निर्वाचनमा पैसा : कति भ्रम, कति यथार्थ ? | Khabarhub Khabarhub

निर्वाचनमा पैसा : कति भ्रम, कति यथार्थ ?



स्थानीय सरकारले पहिलो पाँच वर्षे कार्यकाल बिताएसँगै आसन्न चुनावको मुखमा उम्मेदवारले चुनावमा खर्च गर्ने पैसाको निकै चर्चा भइरहेको छ । विषयलाई यसरी उचालिएको छ कि, यही मुद्दाले कतिपय चुनाव लड्न भनेर हच्किने र भाग्ने अवस्था आउँछ । जनतालाई चुनावमा पैसाको खोलो बगाइन्छ भन्ने प्रभाव पनि पार्न खोजिएको छ ।वास्तवमा यो भाष्य कसरी सिर्जना भइरहेको छ र यो विषयलाई कसले मुद्दा बनाइरहेको छ भन्ने फरक विषय हो । यस्ता हल्ला फैलाइनुको पनि कारण छ ।

विषयलाई यसरी उचालिएको छ कि, यही मुद्दाले कतिपय चुनाव लड्न भनेर हच्किने र भाग्ने अवस्था आउँछ । जनतालाई चुनावमा पैसाको खोलो बगाइन्छ भन्ने प्रभाव पनि पार्न खोजिएको छ ।

चुनावका बेला पैसा बाँडेको भन्ने हाउगुजी जताततै सुन्न पाइनछ । तर, मुख्य रुपमा कसले यसलाई बलजफ्ती समाजमा स्थापित गर्न खोजेको होलान् भनेर हेर्दा यसपछाडि तीनवटा शक्ति लागेका छन्, एउटा बहुलवादमा आधारित चुनावी व्यवस्था नै मन नपराउनेहरु । अर्को, चुनावका नाममा वर्षौ हालीमुहाली गर्न पल्केकाहरु र तेस्रो अथाह पैसा कमाएर उन्मत्त तर सामाजिक साखका भोकाहरु ।

सामान्य मानिस चाहिँ उनीहरुको कुरा पत्याएर उनैको पछि लागेका छन् । एकपटकलाई अघिल्लोपटक जितेकाहरुलाई स्मरण गरौँ । केही समय अघिसम्म उनीहरुको मुखबाट यति खर्च भयो र उती खर्च भयो भनेर फुत्काउँथे । अहिले प्रायः उनीहरु त्यो कुरा गर्दैनन्, बरु भन्न थालेका छन् कि, ‘मेरा काम अधुरा छन्, एक पटकका लागि फेरि अवसर दिइयोस् ।’

विगतको महङ्गो भएको रटान र अहिलेको मलाई नै चाहिन्छ भन्ने रोइलोले के संकेत गर्छ भने खासमा चुनाव सस्तो या महङ्गो भन्ने कुरा कसरी चुनाव लड्ने भन्नेमा भर पर्छ तर एकपटक जितेकाहरु चुनाव त लड्नै नसक्ने गरि महङ्गो भएको रटान जनस्तरमा कानै टट्टाउने गरी उठाउन चाहन्छन् र त्यसको मक्सद भनेको अब नवप्रवेसीलाई दुरुत्साहित गर्नु हो ।

प्रश्न उठ्छ, शशांक कोइरालाजस्ता विपी पुत्र र एक सम्मानित नेताले किन यो एजेण्डामा मलजल गरे होलान् भनेर । शशांक आफैँमा आफ्नो जन्मस्थल र कर्मस्थल छाडेर नयाँ स्थानमा चुनाव लड्दै आइरहेका छन् ।

बाह्य रुपमा उनीसँग म अब लड्ने भए, तिमीले क्षेत्र छाडिदेऊ भन्ने आँट नगरेका भए पनि भित्र भित्र उनले अब विश्राम लिइदिए हुने भन्नेहरु देखिन्छन् । अरुले देख्दा विपी पुत्र र आफैँमा अत्यधिक मतसहित महामन्त्री भइसकेको देखिए पनि एजेण्डा र जनताका कामका सवालमा शशांक पनि खासै कामयावी नदेखिनु अबका लागि उनी सामुको चुनौती हो।

यस अवस्थामा अहिले जवर्जस्त रुपमा स्थापित गर्न खोजिएको भाष्यमा मलजल गरेर आफ्ना कार्यकर्तासँग दिनुपर्ने ढाडस र चन्दादातालाई आगामी चुनावका चन्दाको रकम बढाउने आह्वान दुवैका लागि उनले यो अस्त्रको प्रयोग गरेका हुन् ।

काँग्रेसको सुरक्षित क्षेत्रमा यदि कसैसँग काँग्रेसजनको मन छुने एजेण्डा छ भने एक पैसा पनि खर्च नगरी निर्वाचन जित्ने अवस्था थियो र छ ।

यहाँ उनलाई बताउने एक मात्र कुरा भनेको उनको जस्तो काँग्रेसको सुरक्षित क्षेत्रमा यदि कसैसँग काँग्रेसजनको मन छुने एजेण्डा छ भने एक पैसा पनि खर्च नगरी निर्वाचन जित्ने अवस्था थियो र छ ।

फेरि सोध्न सकिन्छ कि, के उम्मेदवारको खर्च नै हुँदैन त भनेर ? हो चाहँदा आजकलको वैश्विक अर्थव्यवस्थामा नराम्ररी भाषिन खोजेको नेपालमा मनग्ये खर्च हुन्छ । विगतको स्थानीय चुनावमा मेरो आफ्नै वार्डमा वडा तहमा परिचालितहरुलाई कुनै दलले एक बिहानको खाजामा ६५ हजारको बिल तिरेको पनि सुनेको हो । बिहानी खाजामा त्यति खर्च गर्ने ती उम्मेदवारले निर्वाचनको अवधिभर दिवाभोज, रात्रिभोज र यातायातमा बीस लाख खर्च गरे । तैपनि निर्वाचन भने जितेनन् । जसले जिते, उनलाई कन्जुस, चुनावको माहोल नै ल्याउन नसकेको भनेर आलोचना भइरहँदा पनि खर्च गर्नेभन्दा निकै मतान्तरमा रहन सके । किन यस्तो हुन्छ होला त ?

किनभने त्यो खर्च भएको पैसा खासमा मतदातामा खर्च भएको हुन्न । मतदातामा पुग्ने बहानामा, चुनावको माहोल बनाउने नाममा त्यो पैसा खर्च भएको हुन्छ । खास मतदाता अहिलेको मौसममा कि त असिन पसिन गरेर मकै खेतमा काम गरिररहेको हुन्छ, कि त आफ्नो सानो व्यापार, व्यवसाय या नोकरीमा । त्यसै बीचमा हुलका हुल मानिस मोटरसाइकलमा जिन्दावाद र मुर्दावाद गरेर धूलो उडाउँदै दौडादौड गरेको देख्ने मतदाताहरुको मनमा यी काम नपाएका र सित्तै खान र सित्तैको तेलमा मोटरसाइकल बटार्ने ग्याङ हुन् भन्ने भान पर्नु अस्वभाविक होइन । असिनपसिन ती मतदाताले कहाँको पैसाले यत्रो खर्च गरिरहेको छ त भनेर मनमनै प्रश्न पनि गरिरहको हुन्छ । तिनीहरुले लगाएका नारा र गरेका भाषणमा गाँउले टेर पुच्छर लगाउने त कुरै भएन ।

नयाँ परिस्थितीमा पैसा कम चाहिने आधारहरु
केही समय अघिसम्म आज जस्तो हरेक व्यक्तिको हातमा मोबाइल भएको त के कल्पना गर्ने, गाउँ टोलसम्म पनि रेडियो र टेलिभिजन सम्म हुँदैनथ्यो । सडक सञ्जाल र सवारी साधन नभएका कारण उम्मेदवार पनि घरसम्म पुग्न सक्थेनन् । त्यसैले उम्मेदवारलाई चिनाउन पोष्टर छाप्नु र घरघरमा पु¥याइदिन पथ्र्यो । पोष्टर त पानी र हावाले पनि बिगार्न सक्छ भनेर वाल पेन्टिङ गरिन्थ्यो ।

उम्मेदवारको स्वर र भाषणकला जाँच्नेहरुका लागि आमसभा गरेर जानकारी दिनुपथ्र्यो । तर, आज यी तिनवटै काम जनताको हात हातमा भएको मोबाइलले गरिरहेको छ । भ्वाइस म्यासेज या भिडियो म्यासेज मार्फत मतदातामा हर क्षण उम्मेदवार पुग्ने आजको अवस्थामा माइकिङ तथा तडकभडक जुलुस र र्यालीलीलाई कसैले राम्रो मानिरहेको देखिन्न, न त यसकै आधारमा मतदाताले भोट दिने मनाशाय बनाउने हुन् ।

वास्तवमा मत कसलाई दिने भन्नेमा ७५ प्रतिशत मतदाता आजै मन बनाएर बसेको छ भने बाँकी २५ प्रतिशतले त्यो भिड र तडकभडक देखेर हैन, उम्मेदवार र उसको विश्वासपात्रसँग रात बिहान हुने विभिन्न चरणको वार्ताका आधारमा निर्णय गर्दछ ।

वास्तवमा मत कसलाई दिने भन्नेमा ७५ प्रतिशत मतदाता आजै मन बनाएर बसेको छ भने बाँकी २५ प्रतिशतले त्यो भिड र तडकभडक देखेर हैन, उम्मेदवार र उसको विश्वासपात्रसँग रात बिहान हुने विभिन्न चरणको वार्ताका आधारमा निर्णय गर्दछ ।

आजको खट्केको खाँचो केहीको छ भने जनपक्षीय सवालको । जनताले बुझ्ने भाषामा आफूले गर्ने काममा बारेमा उम्मेदवारबाट दिनुपर्ने स्पष्टीकरणको । जहाँ त्यो उम्मेदवारले पूरा गरेको छ या गर्न सक्छ, उसलाई अहिले विगतमा जति पनि खर्च आवश्यक छैन । तर तिकडम गरेर नेताको चाकडी मात्र गरेर टिकट हत्याउने, तर जनतासँग नजोडिएकालाई हर कदममा पैसा चाहिन्छ ।

पहिलो त नेताको नजिक पुग्न, र नेताका अगाडि आफुलाई राम्रो मान्छे हो भन्न लागाउन आकांक्षीले पैसा खर्च गर्छ । यो काममा नेताका नजिककामार्फत राम्रै खर्च नगरी सम्भव नै हुन्न । दोस्रो, पैसा आप्mना प्रतिद्वन्द्वी देखिनेलाई कमजोर साबित गर्नका लागि लगाउने देखिन्छ । प्रतिद्वन्द्वीका समर्थकलाई प्रभावमा पार्ने कार्यमा पनि पहिलोमा झैँ राम्रै रकम खर्चिइन्छ । अरु आकाँक्षीले कतिपय अवस्थामा ठूलै बार्गेनिङ गर्ने भएकाले ती आकाक्षीं र उसका वरिपरिका मान्छेहरुलाई भोट बाकसमा नखस्दासम्म राम्रो गाडी र मिठो खाना खुवाएर हिँडाउन सक्नमा उम्मेदवार हुनेले आफ्नो सफलता ठानेको हुन्छ ।

यसरी दलभित्रका या आफ्ना नजिकका नेता जो तत्कालका लागि टिकट लिने सन्दर्भमा प्रतिद्वन्द्वीजस्ता देखिन्छन्, उनीहरुलाई नतमस्तक बनाउन गरेको खर्चलाई देखाएर महंगो चुनावको भाष्य बनाउन कति जायज ? के यो त एजेण्डा विहीनता र समकक्षीलाई गरिने गरिएको एक प्रकारको व्याकमेलिङ होइन र ? यसबाट जनताले केही पाउँछन् र ?

यसरी खर्च बढाउँदैमा भोट बढेर चुनाव जितिन्छ त ? यी थुप्रै को एकै जवाफ छ, उम्मेदवार बन्न यत्रा कसरत गर्ने आकांक्षीले जनतासमक्ष गएर भावी कार्यदिशाका बारेमा चर्चा चलाउने, यसमा जनका कुरा सुनेर परिमार्जन अगाडि बढ्ने । यदि उम्मेदवारको आकांक्षीसँग मतदाताले बुझ्ने भाषाको गाँउ र जनपक्षीय एजेण्डा छन् भने उनीहरुले नै जनस्तरमा प्रचारप्रसार गरेर, बाहिरबाट आएका आगन्तुकलाई रुखोसुखो खुवाएर र रात बस्न परे बार्दली शेयर गरेर अगाडि बढाउँछन् ।

यो कुरा बहुदल पछिका केही चुनावमा हिँडेकाहरुलाई राम्ररी थाहा छ । त्यसबेलाको भन्दा गाँउघरमा बस्ने र खाने अवस्थामा व्यापक सुधार एकातिर देखिन्छ भने अर्कोतिर अतिथिलाई सत्कार गर्ने सवालमा नेपाली मानसिकतामा खास परिवर्तन पनि देखिन्न ।

यो अवस्थामा दलका नेता बन्न लालायितका चुनौती भनेको ति ठूलो छाती भएका मतदातासँग आँखा जुधाएर म जनताको सेवा गर्न चाहन्छु, चुवावलाई सस्तो बनाएर जाने सवालमा मलाई सहयोग चाहियो भन्ने हिम्मत र आँट हो ।
त्यो आँट भएकाहरुको संख्यामा उल्लेख्य कमी र चुनावमा गइसकेपश्चात अरुले भन्दा बढी खर्च गनैपर्ने आडम्बर, चुनाव लडेपश्चात जित्ने नै हो र त्यसका लागि भड्किलो प्रचारप्रसार पूर्वशर्त हो भन्ने गलत बुझाइका मानिसहरुको बाहुल्यताले आजको अवस्था आएको छ । सजग बनौं, निर्वाचन सहज बनाउनेतर्फ लागौं ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ९ : ३३ बजे

उपनिर्वाचन : हेटौँडा– १२ मा चुनावी सरगर्मी बढ्दो

बागमती – प्रमुख राजनीतिक दलले हेटौँडा उपमहानगरपालिका–१२ को रिक्त वडाध्यक्ष

फोहोरमा राजनीति गर्ने-गराउने दिन सकिए, दिगो व्यवस्थापन गर्छौं : बालेन 

काठमाडौं– काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले फोहोरमा राजनीति

नेपाली सेनाको विभिन्न पदमा दरखास्त आह्वान

काठमाडौं– नेपाली सेनाले प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स

केनेडी जूनियर अमेरिकी स्वास्थ्यमन्त्रीमा नियुक्त

काठमाडौं– अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले रोबर्ट एफ केनेडी जुनियरलाई

दैलेखका किसान ‘गुणे’ धानमा अधिक आकर्षित

दैलेख– कर्णाली प्रदेश सरकारले परम्परागत बालीमा प्रवर्द्धनका कार्यक्रम कार्यान्वयन गरेसँगै