आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

आज यस्ता छन् तपाईँले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


८ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

रुसी आक्रमणमा ८ जनाको मृत्यु
रुसी सेनाले युक्रेनको राजधानी किभस्थित एउटा सपिङ मलमा शक्तिशाली बिस्फोट गराउँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । विस्फोटमा केही घाइते भएका छन् ।
रेट्रोभाइल सपिङ मलमा रुसी सेनाले विस्फोट गराएका हुन् । विस्फोटपछि सपिङ मल वरपर राखिएका सवारी साधनहरूमा समेत क्षति भएको थियो ।

विस्फोटपछि १० तले सो भवनमा आगो लागेको थियो । आगो निभाउन ६३ अग्नि नियन्त्रकहरू परिचालन गरिएको प्राप्त विवरणहरूमा जनाइएको छ ।
पछिल्लो समयमा रुसी सेनाले आवासीय भवन र सैनिक अखडाहरूलाई निशाना बनाएको छ । रुसी हमलामा अहिलेसम्म १ करोड युक्रेनीले घर छाडेका राष्ट्रसंघको शरणार्थीसम्बन्धी निकाय यूएनएचसीआरले जनाएको छ । २४ फेब्रुअरीदेखि सुरु भएको रुसी हमलामा लाखौँ युक्रेनीले विभिन्न देशमा शरण लिएका छन् ।

किभनजिकैको शहर रुसको नियन्त्रणबाट फिर्ता
युक्रेनी फौजले राजधानी किभनजिकैको रणनीतिक रूपमा महत्वपूर्ण शहरलाई रुसी फौजको नियन्त्रणबाट फिर्ता लिएको दाबी गरेका छन् । युक्रेनी रक्षा मन्त्रालयले रुसी सेनाको कब्जाबाट किभनजिकैको मकारिभ शहरलाई फिर्ता गर्न सफल भएको दाबी गरेका हुन् ।

मकारिभ शहरलाई रुसी सेनाबाट फिर्ता लिएसँगै किभलाई उत्तरपश्चिमी दिशाबाट घेराबन्दी गर्ने रुसी योजना विफल भएको समेत मन्त्रालयले जनाएको छ । यद्यपि इरपिन, बुचा, होस्तोमेलजस्ता किभ नजिकका अन्य शहरमा भने रुसी फौजले आक्रमण गरिरहेको जनाइएको छ ।

राजधानी नियन्त्रण गर्ने रणनीतिक योजना सफल पार्न रुसी फौजले किभमा भारी गोलाबारी र सैनिक आक्रमणलाई निरन्तरता दिइरहेको छ । यसअघि आइतबार किभको एक किनमेल केन्द्रमा रुसी फौजले गोलाबारी गर्दा ८ जनाको मृत्यु भएको थियो ।

किभमा अझै पनि रुसी फौजले गोलाबारी र हवाई आक्रमणलाई तीव्र पारेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । स्थानीयवासीले खिचेर सामाजिक सञ्जालमा शेयर गरेका तस्बिर र भिडियोहरूमा किभका विभिन्न स्थानबाट धुवाँको कालो मुस्लो उडिरहेको देख्न सकिन्छ ।

उत्तराखण्डमा धामी फेरि मुख्यमन्त्री बन्ने
नेपालसँग सीमा जोडिएको भारतीय राज्य उत्तराखण्डमा पुष्कर सिंह धामी फेरि मुख्यमन्त्री बन्ने भएका छन् । चुनाव पराजयपछि पनि उनी उत्तराखण्डको मुख्यमन्त्री बन्न लागेका हुन् । मार्चको दोस्रो साता सार्वजनिक भएको विधानसभा निर्वाचनमा धामी कंग्रेसका उम्मेदवारसँग पराजित भएका थिए ।

उनी राज्यको भाजपा विधायक दलको नेतामा निर्वाचित भएपछि उनी फेरि उत्तराखण्डको मुख्यमन्त्री बन्न लागेका हुन् । उनले लगातार दोस्रो कार्यकालको लागि भाजपालाई जीत दिलाएकोमा गरेकोमा राज्यका जनतालाई धन्यवाद दिएका छन् ।

‘पुष्कर सिंह धामी विधायक दलको नेतामा निर्वाचित भएका छन् । उनको नेतृत्वमा उत्तराखण्डले तीव्र प्रगति गर्नेछ,’ रक्षामन्त्री राजनाथ सिंहले भने । आगामी १०वर्षमा उत्तराखण्डलाई अग्रणी राज्य बनाइने उनले बताए ।

उनले बुधबार मुख्यमन्त्रीको सपथ लिने कार्यक्रम रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतीय संविधानअनुसार सांसद नरहेको व्यक्ति पनि ६ महिनासम्म मुख्यमन्त्री हुन पाउने व्यवस्था छ । धामीका लागि सिट खाली गर्न भाजपाका सांसदहरू इच्छुक रहेको बताइएको छ ।

७० सिट भएको उत्तराखण्डको विधानसभामा भाजपा ४७ सिटमा विजयी भएको थियो । विजयसँगै भाजपाले उत्तराखण्डमा लगातार दोस्रो पटक सरकार गठन गर्न लागेको हो ।
कंग्रेस उम्मेदवार भुवन चन्द्र काप्रीसँग ६ हजार ५७९ मतअन्तरले पराजित भएपछि ११ मार्चमा धामीले मुख्यमन्त्रीको पदबाट राजीनामा दिएका थिए ।

रुसी पत्रकारले नोबेल पुरस्कार लिलाम गर्ने
गत वर्ष नोबेल शान्ति पुरस्कार पाएका रुसी पत्रकार दिमित्री मुरातोभले युक्रेनी शरणार्थीका लागि सहयोग जुटाउन पदक लिलामी गर्ने घोषणा गरेका छन् ।
उनले पदक लिलामीको सम्भावनाका लागि लिलामघर पनि खोजिरहेको समाचार संस्था एपीले जनाएको छ ।

नोभाया गजेटा अखबारमा लेख छाप्दै उनले मानिसहरूलाई ‘शरणार्थी, घाइते र बालबालिकासँग आवश्यक वस्तुहरू बाँड्न’ समेत आह्वान गरेको बताइएको छ ।
गत वर्ष नोबेल शान्ति पुरस्कार जितेका उनले पुरस्कारस्वरूप प्राप्त नगद रुसमा स्वतन्त्र मिडियाको प्रोत्साहनका लागि र स्वास्थ्य समस्या भएका मानिसहरूका लागि खर्च गर्ने घोषणा गरेका थिए ।

नोभाया गजेटा अखबारका सम्पादक समेत रहेका उनलाई गत वर्ष फिलिपिन्सकी अर्की पत्रकार मारिया रेसासँगै संयुक्त रूपमा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो ।

रुसमाथि दबाब बढाइने
अन्तर्राष्ट्रिय जगतमा प्रभावशाली पाँच देशले युक्रेनविरुद्धको आक्रमण रोक्न रुसमाथि दबाब बढाउने भएका छन् । बेलायती सरकारद्वारा जारी वक्तव्यका अनुसार बेलायत, अमेरिका, फ्रान्स, जर्मनी र इटालीले रुसलाई आक्रमण रोक्न दबाब बढाउने निर्णय गरेका हुन ।

युक्रेन संकट समाधानका लागि गर्न सकिने प्रयासका बारेमा छलफल गर्न बेलायतले बैठकको संयोजन गरेको जनाइएको छ । बैठकमा सहभागी नेताहरूले युक्रेन सङ्कटप्रति चिन्ता व्यक्त गर्दै रुसविरुद्ध अब चर्को दबाब दिनु पर्ने निष्कर्ष निकालेको बेलायती प्रधानमन्त्रीको कार्यालय १० डाउनिङ स्ट्रिटले जनाएको छ ।

उनीहरूले आ–आफ्नो देशको तर्फबाट कूटनीतिक पहल पनि गर्ने र संयुक्त प्रयासलाई पनि निरन्तरता दिने सहमति भएको वक्तव्यमा उल्लेख गरिएको छ । रुसले गत फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेपछि समस्या समाधानका लागि पटक पटक वार्ता भएपनि सफलता हासिल गर्न सफल भएका छैनन् ।

पोल्याण्डप्रति रुसी पूर्वराष्ट्रपतिको क्रुद्ध टिप्पणी
रुसका पूर्व राष्ट्रपति दिमित्री मेद्भदेभले रुससँग आर्थिक सम्बन्ध तोड्ने पोल्याण्डको निर्णयविरुद्ध क्रुद्ध टिप्पणी गरेका छन् । सामाजिक सञ्जाल टेलिग्राममार्फत् विज्ञप्ति जारी गर्दै उनले पोल्याण्ड अमेरिकाको कठपुतली बनेकोसमेत आरोप लगाए ।

हाल रुसी सुरक्षा परिषद्को उपाध्यक्ष समेत रहेका मेद्भदेभले अमेरिकी राष्ट्रपति जो बाइडनले ‘वृद्ध पागलपन’ को ‘स्पष्ट लक्षण’ देखाएकोसमेत उल्लेख गरेका छन् ।

पोल्याण्डका ‘तुच्छ राजनीतिज्ञ’ र ‘वृद्ध पागलपनको स्पष्ट लक्षण देखाउने महासागर पारीका कठपुतली नचाउने’ को रुसप्रति घृणाका कारण पोलिश नागरिकको हित ‘बलिदान भएको’ उनको भनाइ छ ।

उनले लेखेका छन्– ‘रुसी ग्याँस, कोइला र तेल नकिन्ने, नोर्ड स्ट्रिम २ पाइपलाइनको विरोध गर्ने निर्णयले यो मुलुकको अर्थतन्त्रमा गम्भीर हाली पु¥याएको छ । अब यो अझ खराब बन्दै जानेछ ।’

पोलिश प्रोपागाण्डाले रुसको खेदो खन्ने गरेको र यसले अत्यन्त ‘अशिष्ट, अभद्र र तीक्ष्ण’ शैलीमा रुसको निन्दा गर्ने गरेको मेद्भेदेभको भनाइ छ ।
४ सय वर्षअघि पोलिश अधिनस्थीहरूलाई मस्कोबाट लखेटेको स्मरण गर्दै उनले धेरै शताब्दीको आन्तरिक झगडा, भ्रष्टाचार, आर्थिक खराबी र हारेका युद्धको परिणामका कारण पोल्याण्डको यो हविगत भएको समेत टिप्पणी गरे ।

युक्रेनमा रुसी आक्रमण जारी रहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले यसै साता पोल्याण्डको भ्रमण गर्न लागेका बेला रुसी पूर्व राष्ट्रपतिको यस्तो क्रुद्ध टिप्पणी सार्वजनिक भएको हो ।

जेलेन्स्कीको यस्तो भनाइ
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्यका लागि सम्झौता गर्न आफू तयार रहेको बताउँदै रुसी समकक्षी भ्लादिमिर पुटिनसँग द्विपक्षीय वार्ताका लागि पुनः आह्वान गरेका छन् ।
उनले मुलुकको पूर्वमा रहेका भूभागका विषयमा बहस गर्न सकिने बताउँदै रुसी सेना फिर्ता भएको खण्डमा युक्रेन नेटोमा सहभागी नहुने प्रतिबद्धता जनाउन समेत तयार रहेको बताए ।

‘रुसका राष्ट्रपतिसँगको पहिलो वार्तामै म यी विषय उठाउन तयार छु ।’ युक्रेनी टेलिभिजन च्यानलमा अन्तरवार्ता दिँदै उनले भने । ‘यो सबैले सम्झौता गर्ने विषय हो ः पश्चिमा मुलुकहरूका लागि जसलाई नेटोका विषयमा हाम्रा लागि के गर्ने भन्ने नै थाहा छैन, यक्रेनका लागि जो सुरक्षा ग्यारेन्टी चाहन्छ र रुसका लागि जो नेटोको विस्तार चाहँदैन ।’ उनले भने ।
त्यस्तै, उनले पुटिनसँग युद्ध अन्त्यका लागि जस्तोसुकै प्रारुपमा पनि आफू वार्ता गर्न तयार रहेको बताए । यद्यपि वार्तामा भएका छलफल जनमत संग्रहबाट पारित हुनुपर्ने उनको भनाइ छ ।

अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउने
अमेरिकाले चिनियाँ अधिकारीमाथि प्रतिबन्ध लगाउने भएको छ । अमेरिकाको विदेशमन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रतिबन्ध लगाइने घोषणा गरेको हो ।
‘संयुक्त राज्य अमेरिका जनगणतन्त्र चीनका अधिकारीहरूले जोखिममा परेका मानिसहरको पक्षमा बोल्ने अमेरिकी नागरिक र विदेशमा शरण लिन चाहनेसमेत जातीय र धार्मिक अल्पसङ्ख्यक समुदायका सदस्यलाई तर्साउने, हरण गर्ने, सताउने र निगरानी गर्ने प्रयासहरूको निन्दा गर्दछ ।’ चीनलाई उसको आधिकारिक नामबाट सम्बोधन गर्दै विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ, ‘हामी विश्वभर मानव अधिकारको रक्षाका लागि प्रतिबद्ध छौँ र जवाफदेहितालाई प्रोत्साहन गर्न सबै कूटनीतिक एवम् आर्थिक कदम चाल्नेछौँ ।’

विदेश मन्त्रालयले यस्ता किसिमका चिनियाँ अधिकारीमाथि भिसा प्रतिबन्ध लगाइने जनाएको छ । विदेश मन्त्रालयले उइग्युर अल्पसङ्ख्यक मुसलमान विरुद्धको दमन रोक्न समेत आह्वान गरेको छ ।

यद्यपि विदेश मन्त्रालयले प्रतिबन्ध लगाएको भनिएका मानिसहरूको पहिचान भने खुलाएको छैन । ‘अमेरिकी कानून अनुसार हरेक भिसा अभिलेख गोप्य राखिन्छन् र यसबारे हामी विस्तृत विवरण दिन सक्दनौं ।’ विदेश मन्त्रालयको भनाइ छ ।

पुटिन भित्तामा पुगेको बाइडेनको टिप्पणी
अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेन आक्रमणका कारण रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘भित्तामा पुगेको’ टिप्पणी गरेका छन् । ह्वाइट हाउसमा साइबर सुरक्षाका विषयमा भएको गोलमेच बैठकपछि आयोजित कार्यक्रममा उनले युक्रेन आक्रमणका कारण भित्तामा पुगेपछि पुटिनले युक्रेनमा घातक हतियारको प्रयोग बढाइरहेको समेत बताए ।

रुसले हाइपरसोनिक क्षेप्यास्त्र प्रहार गरेको पुष्टि समेत गरे । पुटिनतर्फ लक्षित गर्दै बाइडेनले भने, ‘उनी जति भित्तामा पुग्छन्, उति नै घातक हमला गर्नेछन् ।’ उनले रुसले युक्रेनमा रासायनिक हतियार पनि प्रयोग गर्नसक्ने आशंका व्यक्त गरे ।

युक्रेनी फौजले आक्रमणकारी रुसी सेनालाई ध्वस्त पारेको दाबी गर्दै बाइडेनले युक्रेन आक्रमणमा सुस्त भएका कारण पुटिनको व्यग्रता बढ्दै गइरहेको समेत बताए ।

अमेरिकाले लगाएको प्रतिबन्धको बदला लिन रुसले साइबर आक्रमण गर्नसक्ने भन्दै यसका लागि तयार रहन समेत आह्वान गरे । ‘मेरो विचारमा उनले साइबर उपकरण्को प्रयोग गर्नेछन् – साइबर आक्रमण ।’ उनले भने, ‘उनीहरूसँग निकै परिष्कृत साइबर क्षमता छ ।’

रुसी अदालतमा मेटा अतिवादी ठहर

रुसको एक अदालतले फेसबुकको माउ कम्पनी मेटालाई ‘अतिवादी गतिविधि’ मा दोषी रहेको ठहर गरेको छ । राजधानी मस्कोस्थित त्र्भेस्कोयी जिल्ला अदालतले प्रेस विज्ञप्ति जारी गर्दै रुसमा मेटाको गतिविधिलाई बन्द गर्न माग गर्दै रुसी अभियोजनकर्ताहरूले दायर गरेको मुद्दामाथि सुनवाई गर्दै यस्तो ठहर गरेको हो ।

यसअघि रुसी अभियोजनकर्ताहरूले रुसविरुद्ध घृणा फैलाउने एवम् रुसी नागरिकविरुद्ध हिंसात्मक टिप्पणीलाई छुट दिने मेटाको कदम अतिवादी रहेको उल्लेख गर्दै अदालतमा मुद्दा दायर गरेका थिए । यससँगै अदालतले रुसमा मेटाका सामाजिक सञ्जालमाथि लगाइएका प्रतिबन्धलाई पनि सदर गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसमाथि विभेद गरेको र घृणा फैलाएको भन्दै त्यहाँ यसअघि नै मेटाका सामाजिक सञ्जालहरू फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लगाइएको छ । यद्यपि अदालतको पछिल्लो फैसलाले मेटाको अर्को सामाजिक सञ्जाल ह्वाट्सएपमा भने कुनै असर नपर्ने रोयटर्सले जनाएको छ । फेसबुक र इन्स्टाग्राममाथि प्रतिबन्ध लागेपनि त्यहाँ ह्वाट्सएप भने चलिरहेको बताइएको छ ।
यस्तै, रुसको सञ्चार नियामक निकाय रोस्कोम्नाद्जोरले रुसमा सञ्चालित विदेशी इन्टरनेट कम्पनीको सूचीबाट मेटालाई हटाउने र सामाजिक सञ्जालका रूपमा फेसबुक र इन्स्टाग्रामको दर्तालाई पनि खारेज गर्ने बताएको छ ।

अदालतको फैसलाविरुद्ध उपल्लो अदालतमा पुनरावेदन गर्न सक्ने भए पनि मेटाले यसबारे केही टिप्पणी गरिसकेको छैन ।

प्रकाशित मिति : ८ चैत्र २०७८, मंगलबार  ८ : ५६ बजे

भारतीय राष्ट्रवादी कांग्रेस नेता बाबा सिद्दिकीको हत्या

काठमाडौं– भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्या

स्याङ्जाका एघार अतिरिक्त हुलाक खारेज

स्याङ्जा– स्याङ्जाका ११ अतिरिक्त हुलाक कार्यालयहरू खारेज भएका छन् ।

भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउ

सुर्खेत– कर्णाली प्रदेशका हिमाली जिल्लामा उत्पादित स्याउले यसपटकको दशैँमा राम्रो

दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

बाँके– घटस्थापनादेखि स्थापना गरिएका दुर्गा भवानीको मूर्ति (प्रतिमा) आज विसर्जन

सूचना प्रविधिसँगै ‘कटुवाल प्रथा’

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–९ घतानका ६० वर्षीय दिलबहादुर दमाई र