काठमाडौँ- विकल्प आर्ट सेन्टरले आफ्नो सहकार्यात्मक कार्यक्रम (रिभिजिटिङ द रुट्स इन अ मोर्डन नुआन्स) को घोषणा गरेको छ। वैशाख १४ देखि जेठ १० गते सम्म काठमाडौँ उपत्यकाका विभिन्न चार स्थानमा यो कला प्रर्दशनी आयोजना हुने भएको छ। सरोज महतोको संयोजकत्वमा विकल्प आर्ट सेन्टरले सो कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रमको वैशाख १४ गते विकल्प आर्ट सेन्टरमा साँझ ५ बजे पश्चात ग्रान्ड ओपनिङ हुँदै छ। साथै अन्य तीन ठाउँमा पनि उद्घाटन गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ।
इतिहास र परम्परामा आधारित रहेका नेपालका समसामयिक ४५ जना कलाकारहरूको सिर्जनात्मक कामलाई प्रस्तुत गरिने यस प्रदर्शनीमा पश्चिमा र पूर्वीय कलात्मक संस्कृति स्थानीय र विश्वव्यापी परम्परा र आधुनिक विषयहरूलाई मुख्य रुपमा राखिएको छ। विगत र संस्कृतिको भूमिका आधुनिक कला संस्कृतिमा कस्तो हुन्छ भन्ने आधार मानिएको यस प्रदर्शनीमा इतिहासलाई सम्बोधन गरिएको शैली, वर्तमान कला, कृति र स्थानीय संस्कृतिसँग यसको सम्बन्ध र पहिचानका मुद्दाहरू लगायतका विषय समेटिएको बताइएको छ।
प्रर्दशनमा दिग्गज कलाकारको चित्रकला र स्केचलाई प्रर्दशन गरिनेछ। सँगै न्यु मिडियाको माध्यमबाट प्रस्तुत हुने ग्राफट्टी, पर्फमेन्स आर्ट, पप आर्ट लगायतका अन्य किसिमका कलात्मक सिर्जना पनि प्रर्दशन गरिने छ। प्रदर्शनीमा राखिएका सबै सिर्जनाहरु १९६० को दशक पश्चात नेपालमा विस्तार भएको कला क्षेत्र र यसमा प्रभाव पारेका विभिन्न माध्यमहरूमा केन्द्रित हुनेछ। प्रर्दशनीको क्रममा कला संस्कृति बहस कार्यशाला र प्रस्तुतिहरू पनि राखिएका छन्।
यस कार्यक्रम आयोजना गरेर सामाजिक राजनीतिक परिवेश, जीवन शैली, मूल्य मान्यतादेखि प्रभाव पार्ने तत्त्वहरूको सूक्ष्म अध्ययन र अवलोकन गर्ने उद्देश्य रहेको छ।
कार्यक्रमको उद्घाटन वैशाख १४ गते विकल्प आर्ट सेन्टर पुल्चोकमा नेपालका लागि स्वजरल्यान्डकी राजदूत एलिजावेथ भोन चेपेल्लरले गर्ने छिन्। यस्तै, वैशाख १५ गते ग्यालरी अफ क्रियटिभ ठमेलमा हुनेछ। वैशाख १६ गते हुने उद्घाटन नेपालका लागि जर्मनका राजदूत डा. थोमस प्रिन्जले पार्क ग्यालरी पुल्चोकमा गर्ने छन्। कार्यक्रमको अन्तिम उद्घाटन वैशाख १७ गते विद्रोह आर्ट ल्याब ठमेलमा हुने बताइएको छ ।
प्रतिक्रिया