुपमा व्यवहार गर्ने चेतावनी समेत दिए ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीतर्फ लक्षित उनको चेतावनी थियो, ‘वर्तमान नेतृत्वले के बुझ्न जरुरी छ भने यदी उनीहरुले जे गरिरहेका छन्, त्यसैलाई निरन्तरता दिए भने यसले युक्रेनी राज्यव्यवस्थाकै भविष्य जोखिममा पार्नेछ ।’

उनले रुसमा सैनिक कानून ‘मार्शल ल’ लागू गर्ने आफ्नो कुनै योजना नरहेको पनि स्पष्ट पारे । ‘सैनिक गतिविधिको निश्चित क्षेत्रमा बाहिरी आक्रमण भएको खण्डमा’ मात्रै सैनिक कानून लागू गरिने र हालसम्म यस्तो अवस्था नआएको उनको भनाइ छ ।

केही समययता अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा रुसमा सैनिक कानून लागू हुनै लागेको समाचारहरु आइरहेका बेला पुटिनको यस्तो भनाइ आएको हो । रुसले युक्रेनमा हमलाहरू जारी राखेका बेला आएको पुटिनको बयानलाई निकै अर्थपूर्ण रुपमा हेरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

‘किभस्थित भारतीय दूतावास बन्द भएको छैन’

युक्रेनको राजधानी किभस्थित भारतीय दूतावास बन्द नगरिएको भारतीय विदेशमन्त्रालयले स्पष्ट पारेको छ । विदेश मन्त्रालयलका प्रवक्ता अरिन्दम बागचीले किभस्थित भारतीय दूतावास पूर्ण सञ्चालनमा रहेको स्पष्ट पारे ।

यद्यपि दूतावासका केही कर्मचारीहरु भने पश्चिमी शहर लभिभ तर्फ सरेको भएपनि किभस्थित दूतावास पूर्ण सञ्चालनमा रहेको जनाएका हुन् । ‘लभिभमा पनि हाम्रो टिमले काम गरिरहेको छ ।’ बागचीलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ ।

दूतावासको टिमका केही सदस्यलाई पूर्वी युक्रेनतर्फ लैजानेबारे विचार भइरहेपनि यो जटिल कार्य भएको उनको भनाइ छ । १० दिनअघि रुसले

युक्रेनमाथि आक्रमण गरेपछि त्यहाँबाट विदेशीहरुलाई सुरक्षित स्थानमा लैजाने कार्यलाई तीव्रता दिइएको छ ।
भारतले पनि अपरेशन गङ्गाको नामबाट त्यहाँबाट आफ्ना नागरिकहरुलाई स्वदेश फर्काइरहेको छ ।

केही दिनअघिमात्रै पूर्वी शहर खार्किभमा भएको गोलाबारीका क्रममा एक भारतीय नागरिकको ज्यान गइसकेको छ ।

चिनियाँ र अमेरिकी विदेशमन्त्रीबीच कुराकानी

चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनबीच टेलिफोन वार्ता भएको छ । सो फोनवार्ताका क्रममा दुई विदेशमन्त्रीबीच द्विपक्षीय सम्बन्ध एवम् पछिल्लो समय विकसित विश्व राजनीतिक घटनाक्रमबारे कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ । साथै रुसले हालै युक्रेनमाथि गरिरहेको आक्रमणका विषयमा पनि सो अवसरमा कुराकानी भएको समाचारमा जनाइएको छ ।

फोनवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिन्केनले युक्रेनमा रुसले गरेको आक्रमणका बारेमा आफ्नो धारणा प्रस्तुत गरेको सिन्ह्वाले जनाएको छ । युक्रेनमा रुसद्वारा जारी हमलाको अमेरिकाले विरोध गर्दै आएको छ ।

उता चिनियाँ विदेशमन्त्री वाङले भने युक्रेनमा जेजस्तो परिस्थितिको विकास भइरहेको छ, चीनले त्यो नचाहेको जवाफ दिएका थिए ।
युक्रेनमा रुसले गएको ११ दिन देखि सैनिक कारवाही गरिरहेको छ । युक्रेन र रुसका बीचमा भोलि सोमबार तेस्रो चरणको शान्ति वार्ता हुने बताइएको छ ।

साउदी अरबमा कोरोना प्रतिबन्धहरु हटे

साउदी अरबले कोरोना भाइरसका विरुद्धमा लगाएका अधिकांश प्रतिबन्धहरु आइतबारदेखि हटाएको छ ।

साउदी स्वास्थ्य मन्त्रालयले सो विषयमा जानकारी दिदै आन्तरिक हवाई उडानहरुमा अब कोरोना भाइरस संक्रमणसम्बन्धी स्वास्थ्य जाँच, पिसीआर रिपोर्ट आवश्यक नपर्ने जनाएको हो ।

त्यसैगरी त्यहाँ अब सार्वजनिक स्थलहरुमा पनि उपस्थित हुन पाइने भएको छ । पर्यटकीय स्थलहरुमा उपस्थितिका लागि पिसीआर रिपोर्ट आवश्यक नरहेको बताइएको छ ।

तर मानिसहरुले घर बाहिर निस्किँदा मास्क भने लगाउनुपर्ने भएको छ । सार्वजनिक स्थलहरुमा मास्क भने अनिवार्य गरिएको बताइएको छ ।
पछिल्ला केही हप्तामा कोरोना भाइरसको प्रकोप घट्दै गएकाले सरकारले लगाउँदै आएका प्रतिबन्धहरु हटाएको जनाएको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७८, आइतबार  ७ : ५६ बजे

जग्गा, आवास व्यवस्था पुनरावलोन गर्न कार्यदल गठन

काठमडौं – सहरी विकास मन्त्रालयले जग्गा, आवास विकासमा देखिएका समस्या

दशैंमा पर्यटन विभाग र बोर्डले सेवा सञ्चालन गर्ने

काठमाडौं – बडा दशैंमा पर्यटकको सेवालाई मध्यनजर गरी पर्यटन विभाग

विधिपूर्वक गरियो कात्यायनी देवीको पूजा

काठमाडौं – आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा

इजरायली हवाई आक्रमणमा लेबनानमा चार जनाको मृत्यु

बेरुत – इजरायली हवाई आक्रमणमा बुधबार मध्य लेबनानमा विस्थापित नागरिकहरूको

ओली र देउवाद्वारा बुढानिलकण्ठमा नयाँ रिसोर्टको उद्घाटन

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं