दिनभर के के भयो देशभर ? (अडियोसहित) | Khabarhub Khabarhub

दिनभर के के भयो देशभर ? (अडियोसहित)


२३ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 5 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अडियो सुन्नुहोस्ः

तालमेलबारे २६ गतेसम्म निर्णय दिन सत्ता गठबन्धनको निर्देशन
सत्तारुढ ५ दलीय गठबन्धनले स्थानीय निर्वाचनमा गठबन्धनबाट उम्मेदवार बन्नेहरूको साझा मापदण्ड बनाउने भएको छ । गठबन्धन अन्तर्गतको स्थानीय निर्वाचन तयारी तथा अनुगमन समितिको आजको बैठकले उम्मेदवार चयनबारे पार्टीहरूको आ–आफ्नो विधि भएपनि साझा उम्मेदवार चयनका लागि न्यूनतम मापदण्ड बनाउने निर्णय गरेको हो । मापदण्ड कस्तो हुने भन्नेमा छलफल सुरु भए पनि टुंगो लागिसकेको छैन । समितिको बैठकले स्थानीय तहहरूमा गठबन्धनको अवस्था, चुनावी तालमेलको आधार र अन्य विविध विषयमा साझा प्रतिवेदन तत्काल बुझाउन प्रदेश समन्वय समितिलाई निर्देशन दिएको छ । 

सुपारी आयातको इजाजत नदिन सरकारलाई संसदीय समितिको निर्देशन
विदेशबाट सुपारीको आयात इजाजत रोक्न सरकारलाई संसदीय समितिले निर्देशन दिएको छ । प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सुपारी आयात इजाजतपत्र नदिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो । समितिको आजको बैठकपछि सभापति विमलप्रसाद श्रीवास्तवले सुपारी आयातमा रोक लगाउन निर्देशन दिए । विदेशी मुद्राको सञ्चिती कम रहेको अवस्थामा सुपारीजस्ता वस्तु आयातमा रोक लगाउनुपर्ने उनको भनाइ थियो । सभापति श्रीवास्तवले आयातको अवस्था अध्ययन गर्न संसदीय समिति भैरहवा, दाङ र नेपालगञ्जलगायतका जिल्लामा जान लागेको बताए ।

पेट्रोलियम पदार्थको खपत ५० प्रतिशत घटाउन राष्ट्र बैंकको आग्रह
नेपाल राष्ट्र बैंकले पेट्रोलको खपत घटाउन आग्रह गरेको छ । पेट्रोलियम पदार्थको मूल्य बढेसँगै आयातदर ८४ प्रतिशतले वृद्धि भएपछि राष्ट्र बैंकले खपत घटाउने योजना ल्याउन सरकारलाई आग्रह गरेको हो । आयात बढेर विदेशी मुद्रा सञ्चितिमा थप दबाब पर्ने देखिएपछि राष्ट्र बैंक दबाबमा छ । केन्द्रीय बैंकले सोधानान्तर घाटा कम गर्न र विदेशी मुद्राको सञ्चिति थप घट्न नदिन मासिक १२ अर्ब रुपैयाँसम्मको मात्र पेट्रोलियम पदार्थको आयात गर्न सरकारलाई प्रस्ताव गरेको हो । निगमले मासिक औसत २३ अर्बको इन्धन आयात गर्दै आएको छ ।

उद्योग व्यवसायको प्रगतिबिना मुलुक समृद्ध हुन सक्दैनः ओली
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उद्योग व्यवसायको उन्नति र प्रगति विना मुलुक समृद्ध हुन नसक्ने बताएका छन् । आज काठमाडौंमा नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले मुलुकको विकास र समृद्धिका लागि उद्योगीव्यवसायीहरूले नेतृत्व लिनुपर्ने समेत बताए । उनले आयात घटाउनका लागि प्रतिस्पर्धात्मक गर्ने खालको सस्तो र गुणस्तरीय सामान उत्पादन गर्नपर्ने धारणा राखे । उनले उद्योगलाई आधुनिकीकरण गर्दा श्रमिकको पनि आधुनिकीकरण गर्नुपर्ने बताउदै उद्योग व्यवसायले समाज परिवर्तन गर्नुपर्ने बताए ।  

चोभार सुक्खा बन्दरगाहको शिलान्याश गर्न कांग्रेसले तीन पटक रोक्ने प्रयास गरेको ओलीको आरोप
एमालेका अध्यक्ष ओलीले प्रधानमन्त्रीले मंगलबार उद्घाटन गरेको चोभार सुक्खा बन्दरगाहको शिलान्यास गर्न कांग्रेसले तीन पटक रोक्ने प्रयास गरेको आरोप लगाएका छन् । आज भक्तपुरको सिपाडोलमा विनासकारी भूकम्पबाट क्षति भइ पुननिर्माण गरिएको श्री शान्ति निकेतन माध्यामिक विद्यालयको उद्घाटन गर्दै अध्यक्ष ओलीले कांग्रेसले निर्माण गर्न अवरोध गरेको उक्त बन्दगाह एमालेको सरकारले नै निर्माण सम्पन्न गरेको र अहिले प्रधानमन्त्री शेर बहादुर देउवाले उद्घाटन गरेको बताए । उनले पटक पटक अवरोधपछि एमाले सरकारले बनाएको बन्दरगाह अहिले सञ्चालनमा आउनु सुखद रहेको धारणा राखे ।

थप ३ सय ६४ मेगावाट विद्युत बिक्रीको अनुमति 
नेपालले भारतीय विद्युत ऊर्जा बजारमा प्रतिस्पर्धी दरमा थप ३ सय ६४ मेगावाट विद्युत बिक्रीको अनुमति पाएको छ । भारतको विद्युत मन्त्रालयअन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले नेपाल विद्युत प्राधिकरणलाई भारतीय विद्युत बजारमा थप ३ सय ६४ मेगावाट विद्युत बिक्री गर्न स्वीकृत दिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा ऊर्जा मन्त्री पम्फा भुसालले यसबाट बर्खायाममा उत्पादित विद्युत मुलुकभित्र खपत गरि अतिरिक्त विद्युत को निर्यात दुई देशबीचको व्यापार घाटामा कमी आउने विश्वास व्यक्त गरिन् ।

कंगोमा विद्रोहीको हमलामा एक नेपाली शान्ति सैनिकको मृत्यु
संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ अफ्रिकी मुलुक कंगोमा खटिएका एक नेपाली सैनिकको विद्रोहीको आक्रमणमा परी मृत्यु भएको छ । नेपालका ‘श्री नेप क्यूआरएफ कम्पनी’ पहिलो डफ्फामा कार्यरत नेपाली शान्ति सैनिक सुर्खेत गुर्भाकोटका अनिल गुरुङको मृत्यु भएको हो । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार प्रमुख सेनानी निकिल कुँवरको कमान्डमा अपरेसन ‘बाली’को दौरानमा मंगलबार कर्डन एन्ड सर्चको कारबाही सञ्चालन गर्दा गुरुङ घाइते भएका थिए ।

सुनसरीमा ५ दलीय गठबन्धनले तालमेल गर्ने
सत्तारुढ ५ दलीय गठबन्धनले सुनसरीमा वडा तहदेखि नै चुनावी तालमेल गर्ने भएका छन् ।  आज बसेको पाँच दलको बैठकले गठबन्धन गर्ने निर्णय गर्दै तालमेलको निर्णय गर्न सबै दलका नेता सम्मिलित कार्यदल गठन समेत गरेको छ । कार्यदलले स्थानीय पालिकाहरूको वस्तुगत अवस्था अध्ययन गरि चैत २६ गतेसम्म प्रतिवेदन प्रस्तुत गर्ने बताइएको छ । गठबन्धनमा आबद्ध सबै दलहरूको प्रतिनिधित्व वडा सदस्यदेखि पालिका प्रमुखसम्म मिलाउने सहमति भएको प्रेस विज्ञप्ति जारी गरी जानकारी गराइएको छ । 

नेपाल टेलिकम प्रबन्ध निर्देशकका लागि तीन जनाको नाम सिफारिस
नेपाल टेलिकमको प्रबन्ध निर्देशक पदमा नियुक्तिका लागि छनौट गर्न गठित सिफारिस समितिले तीन जनाको नाम टुंगो लगाएको छ ।सञ्चार मन्त्रालयका सचिव वैकुण्ठ अर्यालको नेतृत्वमा गठित समितिले सर्टलिष्टमा परेका ९ जनामध्येबाट टेलिकममा कार्यरत दुई जना सहित तीन वटा नाम सिफारिस गर्न लागेको हो । सिफारिस समितिको आज गोप्य बैठकले संगीता पहाडी अर्याल, सुरज सिंह थापा र सुशील पौडेलको नाम सिफारिस गरेको बताइएको छ ।

सरकारले पुँजीगत खर्च गर्न नसकेको पूर्वअर्थमन्त्री डा. महतको आरोप
नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले पुँजीगत खर्च गर्न नसकेको बताएका छन् । रिपोटर्स क्लब नेपालले आज काठमाडौंमा गरेको साक्षात्कारमा उनले अहिले नेपालको आर्थिक अवस्थामा केही समस्या आएको र यस्तो बेला सरकारले पुँजीगत खर्च गर्न नसकेको बताए । अनुपयुक्त रूपमा नेपालमा बजेट धेरै ठूलो घोषणा गर्ने काम भएको भन्दै उनले आपत्ति जनाए । 

उदयपुरमा बालिका हत्या आरोपित सार्वजनिक 
उदयपुर जिल्लाको बेलका नगरपालिका ३ बुद्धचोकमा भएको बालिका हत्याका आरोपीलाई उदयपुर प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । कोशी जनता माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत वर्ष १६ की कविता सुनुवारको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेका भारतको सिक्किम राज्य बियुङ स्थायी घरभई उदयपुर बेलका न.पा.३ बस्ने बिनोद ढकाल र सोही स्थानकी १७ वर्षीया नाबालिकालाई जिल्ला प्रहरी कार्यालय उदयपुरले सार्वजनिक गरेको हो । 

चितवन भरतपुरका भूमिहीन दलितलाई लालपुर्जा वितरण
भरतपुरमा ४६ भूमिहीन दलित परिवारलाई जग्गाधनी लालपुर्जा वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा न २ का भूमिहीन दलित परिवारलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आज लालपुर्जा वितरण गरेका हुन् । लालपुर्जा वितरण कार्यक्रममा बोल्दै दाहालले विकास निर्माण, समृद्धि र सुकुम्बासी समस्या समाधान जस्ता काममा हातेमालो गर्न सबैलाई आग्रह गरे । कार्यक्रममा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले संविधानमा भएका कुरा कार्यान्वयन गर्न आफूहरू प्रतिबद्ध भएर लागिरहेको बताइन् ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि 
पछिल्लो २४ घण्टामा नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ३ सय ५८ पिसिआर परीक्षणका क्रममा १० जना र १ हजार ४ सय ४९ एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज ५७ जना संक्रमण मुक्त भएका छन् । हाल नेपालमा ७ सय ६५ सक्रिय संक्रमित आइशोलेशनमा रहेको  स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

दोलखामा पौराणिक हरिसिद्धि देवी नाच सम्पन्न
दोलखामा पौराणिक हरिसिद्धि देवी नाच सम्पन्न भएको छ । ललितपुरमा पौराणिक रुपमा देखाइने गरेको हरिसिद्धि देवी नाच १२ वर्षमा एकपटक हरिसिद्धि क्षेत्र बाहिरका भक्तपुर, धुलिखेल, पनौती र पशुपतिमा देखाइने गरेकोमा यस वर्षबाट पौराणिक सहर दोलखामा पनि ल्याइएको हो । वासिङ्टन विश्वविद्यालयका प्राध्यापक लिन्डा इलिट्सको विस्तृत लेखमा ‘ललितपुरको हरिसिद्धि नाच दोलखामा पनि लाने गरिएको’ उल्लेख भएकोले यस वर्षबाट दोलखामा यो नाच ल्याइएको संस्कृतिविद्को भनाइ छ ।

७ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने नेपालको लक्ष्य पूरा नहुने एडीबीको प्रक्षेपण 
एसियाली विकास बैंकले नेपालको आर्थिक विकास प्रक्षेपणसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै नेपालले ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल नगर्ने बताएको छ । आगामी आर्थिक वर्षबाट नेपालको आर्थिक विकासमा सुधार हुँदै जाने प्रक्षेपण एसियाली विकास बैंकले गरेको छ । आर्थिक वर्ष २०७८/७९ को नेपालको आर्थिक वृद्धिदर ३ दशमलव ९ प्रतिशत हुने एसियाली विकास बैंकले प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशतले ऋणात्मक रहेको एसियाली विकास बैंकले जनाएको छ । 

कृषि तथा पशु विकास मन्त्रालयको प्राविधिक सहयोगमा तीन दिने गोष्ठीको आयोजना
कृषि उत्पादकत्व वृद्धिका लागि उन्नत जातका बीउ, मल खाद र कृषि औजार प्रयोगका बारेमा बृहत् छलफल गरी उचित निष्कर्ष निकाल्नका लागि तीन दिने गोष्ठीको आयोजना गरिएको छ ।कृषि तथा पशु विकास मन्त्रालयको प्राविधिक सहयोगमा साल्ट ट्रेडिङ कर्पोरेशन र इन्डियन पोटास लिमिटेडको संयुक्त आयोजनामा आजदेखि सुरु भएको गोष्ठीमा कृषिको आधुनिकीकरणका विविध विषयमा छलफल हुने बताइएको छ । सम्मेलनमा नेपाल सरकारका उच्च अधिकारी, प्रदेश सरकारका अधिकारी, कृषि वैज्ञानिक, सरोकारवाला तथा भारतका प्रख्यात कृषि वैज्ञानिकको सहभागिता रहेको छ । 

प्रकाशित मिति : २३ चैत्र २०७८, बुधबार  १० : ३१ बजे

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता

पहिलो ओभरमै नेपालले गुमायो भुर्तेलको विकेट

काठमाडौं – स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमा नै

स्कटल्यान्डले नेपाललाई दियो १९४ रनको लक्ष्य

काठमाडौं – स्कटल्याण्डमा जारी त्रिदेशीय टी–ट्वान्टी आई सिरिजको अन्तिम खेलमा

बिपी राजमार्गमा राति १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक – बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान