नेपालमा आज : के-के भयो दिनभर ? | Khabarhub Khabarhub

नेपालमा आज : के-के भयो दिनभर ?


२७ फाल्गुन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 7 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियोमा सुन्नुहोस्:

 

 

ग्लोबल टेण्डरमा भाग लिन प्रधानमन्त्री देउवाको आग्रह
प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीअन्तर्गत हुने पूर्वाधार निर्माणको ग्लोबल टेण्डरमा सहभागी हुन नेपालका निर्माण व्यवसायीलाई आग्रह गरेका छन् ।

आज काठमाडौँमा नेपाल निर्माण व्यवसायी महासङ्घको २३ औँ साधारणसभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले अमेरिकी कानुनअनुसार अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गराउनुपर्ने भएकाले एमसीसीअन्तर्गतका परियोजनामा नेपालका निर्माण व्यवसायीले पनि भाग लिनुपर्ने बताए । त्यस्तै प्रधानमन्त्री देउवाले समयमा नै निर्माण सम्पन्न हुन नसक्ने समस्यालाई समाधान गर्नुपर्ने धारणा राखे ।

उनले निर्माण व्यवसायीलाई सहुलियतका लागि सरकारले सार्वजनिक खरिदलगायतका नियमावली संशोधन लगायतका विषयमा सरकार लचिलो रहेको उल्लेख गरे ।

मुलुकलाई समृद्ध बनाउनका लागि सरकारसँगै निजी क्षेत्रको सहकार्य एवं समन्वय अपरिहार्य रहेको उनको भनाइ छ । कार्यक्रममा गृहमन्त्री बालकृष्ण खाँणले निर्माण व्यवसायीहरुको क्षमता अभिवृद्धि गर्न सरकार तयार रहेको भन्दै व्यवसायीमैत्री कानुन निर्माण गरिएको जानकारी दिए ।

निर्वाचन आयोगद्वारा स्थानीय तह निर्वाचनको तयारीबारे दलहरूसँग छलफल
निर्वाचन आयोगका पदाधिकारी र विभिन्न दलका नेताहरूबीच चुनाव हुने खर्चको सीमा, चुनाव चिह्नलगायत विषयमा छलफल भएको छ ।

निर्वाचन आयोगले स्थानीय तहको चुनावको तयारीबारे आज गरेको छलफलमा उनीहरूबीच निर्वाचनका क्रममा हुने खर्चको सीमा, खर्चको नियमन, आचारसंहिता, चुनाव चिह्नलगायत विषयमा छलफल भएको हो ।

छलफलमा साना दलका प्रतिनिधिहरूले निर्वाचनका लागि माग गरिएको चुनाव चिह्न पाउनुपर्ने जिकिर गरेका थिए ।

उनीहरूले निर्वाचन आचारसंहिता कडाईका साथ पालना गराउनुपर्ने सुझाव पनि दिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

राष्ट्रिय मान्यता प्राप्त दल बाहेक ७३ दलले आफूले प्रस्ताव गरेको चुनाव चिह्न पाउनुपर्ने माग गरेको र कानुनमा भएको व्यवस्थाअनुसार नै अघि बढ्ने जानकारी गराएको पनि उनले बताए ।

निर्वाचनलाई मितव्ययी बनाउन चुनाव खर्च घटाउने प्रस्ताव गरेको र दलहरूको सकारात्मक सुझाव प्राप्त भएको पौडेलले बताए ।

छलफलपछि माओवादी केन्द्र नेता लिलामणि पोखरेलले निर्वाचनमा हुने खर्चको नियमनको उचित प्रबन्ध हुनुपर्ने बताए ।

निर्वाचन प्रचारप्रसारका क्रममा हुने सामाजिक सञ्जालको दुरुपयोगको नियमन गर्ने छुट्टै साइबर क्राइम ब्यूरो बनाउने तयारी रहेको जानकारी प्राप्त भएको पनि उनले बताए ।

प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि संसदमा छलफल हुने
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध लगाइएको महाअभियोगमाथि संसदमा छलफल हुने भएको छ ।

भोलि बस्ने प्रतिनिधिसभाको बैठकमा त्यसको समय तय हुने कार्यसूची संघीय संसद सचिवालयले सार्वजनिक गरेको छ । सभामुखले भोलि बस्ने बैठकमा छलफलको दिन र समय प्रस्ताव गर्ने तर, त्यसमाथि निर्णय भएपछि संसदमा छलफल सुरु हुने छ । यसअघिको बैठकमा महाअभियोग लगाइएका राणामाथि छानविन गरि सिफारिस गर्न ११ सदस्यीय सिफारिस समिति गठन भएको थियो ।

जबराविरुद्ध फागुन १ गते माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङ, काँग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठले महाभियोग प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्तावमा तीनवटै दलका ९५ सांसदहरूले समर्थन जनाएका थिए ।

आफ्नो सरकार ढाल्ने न्यायाधीशलाई अमेरिकाबाट इमेल आएको ओलीको दाबी
नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकार ढाल्ने न्यायाधीशलाई अमेरिकाबाट इमेल आएको दाबी गरेका छन् ।

पोखरामा आज प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो दाबी गरे । ओलीले संविधान बाहिर गएर आफू नेतृत्वको सरकार ढालेको आरोप लगाउँदै अदालतले सरकार बनाउने बताए ।

त्यस्तै ओलीले सामाजिक सञ्जाल प्रयोग गर्दा अरुको समय बर्बाद बनाउन नहुने बताए । नेकपा एमाले निकट पत्रकारहरुको संठन प्रेस चौतारी नेपालको नवौं महाधिवेशन पोखरामा सुरु भएको हो । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।

सरकारले बञ्चरेडाँडा ल्याण्डफिल साइट समस्या समाधान गर्न सहजीकरण गर्ने
सरकारले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा देखिएको समस्या समाधानका लागि सहजीकरण गर्नका ¥यापीड एक्सन टास्क फोर्स गठन गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले फोहोर व्यवस्थापन र साइट सञ्चालन गर्दा मानव जीवन, पशुपन्छी, जीवजन्तु, वनस्पतिमा पर्ने प्रभाव न्यूनीकरण गर्न आवश्यक सबै उपाय अवलम्बन गरी आवश्यक सडक निर्माण र स्तरोन्नतिका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको भन्दै यससम्बन्धी कार्यमा आवश्यक सहजीकरण गर्न टास्क फोर्स गठन गर्ने निर्णय भएको जानकारी दिए ।

मन्त्रिपरिषदले तुलसीपुर उपमहानगरपालीका र स्पेनको विलवाओ नगर परिषद्बीच भगिनी सम्बन्ध कायर्म गर्न स्वीकृत प्रदान गरेको छ भने बीउ बिजनको किसिम वा जात सूचित गर्ने प्रयोजनार्थ राष्ट्रिय बीउ बिजन समितिबाट सिफारिस भइ आइबमोजिमको सूचना नेपाल राजपत्रमा प्रकाशन गर्न स्वीकृति दिने निर्णय पनि गरेको छ ।

सदैव जनताका लागि काम गर्ने पर्यटनमन्त्री आलेको प्रतिबद्धता
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफूले सदैव जनताका लागि काम गर्ने प्रतिबद्धता जनाएका छन् । नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा आलेले अग्रज नेताहरूले देखाएको बाटोमा आफू सदैव हिड्ने र जनताका लािग काम गर्ने प्रतिबद्धता जनाए । उनले आफूले गरेका कामबाट नेपाली नागरिकको शिर निहुरिन नदिने पनि स्पष्ट गरे ।

मन्त्री आलेले दलित, जनजाती समुदायहरु विगतदेखि राज्यको उत्पीडनमा परेकाले यो समुदायको उत्थानका लागि आफू सधैँ प्रतिबद्ध रहेको धाणा राखे ।

महिला मन्त्री रेग्मीद्धारा कालापत्थर पुगेर फर्किएका महिलाको समूहलाई स्वागत
महिला, बालबालिका तथा समाजकल्याण मन्त्री उमा रेग्मीले जलवायु परिवर्तनका असर बारे विश्वको ध्यानाकर्षण गराउन कालापत्थर पुगेर फर्किएका महिलाको समूहलाई स्वागत गरेकी छन् ।

आज त्रिभुवन विमानस्थल पुगेर मन्त्री रेग्मीले काठमाडौँदेखि १३ दिने पदयात्रा सुरु गरी कालापत्थर पुगेर फर्किएका समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित ४० जना महिलाको समूहलाई स्वागत गरेकी हुन् ।

सो क्रममा मन्त्री रेग्मीले जलवायु परिवर्तनले पारेको असरका बारेमा विश्वलाई सन्देश दिनु सकारात्मक बिषय भएको बताइन् । यस्तै ‘साथसाथै’का अध्यक्ष प्रतिजा कार्कीले बिभिन्न क्षेत्रका ४० जना महिलाको समूहले जलवायु परिवर्तनका असर बारे विश्वको ध्यानाकर्षण गराउन घोषणापत्र जारी गरेको र कालापत्थरमा नै महिला दिवस मनाउन सफल भएको जानकारी दिइन् ।

कुष्ठ रोगीलाई हेला नगर्न उपराष्ट्रपति पुनको आग्रह
उपराष्ट्रपति नन्दबहादुर पुनले कुष्ठ रोगीलाई हेला नगरी उपचारको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

२४ औँ अन्तर्राष्ट्रिय आत्मसम्मान तथा आदर दिवसको अवसरमा शुक्रबार आइडिया नेपाल, द लेप्रोसी मिसन नेपाल तथा साउथ वेष्टर्न स्टेट कलेजले संयुक्त रूपमा आयोजना गरेको कार्यक्रममा उनले कुष्ठ रोगीलाई हेला नगरी उपचारको व्यवस्था गर्नुपर्ने बताए ।

कुष्ठ रोगी मात्र नभएर कुनै पनि किसिमा बिरामीलाई हेला नगरी उपचारको व्यवस्था गर्नु परिवार र राज्यको दायित्व रहेको बताएका उनले समाजमा देखिएका विभेद अन्त्य गर्नुपर्नेमा जोड दिए ।

राप्रपाले राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने अध्यक्ष थापाको दाबी
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी निर्वाचनमा आफ्नो पार्टीले राम्रो नतिजा हाँसिल गर्ने र राष्ट्रिय दलको मान्यता प्राप्त गर्ने दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले अहिले पार्टी सम्पूर्ण रुपमा स्थानीय तहको निर्वाचनको लागि तयारीमा होमिएको पनि बताए ।

उनले पाँच बर्षको अवधीमा पार्टीले निकै कुरा गुमाएको भन्दै अव राप्रपा नेपाल शसक्त रुपमा अघि बढ्ने स्पष्ट पारे । प्रमुख दलहरुको अदुरदर्शीता र सत्ता लोलुपताको कारण देशमा लोकतन्त्रको आवरणमा सर्वसत्तावाद हाबी भइरहेको बताए ।

लालपूर्जा माग्दै काठमाडौँमा सुकुम्बासीद्धारा प्रदर्शन
बसोवासको लालपूर्जा पाउनु पर्ने माग राखेर सुकुम्बासीहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् ।

लामो समयदेखि लालपूर्जा नपाएपछि संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालको अगुवाइमा उनीहरुले आज माईतीघरमण्डलादेखि नयाँ बानेश्वरसम्म विभिन्न नारासहित प्रदर्शन गरेको हुन् । कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष कुमार कार्कीले बसोवासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्पबिनाको उठिबास सदाका लागि बन्द गर्न सम्बन्धित निकायलाई दबाबमूलक प्रदर्शन गरेको बताए ।

उनले एउटा सरकारले लालपुर्जा दिन फर्म भर्ने, अर्को सरकार उठीबासको सूचना टाँस्दै हिँडेकोले सरकारको दुई चरित्रकोबिरुद्धमा ध्यानाकर्षण गराएको बताउनुभयो । अध्यक्ष कार्कीले अधिकार प्राप्तिको निम्ति प्रदर्शन गर्दा प्रशासनले छेक्ने काम गरेको आरोपसमेत लगाए ।

कर्णाली प्रदेशका सांसद बिष्टद्धारा माओवादी पार्टी परित्याग
नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश सभाका सांसद तथा प्रमुख सचेतक ठम्मरबहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । आज काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै सांसद बिष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताए ।

विष्टले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेश सभाको सांसद र प्रमुख सचेतकको जिम्मेवारीबाट पनि राजीनामा दिएको बताए । उनले पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई बिरोधमा सडकमा उतार्ने र आफुले पर्दा पछाडि अनेक खालका चलखेल गरेको आरोप लगाए ।

पल शाहका व्यवस्थापक कृष्ण जोशी पक्राउ
जवरजस्ति करणी आरोपमा हिरासतमा रहेका कलाकार पल शाहका व्यवस्थापक कृष्ण जोशी पनि पक्राउ परेका छन् । उनलाई तनहुँ प्रहरीले आज पक्राउ गरेको हो । जोशीलाई मतियारको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

कलाकार शाह अहिले प्रहरीको हिरासतमा छन् । उनीमाथि बालिका बलात्कारको आरोप छ । यही प्रकरणमा उनका व्यवस्थापक जोशी मतियारको आरोपमा पक्राउ परेका हुन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ७७ जनामा कोरोना संक्रमण पुष्टि
पछिल्लो २४ घण्टामा नेपालमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ६ सय ७ पिसिआर परिक्षणमा ६२ जना र २ हजार ३ सय ७४ एन्टीजेन परिक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । त्यस्तै थप १ सय ८९ संक्रमित संक्रमणमुक्त भएका छन् । हाल नेपालमा ५ हजार २ सय १२ सक्रिय संक्रमित आइशोलेशन र १०६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

माओवादी केन्द्रको कर्णाली प्रदेश समितिले पायो पूर्णता
नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश समितिले पूर्णता पाएको छ । आज सुर्खेतमा बसेको कर्णाली प्रदेश समितिको दोस्रो बैठकले बाँकी पदाधिकारी चयन गरेको हो । गत मंसिर २५ मा प्रदेश अधिवेशन उद्घाटन भइ अध्यक्षमा विमला केसी चयन भएकी थिइन् ।

तर, बाँकी पदाधिकारी टुंग्याउन विवाद भएपछि लामो समय अध्यक्ष र सदस्य मात्रैको समिति रहेको थियो । बैठकले तीन उपाध्यक्षमा सल्यानका कर्णबहादुर बुढाथोकी, जाजरकोटका ढकवीर राना र सुर्खेतका कृष्ण जिसीलाई चयन गरेको छ । त्यस्तै सचिवमा कालिकोटका धनजित शाही चयन हुनुभएको छ । २ सय ११ जनाको प्रदेश समिति रहेको छ ।

भन्सार एजेन्टको लिखित परीक्षा स्थगित
भोलिका लागि तय भएको भन्सार विभागअन्तर्गत भन्सार एजेन्टको लिखित परीक्षा स्थगित गरिएको छ । भोलि हुने भनिएको भन्सार एजेन्टको इजाजतपत्रका लागि सञ्चालन हुने लिखित परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको हो ।

यस विषयमा उच्च अदालत पाटनबाट बिहीबार विभागको नाममा चैत ६ गतेसम्म परीक्षा स्थगित गर्न भनि अल्पकालिन अन्तरिम आदेश जारी गरेको थियो । सो आदेशसहितको सूचना आज तामेल हुन आएकोले भोलि हुने लिखित परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको भन्सार विभागका शाखा अधिकृत घनश्याम तिमिल्सिनाले जानकारी दिए ।

नेइएको नयाँ कार्यसमिति चयनका लागि निर्वाचन
नेपालभरका इन्जिनियरको छाता संस्था नेपाल इन्जिनियर एशोसिएशन (नेइए)को नयाँ कार्यसमिति चयनका लागि निर्वाचन भएको छ । एशोसिएशनको ३३ औँ कार्यकारिणी समितिका लागि आज देशभरका सातै प्रदेशको १४ स्थानमा एकैसाथ मतदान भएको हो ।

निर्वाचनका लागि पाँच समूहको प्रतिस्पर्धा छ । सत्तारुढ दल नेपाली कांग्रेस निकट सेन्टर फर डेमोक्रेटिक इन्जिनियर (सिडेन)ले डा हरिबहादुर दर्लामीको समूहलाई उम्मेदवार बनाएको छ । सो उम्मेदवारीप्रति रुष्ट बन्दै काँग्रेसकै दिलीपकुमार झाको नेतृत्वमा अर्को समूहसमेत चुनावी मैदानमा छ ।

बोटलर्स नेपालविरुद्ध कर छलि मुद्दा, ७ अर्ब ४३ करोड बिगो दाबी
झण्डै चार अर्ब कर छलि गरेको आरोपमा बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपाल कम्पनीविरुद्ध मुद्दा दायर गरिएको छ । राजश्व अनुसन्धान विभागले तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ राजश्व छलि गरेको अभियोगमा आज उच्चअदालत पाटनमा मुद्दा दायर गरेको हो ।

कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टबीच शेयर कारोबार हुँदाको समयमा बोटलर्स नेपाल लिमिटिडको प्रतिकित्ता शेयरको स्वतन्त्र बजार मूल्य तीन हजार ८८३ थियो । सोमा कोकाकोला साब्कोको प्रतिकित्ता शेयर खरीद मुल्य ५३६ लाई लागतको रूपमा घटाउँदा हुन आउने रकम तीन हजार ३४७ प्रतिकित्ता पूजीगत लाभ हुने अनुसन्धानबाट पुष्टि भएको विभागले जनाएको छ ।

चर्कियो महँगी, माघ महिनामा ५.९७ प्रतिशत मूल्य वृद्धि
गत माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मूल्य वृद्धिदर थप बढेको छ । पुस महिनामा ५.६५ प्रतिशत रहेको मूल्य वृद्धिदर (मुद्रास्फीति) माघमा ५.९७ प्रतिशत पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुसार माघ, २०७७ मा यस्तो मूल्य वृद्धिदर २.७० प्रतिशत थियो ।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्य वृद्धिदर ६.०० प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्य वृद्धिदर ५.९६ प्रतिशत थियो । माघ २०७७ को तुलनामा माघ २०७८ मा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यु तथा तेल, तरकारी र दाल तथा गेडागुडी उपसमूहको मूल्य वृद्धि क्रमशः २०.६८ प्रतिशत, १४.०७ प्रतिशत र ९.३६ प्रतिशत छ ।

कुखुराको मासुको मूल्य फेरि बढ्यो
ब्रोइलर कुखुरा उत्पादकहरुले एक सातामै दोस्रो पटक कुखुराको मासुको मूल्य बढाएका छन् । गत सोमबार किलोमा १० रुपैयाँले बढाएर प्रतिकिलो २९० रुपैयाँ पु¥याइएको जिउँदो ब्रोइलर कुखुराको मासुको मूल्य आजदेखी पुनः बढाइएको हो । नेपाल राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार आजबाट १० रुपैया बढाई जिउँदो ब्रोइलर कुखराको प्रतिकिलो कोल्ड स्टोर मूल्य ३०० सय रुपैयाँ पुगेको छ । संघकाअनुसार काठमाडौं उपत्यका वरपर अहिले तयारी ब्रोइलर कुखुराको मासुको मूल्य ४२० रुपैयाँसम्म पुगेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७८, शुक्रबार  १० : १२ बजे

बाजागाजासहित भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइयो

काठमाडौं – चन्द्रगिरीस्थित ऐतिहासिक महत्वको भालेश्वर मन्दिरमा फूलपाती भित्र्याइएको छ

मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

कैलाली – घोडाघोडी नगरपालिका–१ जनकपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

गहवामाई मन्दिरमा डोलायात्रासहित फूलपाती भित्र्याइयो

पर्सा – वीरगञ्जस्थित गहवामाई मन्दिरमा डोलायात्रासहित आज फूलपाती भित्र्याइएको छ

सुदूरपश्चिममा एक सय ६२ जुवाडे पक्राउ

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले दसैँ, तिहार र छठ

नोबेल साहित्य पुरस्कार दक्षिण कोरियाली लेखक हान काङलाई

स्टकहोम – मानसिक र शारीरिक यातनाका साथै ऐतिहासिक घटनाहरूबीच पत्राचारका