काठमाडौं– नयाँ प्रधानमन्त्री चयनका लागि पाकिस्तानी संसद्मा आज सोमबार मतदान हुँदैछ । पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएअनुसार नयाँ प्रधानमन्त्री चयन गर्नका लागि सोमबार दिउँसो २ बजे संसद् बैठक आह्वान गरिएको छ ।
नयाँ प्रधानमन्त्रीका लागि दुई जनाले मनोनयन दर्ता गराएका छन् । नयाँ प्रधानमन्त्रीका आकांक्षीमा पाकिस्तान मुस्लिम लिग– नवाजका अध्यक्ष शहबाज शरिफ तथा निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका उपाध्यक्ष तथा निवर्तमान विदेशमन्त्री शाह महमुद कुरैशी छन् ।
यद्यपि विपक्षी गठबन्धनबाट उम्मेद्वारी दर्ता गराएका शरिफ नयाँ प्रधानमन्त्री बन्ने निश्चितजस्तै रहेको बताइएको छ । यसअघि आइतबार पीटीआईका वरिष्ठ नेता तथा निवर्तमान सूचनामन्त्री फवाद चौधरीले आफ्ना पार्टीका सबै सांसद्हरुले सामूहिक राजीनामा दिने घोषणा गरेका थिए । तर, पार्टीका तर्फबाट प्रधानमन्त्री उम्मेद्वार कुरैशीले भने यो घोषणाको खण्डन गरेका छन् ।
एआरवाई च्यानललाई दिएको अन्तरवार्तामा चौधरीले आफ्ना पार्टीका सांसद्हरुले राजीनामा नदिने स्पष्टोक्ति दिएको डनले जनाएको छ । यसअघि शनिबार अबेर प्रधानमन्त्री इमरान खानविरुद्ध अविश्वासको प्रस्तावलाई संसद्ले पारित गरेसँगै उनी पदमुक्त भएका थिए ।
प्रतिक्रिया