अडियो सुन्नुहोस्ः
महिलालाई विद्यालय जान दिने निर्णयबाट पछि तालिवान हट्यो
अफगानिस्तानमा सरकार हाँकिरहेको तालिवानले महिलालाई विद्यालय जान दिने निर्णय रद्द गरेको छ । सर्वत्र दबाबपछि अफगानिस्तानमा तालिवानले बुधबारदेखि छात्रालाई विद्यालय जान दिने निर्णय गरेको थियो । तर, विद्यालय जान दिने निर्णय कार्यान्वयन हुने केही घण्टा अगाडि एकाएक निर्णय नै रद्द गरिएको हो ।
छात्रालाई विद्यालय जान दिने निर्णय कार्यान्वयन नहुने भएको सरकारी अधिकारीहरूले पनि पुष्टि गरेका छन् । तर, किन निर्णय रद्द गरियो भन्ने बारेमा भने उनीहरूले केही बताएका छैनन् । तालिवानको यस्तो निर्णयबाट खुशी भएकाहरू अहिले निर्णय कार्यान्वयन नहुने भएपछि दुःखी भएका छन् ।
छात्रालाई विद्यालय जान दिने निर्णय तत्काल कार्यान्वयन नहुने हो ? भन्ने पत्रकारहरूको प्रश्नमा तालिबान प्रवक्ता इनामुल्लाह सामाङ्गानीले भने, ‘हो, त्यो सत्य हो ।’
सरकारले विद्यालय जान नदिने भएपछि विद्यालय जाने तयारीमा रहेका छात्रा घरमै बस्न बाध्य भएका छन् ।
‘निर्णय कार्यान्वयन हुन नसक्नुको कारणका बारेमा अहिले नै विस्तृत व्याख्या गर्न हामीलाई अनुमति छैन ।’ शिक्षा मन्त्रालयका प्रवक्ता अजीज अहमद रायनले भने ।
अफगानिस्तानमा तालिवानले सत्ता कब्जा गरेयता महिला अधिकार खोसिएको भन्दै अधिकारवादीहरूले निरन्तर आवाज उठाउँदै आएका थिए । उनीहरूको दबाबका कारण तालिवान उच्च अधिकारीहरूले महिलाहरूको अधिकार पुनर्बहाली हुने आश्वासन पनि दिँदै आएका थिए ।
विश्वभरबाट आएको दबाबका कारण तालिबान सरकारले छात्रालाई अध्ययन अध्यापन, रोजगारी लगायतका कार्य गर्न दिने निर्णय पनि गरेको थियो । तर अहिले आएर एकाएक त्यस निर्णयबाट तालिबान पछाडि हटेको हो ।
तालिवानले छात्रालाई विद्यालय जान दिने निर्णयबाट पछाडि हटेकोप्रति संयुक्त राष्ट्रसंघले पनि आपत्ति जनाएको छ । राष्ट्रसंघीय अधिकारीहरूले तालिबान सरकारको पछिल्लो निर्णयबाट अत्यन्त दुःखी बनाएको टिप्पणी गरेका छन् ।
ब्लाक बक्स भेटियो
चीनमा गत सोमबार दुर्घटनामा परेको विमानको ब्ल्याक बक्स फेला परेको छ । एक सय ३२ जना सवार विमान दक्षिणी चीनमा गत सोमबार दुर्घटनाग्रस्त भएको थियो । चाइना इष्ट्रन एयरलाइन्सको बोइङ ७३७ विमान चीनको गुआङ्सी प्रान्तको वुझोउ शहर नजिकै दुर्घटनाग्रस्त भएको थियो ।
पहाडको जंगली एवम् ग्रामीण क्षेत्रमा दुर्घटना भए पनि दुर्घटना लगत्तै उद्धार टोलीहरू घटनास्थलमा पुगेर खोजी तथा उद्धारको प्रयास गरेका थिए ।
यद्यपि वर्षा र हिलो कारण उद्धारकर्ताहरूले बुधबार मात्रै विमानको ब्ल्याक बक्स फेला पारेको जनाइएको छ । दुर्घटनामा भएको मानवीय क्षतिको औपचारिक विवरण भने हालसम्म सार्वजनिक भएको छैन । यद्यपि दुर्घटनामा कोही पनि जीवित नरहेको ठानिएको छ ।
विमान बेपत्ता हुनुमा मौसमसम्बन्धी कारण नभएको पनि सरकारी अधिकारीहरूले स्पष्ट पारेका छन् । घटनास्थलमा पुगेको उद्धारकर्ताहरूले पनि औपचारिक र आधिकारिक रूपमा घटनाका बारेमा विस्तृत जानकारी दिएका छैनन् ।
इजरायलमा ४ जनाको हत्या
दक्षिणी इजरायली सहर बिरशेबामा भएको हमलामा कम्तिमा चार जनाको मृत्यु भएको छ । हमलामा अन्य केही घाइते भएका छन् ।
तीन जनाको शहरको सपिङ मल अगाडि चक्कु प्रहारमा मृत्यु भएको र चौथा व्यक्तिको आक्रमणकारीले चलाएको बसले किचेर ज्यान गएको हो ।
प्रहरीले सो घटनालाई शंकास्पद अतिवादी प्रकृतिको आक्रमण भनेको छ । आक्रमणकारीलाई एक सर्वसाधारणले गोली हानेर मारिदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
इजरायलको आन्तरिक सुरक्षा निकायले आक्रमणकारी अरबी मूलका इजरायली भएको जनाएको छ । यसअघि ती आक्रमणकारी अतिवादी समूह इस्लामिक स्टेटलाई समर्थन गरेको आरोपमा जेल समेत परेको बताइएको छ ।
प्रहरीले आक्रमणकारीको नाम मुहम्मद गालेब अहमद अबु अल्किनी रहेको र बिरशेबाबाट झन्डै १२ माइल पूर्वमा रहेको हुरा सहरमा शिक्षक रहेको जनाएको छ ।
आणविक हतियारबारे बोले पुटिनका प्रवक्ता
रुसले आणविक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएको छ । युक्रेनमा जारी रुसी आक्रमणको सन्दर्भमा क्रेमलिनका प्रवक्ता दिमित्री पेश्कोभले मुलुकको अस्तित्वमाथि नै खतरा आएमा रुसले आणविक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएका हुन् ।
पेस्कोभले भने, ‘हामीसँग घरेलु सुरक्षाको अवधारणा छ र यो सार्वजनिक छ । आणविक हतियार प्रयोग गर्न सक्ने सबै अवस्थाहरू पढ्न सक्नुहुन्छ । तसर्थ, हाम्रो देशको अस्तित्वमाथि खतरा भएमा हाम्रो अवधारणाअनुसार यसलाई प्रयोग गर्न सकिन्छ ।’ सीएनएन इन्टरनेसनलसँगको एक अन्तरवार्तामा उनले भने ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सन्दर्भमा आणविक विकल्प प्रयोग गर्दैनन् भन्नेमा ‘विश्वस्त’ हुनुहुन्छ भन्ने सीएनएनका प्रश्नमा पेस्कोभको सो भनाइ आएको हो ।
युक्रेन हमलाका क्रममा रुसी सेनाले आम विनाशकारी हतियार प्रयोग गर्न सक्ने चिन्ता व्यक्त हुँदै आएका छन् । युक्रेन आक्रमणको सुरुआती दिनहरूमा पुटिनले आफ्नो मुलुकको आणविक बललाई तैनाथ रहन निर्देशन दिएका थिए ।
इमरान खानको आग्रह
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले इस्लामिक देशहरूसमक्ष अफगानिस्तानलाई सहयोग गर्न आह्वान गरेका छन् । ‘अर्गनाइजेसन अफ इस्लामिक कोअपरेसन’ ओइसीको विदेश मन्त्रीहरूको ४८ औँ सम्मेलनलाई सम्बोधन गर्दै उनले विश्वका इस्लामिक देशहरूलाई हाल अफगानिस्तानले सामना गरिरहेका चुनौती र समस्याका बारेमा अध्ययन गर्न समेत आग्रह गरे ।
उनले हाल अफगानिस्तानले निकै अप्ठेरो परिस्थितिको सामना गरिरहेकाले यस्तो अवस्थामा विश्वका सबै इस्लामिक देशहरूले सहयोग गर्नुपर्ने आवश्यकता रहेको धारणा राखेका हुन् ।
पाकिस्तानको विदेश मन्त्रालयले दिएको जानकारीअनुसार यस सम्मेलनमा विश्वव्यापी तथा क्षेत्रीय राजनीतिक एवं अन्य मुद्दाहरू, एजेण्डामा छलफल भइरहेको छ ।
त्यस सम्मेलनमा पाकिस्तानका प्रधानमन्त्री खानले लामो हिंसात्मक द्वन्द्वपछि हाल तालिबान सरकार रहेको अफगानिस्तानमा अहिले नै मानवीय सहायताको खाँचो परेको र यसका लागि सहयोग गर्नु इस्लामिक देशहरूको कर्तव्य पनि भएको बताए ।
उनले अफगानिस्तानमाथि लगाइएका विभिन्न खालका प्रतिबन्ध तथा नाकाबन्दीहरूलाई हटाउन र त्यहाँका नागरिकलाई परेको आवश्यकताको खाँचो पूरा गर्न सबै इस्लामिक देशहरू लाग्नका लागि पनि आग्रह गरेका थिए ।
गत वर्षको अगष्ट महिनामा इस्लामिक लडाकु समूह तालिवानले सत्ता कब्जा गरेपछि त्यहाँ मानवीय संकट बढेको बताइएको छ ।
युक्रेनको मारिओपलमा एक लाख नागरिकको बिचल्ली
रुसी बम हमला र गोलाबारीका कारण युक्रेनको दक्षिणी बन्दरगाह शहरमा करीब १ लाख नागरिक बिचल्लीमा परेका छन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हालसम्म मारिओपलमा करिब १ लाख मानिस अमानवीय अवस्थामा रहेको बताएका छन् । ‘उनीहरूलाई खाना, पानी र औषधि छैन, निरन्तर गोलाबारी र बम हमला भइरहेको छ ’, उनले भने ।
मानवीय कोरिडोरमार्फत नागरिकहरूलाई उद्धार गर्ने प्रयासहरू रूसी गोलाबारी र ‘योजनाबद्ध आतंक’का कारण अवरोध भएको उनले बताए। एउटा मानवीय कोरिडोर रुसले नियन्त्रणमा लिएको जानकारी दिँदै जेलेन्स्कीले सरकारी कर्मचारी र उनीहरूका बस चालकलाई रुसी सेनाले बन्धक पारेको आरोप लगाए ।
जेलेन्स्कीले अगाडि भने, ‘सम्पूर्ण कठिनाइका बाबजुद मारिओपोलका ७ हजार २६ जनको मंगलबार शहरबाट उद्धार गरिएको छ ।’
यसैबीच, पछिल्लो दुई सातामा युक्रेनले १ लाख टन मानवीय सहयोग प्राप्त गरेको उनले बताए । जेलेन्सकीले क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसलाई युक्रेनको भ्रमण गर्न गरेकोसमेत जानकारी दिएका छन् ।
मालीमा हिंसा
अफ्रिकी मुलुक मालीमा भएका छुट्टाछुट्टै दुई आक्रमणमा परी १६ सैनिकको मृत्यु भएको छ । पछिल्ला केही वर्षयता हिंसात्मक आक्रमणको चपेटामा पर्दै आएको मालीमा भएका बेग्लाबेग्लै घटनामा १६ सैनिकको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
हिंसात्मक घटनामा अरु १८ जना घाइते भएको बताइएको छ । आक्रमणपछि गरिएको जवाफी कारवाहीका क्रममा ३७ विद्रोही लडाकु पनि मारिएका र उनीहरूबाट ठूलो परिमाणमा हतियारहरू जफत गरिएको मालीको सेनाले जानकारी दिएको छ ।
आक्रमणमा आतंकवादी संगठन इस्लामिक स्टेटको हात रहेको बताइएको छ । दुई करोड १० लाख जनता भएको गरिब राष्ट्र मालीमा सन् २०१२ मा शुरु भएको तुआरेग विद्रोह र इस्लामिक अतिवादीको हिंसाका कारण दशौं हजार मानिसहरूको ज्यान गइसकेको छ भने अरु धेरै घाइते भएका छन् ।
त्यसयता आतंकवादी आक्रमणहरू छिमेकी मुलुकहरू बुर्किना फासो, मौरिटेनिया, निजेरजस्ता मुलुकमा समेत फैलिएको छ । हिंसा अन्त्यका लागि मालीका पूर्व उपनिवेशकर्ता मुलुक फ्रान्सले त्यहाँ सन् २०१३ मा अपरेशन सर्भल नामक सैनिक कारवाही अघि बढाएको थियो ।
सन् २०२० मा सत्ता कब्जा गरेको मालीको सत्तारूढ सैन्य प्रशासनले जिहादी समूहसँग निरन्तर लड्दै आएको छ ।
फिलिपिन्सका राष्ट्रपति डुटेर्टेको निर्देशन
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेले विदेशी पर्यटकहरूलाई सहजै प्रवेश गर्न दिन निर्देशन दिएका छन् । कोरोनाभाइरस महामारीका कारण विदेशी पर्यटकहरूको प्रवेशमा कडाइ गरिदै आएकोमा अहिले संक्रमणमा कमी आएकाले अब खुकुलो बनाउनु पर्ने उनको भनाइ छ ।
विदेशी पर्यटकहरूका कारण देशको आर्थिक अवस्था सुधार गर्न सहज हुने अपेक्षा पनि गरिएको उनले बताए । ‘विदेशी पर्यटकहरू आउदा विदेशी रकम पनि आउछ, त्यसले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्नुका साथै आर्थिक सन्तुलनमा समेत सहयोग पुग्छ,’ उनले जारी गरेको निर्देशनमा उल्लेख गरिएको छ ।
निर्देशनमा कोरोना सम्वन्धी अन्य प्रतिबन्धात्मक व्यवस्थालाई पनि खुकुलो बनाइएको जानकारी दिइएको छ । देशको अर्थतन्त्रमा सुधार ल्याउन तत्काल नयाँ कार्यक्रमहरू ल्याउनु पर्नेमा पनि राष्ट्रपति डुटेर्टेले जोड दिएका छन् ।
फिलिपिन्समा अहिलेसम्म कोरोनाभाइरसका कारण तीस लाख ६७ हजार मानिस सङ्क्रमित भएका छन् भने ५८ हजार २८१ जनाको मृत्यु भएको छ । देशको अहिलेको कुल जनसङ्ख्या छ करोड ५० लाख २० हजारभन्दा बढी रहेकोमा ती मध्ये झण्डै तीन चौथाइले पूर्ण खोप लगाइसकेका सरकारी अधिकारीहरूको दाबी छ ।
युद्धका कारण चाउचाउको अभाव
युद्ध प्रायः युद्धरत पक्षहरूमा मात्र सीमित रहँदैन । यसले लडाइँबाट टाढा रहेका देशहरूमा विभिन्न समस्याहरू निम्त्याउँछ । युक्रेन र रुसबीचको लडाइँका कारण उत्पन्न तेलमा मूल्यबृद्धिको असर विश्वभर महसुस गरिएको छ ।
रुसद्वारा युक्रेनमा जारी आक्रमणको असर युद्ध क्षेत्रबाट धेरै टाढा रहेको इन्डोनेसियामा पनि देखिएको छ । युक्रेन द्वन्द्वले इन्डोनेसियामा प्रतिष्ठित र अत्यधिक लोकप्रिय ‘इन्डोमी’ चाउचाउको अभाव देखिएको हो ।
युक्रेन इन्डोनेसियामा गहुँको सबैभन्दा ठूलो आपूर्तिकर्ता मुलुक हो र रूसी आक्रमणपछि युक्रेनी बन्दरगाहहरूमा गतिविधि निकै सुस्त भएको छ ।
यसैकारण गहुँको पिठोबाट उत्पादन हुने इन्डोमी चाउचाउको उत्पादन प्रभावित भएको बताइएको छ । इन्डोमी ब्रान्डले इन्डोनेसियामा तयारी चाउचाउको अवधारणालाई पहिलो पटक परिचय र लोकप्रिय बनाएको बताएको छ ।
यो चाउचाउ इन्डोनेसियाली समाजको हरेक क्षेत्रमा लोकप्रिय रहेको बताइन्छ । विद्यार्थीहरूदेखि छिटो खाजा खान चाहनेहरूले पनि यही चाउचाउ रुचाउँछन् ।
प्रतिक्रिया