काठमाडौं– हिटलरको अमानवीय नरसंहारबाट समेत बच्न सफल ९० वर्षीया युक्रेनी महिला रुसी आक्रमणबाट बच्न बेलायत पुगेकी छिन् । ९० वर्षीया कटरिना राजुमेन्को रुसी आक्रमणको चपेटामा परेको खार्किभ शहरबाट ज्यान जोगाएर बेलायत पुगेको बेलायतको डेली मेल पत्रिकाले जनाएको छ ।
उनीसँगै उनकी ६२ वर्षे छोरी लार्सा पनि बेलायत पुगेको जनाइएको छ । बेलायत पुग्नु एक साताअघि उनीहरु पोल्याण्ड पुगेको र त्यहाँबाट बेलायतको गृहमन्त्रालयले उनीहरूका लागि भिसा मिलाइदिएको डेली मेलले जनाएको छ । उनीहरु बेलायतमै रहेका उनीहरूका आफन्तसँग बस्नेछन् ।
सन् १९३१ मा जन्मेकी कटरिना तत्कालीन सोभियत संघका तानाशाह जोसेफ स्टालिनको भोकमरीद्वारा युक्रेनीको नरसंहार (होलोडोमर) र दोश्रो विश्वयुद्धका क्रममा सन् १९४१ मा जर्मन तानाशाह एडोल्फ हिटलरको सोभियत संघमाथिको आक्रमणमा पनि बाच्न सफल रहेकी थिइन् ।
यद्यपि रुसले युक्रेनमाथि आक्रमण गरेपछि भने उनी जीवनमै पहिलो पटक शरणार्थी भई विदेश पलायन हुनु परेको जनाइएको छ ।
(डेली मेलबाट)
प्रतिक्रिया