जसले रुसी सेनालाई हराएर राजधानी किभ जोगाए « Khabarhub

जसले रुसी सेनालाई हराएर राजधानी किभ जोगाए

रुसी आक्रमणलाई निस्तेज पारेका बहादुर सेना प्रमुखको वृत्तान्त



रुसले गत फेब्रुअरी २४ मा झन्डै २ लाख सैनिक परिचालन गर्दै युरोपेली लोकतान्त्रिक देश युक्रेनमाथि स्थल, जल र हवाई तीनतिरबाट सैन्य आक्रमण सुरु गर्‍यो।

महिनौँदेखि युक्रेनमाथि आक्रमण गर्न लागेको अस्वीकार गर्दै आएको रुसले युक्रेनको राजधानी किभ नजिकै रहेको बोरिस्पेल अन्तर्राष्ट्रिय विमानस्थल, युक्रेनी सैन्य मुख्यालय, हवाई प्रतिरक्षा प्रणाली, हवाई अड्डाहरू, गोदामलगायत अधिकांश रणनीतिक सैन्य संरचनाहरूमाथि एकैसाथ आक्रमण गर्दै युद्ध सुरु गर्‍यो।

पहिलो चरणको क्षेप्यास्त्रको आक्रमणलगत्तै रुसी ट्याङ्क र सैनिकहरू युक्रेनको उत्तर, पूर्व र दक्षिणी सीमापार गर्दै युक्रेनी भू-भाग कब्जा गर्न थाले।

सुरुमा रुसी सेना तीव्र गतिका साथ अगाडि बढे उनीहरूले २ दिनभित्रै सम्पूर्ण युक्रेन कब्जा गर्दै आफ्नो कठपुतली सरकारको स्थापित गर्ने उद्देश्य बोकेका थिए। राजधानी किभ कब्जा गर्नका लागि रुसी सेना आक्रमणको पहिलो दिन नै प्यारासुटको सहाराले किभनजिकैको एउटा प्रमुख हवाई शिविर कब्जा गरेर राजधानीलाई घेराबन्दी थालेका थिए।

रुसी सैनिकहरू पूर्वी लुह्यान्स्क नजिकैको खार्कीभ सहरमा बेलारुसबाट प्रवेश गरे भने दक्षिणतर्फ उनीहरूले सन् २०१४ देखि नियन्त्रणमा लिएको क्राइमियाबाट प्रवेश गरी आक्रमणलाई तीव्र बनाए।

रुसी सैनिकहरूले युक्रेनका मुख्य बन्दरगाह सहरहरू ओडेसा र मारिऊपोलमा अवतरण गर्दै घेराबन्दी थाले। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०२१ को अन्त्य देखिनै  युक्रेन आक्रमणको तयारी स्वरूप सीमा क्षेत्रमा ठुलो  सैनिक तैनाथी सुरु गरिसकेका थिए।रुसले युक्रेनको प्रजातान्त्रिक पद्धतिबाट निर्वाचित सरकारलाई हटाउन सैन्य बल प्रयोग गर्‍यो।

रुसी आक्रमणले दोस्रो विश्वयुद्धपछि युरोपको सबैभन्दा ठुलो शरणार्थी सङ्कटको सुरुवात गर्‍यो। द्धन्द्धमा रुसका सामु युक्रेन केही घण्टा भन्दा धेरै टिक्न सक्दैन भन्ने धेरैको अनुमान थियो।केही दिनमै रुस विजयी हुने अनुमान केही दिनपछि युक्रेनी सेनाले लिएको रणनीतिक सफलतासँगै गलत साबित भयो।

युक्रेनमाथि आक्रमण गर्न आएका रुसी सेना आफ्नो सैन्य उद्देश्य हासिल नगरी यसरी हतारो र अव्यवस्थित रूपमा पछि हट्लान् भन्ने कसैले अनुमान थिएनन्।

आधुनिक प्रविधि र सैनिक शक्तिका हिसाबमा अत्यन्त शक्तिशाली मानिने रुसले युक्रेनजस्तो कमजोर सैन्य शक्ति रहेको मुलुकलाई केही दिनमै सहज जित हासिल गर्ने सबैलाई लागेको थियो ।

युक्रेनमा रुसी असफलताको पर्दा पछाडिका मुख्य पात्र हुन युक्रेनी सेनाका सेनाध्यक्ष भलेरी जालुझ्नी। जालुझ्नी रुसी सेनालाई पराजित गर्न दृढ थिए।

उनकै नेतृत्वमा युक्रेनी सेनाले रुसी सेनाबाट मुलुकका प्रमुख शहरहरू जोगाउने मात्रै होइन, राजधानी किभबाट केही हप्तामै रुसी सेनालाई ठुलो क्षतिको सामना गरी फर्काउन सफल भए।

४८ वर्षे जालुझ्नीलाई राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सन् २०२१ को जुलाईमा सेनाध्यक्षमा नियुक्त गरेका थिए।सैनिक परिवारबाट आएका जालुझ्नी र उनका सहकर्मी सैनिक अधिकारीहरु देखि रुसविरुद्ध युद्धका लागि रुसले क्रिमिया कब्जा गरेसँगै सन् २०१४ देखि तयार थिए।

निकै लो प्रोफाइल मा बस्न रुचाउने सेनाध्यक्ष भलेरी जालुझ्नीको रणनीति रुसी आक्रमणपछि धेरैका लागि अपत्यारिलो बन्न पुग्यो।

विश्वभरका सैन्य रणनीतिकार र विश्लेषकलाई आश्चर्यमा पार्दै जालुझ्नीले शालीन ढंगले राजधानी किभ जोगाउने रणनीति प्रयोग गरे, सैनिकमा आत्माबल बढाएर रुसी सेनाको बेगलाई रोक्ने मात्र होइन अप्रत्याशीप्रत्याक्रमणबाट ठुलो क्षति पुराएर राजधानी किभ नजिकका सबै क्षेत्रबाट फिर्ता जान बाध्य बनाए।

युक्रेनी सेनासँगको भिडन्तमा धेरै क्षति पुगेपछि रुसी सेनाको केही घण्टाका सिंगो युक्रेन कब्जा गरी कठपुतली सरकार बनाउने सपना चकनाचुर बनाइदिए।अन्तर्राष्ट्रिय सैन्य वृत्तमा उनको साहस र रणनीतिका कारण व्यक्तित्व उँचो बनेको छ।

धेरै अर्थमा जालुझ्नीले युक्रेनी सेनाको नयाँ पुस्तालाई प्रतिनिधित्व गर्छन् । उनीसँग सन् २०१४ यता युक्रेनको डोनबासमा जारी युद्धको पनि गहिरो अनुभव छ । यति मात्रै होइन, युद्ध मैदानमा नरहँदा उनले नेटोका सैनिक अधिकारीहरूसँग तालिम समेत लिएका छन् ।नेटोसँगको सहकार्यले युक्रेनी फौजका कमाण्डरहरुलाई व्यवसायिक मात्रै नभई पश्चिमा मुलुकका अत्याधुनिक सेनाको शैलीमा विकेन्द्रित युद्धकला पनि सिकाएको छ। धेरैले यसैकारण सोभियत संघको अधिनायकवादी शैलीमा आधारित रुसी फौज युक्रेनी फौजसँग टिक्न नसकेको टिप्पणी गर्छन् ।

‘म सायद उनीलाई एक व्यक्तिको रुपमा मात्र नभई नयाँ पुस्ताका वरिष्ठ, मध्य स्तर र कनिष्ठ अधिकारीका प्रतिनिधिका रुपमा हेर्छु।’ युक्रेनी वायुसेनाका पूर्वसैनिक अधिकारी ओलेक्सेई मेल्नेक भन्छन् ।

गत वर्षको सेप्टेम्बर महिनामा अमेरिकाले युक्रेनमाथि रुसले आक्रमण गर्न सक्ने चेतावनी दिँदै यसबारे गुप्तचरी सूचना दिएसँगै युक्रेनी फौज युद्धका लागि तयार रहेको जालुझ्नीको भनाइ छ ।

‘जिम्मेवारी सम्हाले देखि नै म जहिले पनि यही भन्दै आएको थिए । किनकि यो पूर्ण स्तरको आक्रमणको खतरा हो ।’ त्यसबेला रेडियो स्भोबोदालाई दिएको अन्तर्वार्तामा उनले भनेका थिए ।‘सैनिक बलका रुपमा हाम्रो कार्य ईश्वरको भर परेर बस्ने होइन । हामीले तयारी गर्नैपर्छ र हामी यसका लागि जे पनि गर्नुपर्ने हुनसक्छ ।’

जनवरी महिनामा जालुझ्नीले नेटोको शीर्ष सैनिक समितिसँग वार्ता गरेका थिए । नेटो सैनिक समितिका पदाधिकारीसँगको कुराकानीका क्रममा उनले युक्रेनी फौज तयार रहेको बताएका थिए ।‘मैले साझेदारहरूलाई हाम्रो युद्ध सन् २०१४ यता जारी रहेको र त्यसयता हामीले हाम्रो काम गर्दै आएको भनी सम्झाएँ ।’ वार्तापछि उनले युक्रेइन्फोर्म समाचार संस्थालाई बताएका थिए ।

विश्वलाई आश्चर्यमा पार्दै फेब्रुअरी २४ मा रुसी सेनाले युक्रेनमाथि आक्रमण गर्‍यो । रुसी ट्यांकहरुको लस्कर राजधानी किभ कब्जा गर्न आउँदै थिए भने लगातारको क्षेप्यास्त्र हमलाका कारण  मुलुकका विभिन्न भौतिक पूर्वाधारलाई ध्वस्त पार्दै थिए । तर, सन् २०१४ मा रुसले युक्रेनको क्राइमिया कब्जा गरेदेखि नै यस्तो युद्धका लागि युक्रेनी सेनाले तयारी थालेका थिए ।

त्यसपछिका केही वर्षमा अमेरिका, बेलायत, क्यानाडा, पोल्याण्ड, लिथुआनिया र अरु नेटो साझेदारहरूले पश्चिमी युक्रेनमा युक्रेनी सेना र विशेष दस्तालाई तालिमका लागि विभिन्न प्रशिक्षण केन्द्र स्थापना गरेका थिए ।

रुस समर्थित पृथकतावादीसँगको लडाइँमा युक्रेनी सेनाको स– साना दस्ताका कमाण्डरहरुलाई युद्ध मैदानको निर्णय आफैँ लिन बाटो खोलेको थियो । यो ‘माथिको आदेश’ मात्रै मान्ने किसिमको सोभियत शैलीको सैनिक प्रक्रियाको ठिक विपरीत थियो । अहिले रुसी सेनालाई पनि त्यही ‘माथिको आदेश’ मात्रै मान्ने अधिनायकवादी शैलीले कमजोर बनाएको सैनिक विश्लेषकहरूको टिप्पणी छ। यही अधिनायकवादी सैनिक व्यवस्थाका कारण वरिष्ठ सैनिक अधिकारीहरू युद्धमोर्चामा खटिनुपर्ने अवस्था रहेको छ । यसका कारण धेरै रुसी सैनिक अधिकारीहरु युद्ध मैदानमा मारिएका छन् । सैनिक कमान्डर नैमारिएपछि रुसी सैनिक दस्ताहरु नेतृत्वविहीन समेत हुन पुगेको बताइन्छ ।

सन् १९७३ जुलाई महिनामा सैनिक परिवारमा जन्मेका जालुझ्नीका पिता त्यसबेला राजधानी किभबाट १ सय ५० माइल टाढा रहेको नोभोहार्द भोलेन्स्कीशहरमा खटिएका थिए । जालुझ्नीले ओदेसा सैनिक प्रतिष्ठान र राष्ट्रिय रक्षा प्रतिष्ठानमा प्रशिक्षण लिएका थिए । सन्२००७ मा प्रशिक्षण सकिए पश्चात् उनलाई विभिन्न पदमा रही सेवा गर्ने मौका मिल्यो । उनी फेरि सैनिक प्रतिष्ठान मै फर्केर थप प्रशिक्षण लिन थाले ।

सन् २०१४ को युरोमैदान क्रान्तिको केही महिनापछि उनको प्रशिक्षण पूरा भयो ।  यति नै बेला पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादी युद्ध शुरु भएको थियो ।उनलाई पनि त्यही मोर्चामा खटाइयो । सन् २०१४ को अगस्ट महिनामा ब्रिगेड कमाण्डरका रुपमा उनी डोनबास युद्धमा होमिन पुगे ।

सन् २०१९ मा जालुझ्नीलाई युक्रेनी सेना अन्तर्गत चेर्निभ शहरस्थित नर्थ अपरेसनल कमान्डको प्रमुख बनाइयो । सन् २०२० मा आर्मीइन्फोर्म नामक सैनिक समाचार साइटलाई दिएको अन्तरवार्तामा सैनिक बन्नु आफ्नो बच्चै देखिको सपना रहेको तर आफूले शीर्ष स्तरको सैनिक कमान्डर बन्छु भन्ने नसोचेको बताएका थिए ।

जालुझ्नीलाई सेनाको वरिष्ठ कमान्डर बन्नुलाई युक्रेनी सेनाको पुनर्गठन र आधुनिकीकरण प्रक्रियाको एक हिस्साको रुपमा लिन सकिन्छ ।

युक्रेनी सेना युवा, व्यावसायिक सैनिक र भविष्यका नेतृत्वकर्ताहरूबाट भरिएको उनी बताउँछन् । आर्मीइन्फोर्ममा उनी भन्छन् – ‘यिनीहरू एकदमै फरक किसिमका मानिसहरु हुन् । हामी भर्खरै सैनिक अधिकृतको रुपमा लेफ्टिनेन्ट हुँदाको समयमा यस्तो थिएनौँ । यी नयाँ अंकुराहरुले युक्रेनी सेनालाई ५ वर्षमै परिवर्तन गर्नेछन् ।’

(स्रोतः पोलिटीको, बीबीसी लगायत सञ्चार संस्थानहरु)​​​

प्रकाशित मिति : २९ चैत्र २०७८, मंगलबार  ७ : ४५ बजे

सर्वदलीय बैठकमा गगन र प्रचण्डको आक्रोश : यस्तो बेलामा प्रधानमन्त्री ठालु भएर बस्ने हो ?

काठमाडौँ – सुनसरीमा उत्पन्न तनावपूर्ण परिस्थिति र शान्ति-सुरक्षाको अवस्थालाई लिएर

चिकित्सकहरूको आन्दोलन आज पनि जारी, उपचार सेवा ठप्प (तस्बिरहरु)

काठमाडौँ– नेपाल चिकित्सक सङ्घले आज पनि देशभरका सरकारी तथा निजी

सर्वदलीय बैठकमा प्रचण्डको प्रश्न– सरकार सुनसरी घटनाको समाधानतर्फ किन अग्रसर हुन सकेन ?

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सर्वदलीय बैठकमा कांग्रेस सभापति थापाले के भने ?

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरीको देवानगञ्ज लगायत देशका

कप्तानगञ्ज घटना राज्य प्रायोजित आतंक हो : नेकपा

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको