अडियो सुन्नुहोस्ः
आज वैशाख १४, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अप्रिल २७, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :
धार्मिक जात्रामा करेन्ट लागेर भारतमा ११ जनाको मृत्यु
दक्षिण भारतको तमिल नाडुस्थित एक मन्दिरमा भएको धार्मिक जात्राका क्रममा करेन्ट लागेर कम्तीमा ११ जनाको मृत्यु भएको छ ।
तञ्जावुर जिल्लामा मन्दिरको रथ उच्च भोल्टको नांगो तारलाई छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा दुई जना बालबालिका पनि छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अधिकारीहरूले अनुमान गरेका छन् ।
उक्त घटनलाई लिएर प्रहरीमा उजुरी गरिएको छ । रथ चलाउने जेनरेटर सडकको घुम्तीमा अडकिएको उद्धार सेवाका अधिकारी भानुप्रियालाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
यसलाई मिलाउन खोज्दा रथको माथिल्लो भाग हाइभोल्टेजको तारसँग छोइएको थियो ।
सडकमा पानीको खाल्डो नभएको भए मृतकको संख्या अझै बढी हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् । रथसँगै हिँडेका करिव ५० भक्तजन केही सेकेण्ड अघि मात्रै घटनाबाट जोगिन पन्छिएका थिए ।
राष्ट्रसंघ महासचिवद्वारा युक्रेनमा जारी मानवीय सङ्कटप्रति चिन्ता व्यक्त
संयुक्त राष्ट्रसंघका महासचिवले युक्रेनमा जारी मानवीय सङ्कटप्रति चिन्ता व्यक्त गरेका छन् । रुस भ्रमणका क्रममा त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको भेटमा राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेजले रुसी आक्रमणका कारण युक्रेनमा उत्पन्न मानवीय सङ्कटप्रति चिन्ता व्यक्त गरेका हुन् ।
टर्कीको भ्रमण सकेर उनी मंगलबार रुस पुगेका हुन् । रुसमा रहँदा महासचिव गुटेरेजले विदेशमन्त्री सर्गेइ लाभ्रोभसँग पनि भेटवार्ता गरेका थिए ।
राष्ट्रपति पुटिनसँगको भेटवार्ताका क्रममा गुटेरेजले रुसी आक्रमणले युक्रेनको भौगोलिक अखण्डता एवम् सार्वभौमिकताको उल्लंघन भएको बताएका थिए ।
साथै उनले रुसी फौजको चौतर्फी घेराबन्दीमा परेको युक्रेनी शहर मारिउपोलस्थित एजोभस्तल औद्योगिक क्षेत्रमा फसिरहेका मानिसहरुको उद्धारका लागि पनि पुटिनसमक्ष आग्रह गरेका थिए ।
जवाफमा राष्ट्रपति पुटिनले रुसी सेनाले सो क्षेत्रमा मानवीय करिडोरको प्रस्ताव गरेको बताउँदै उल्टै युक्रेनी फौजले सर्वसाधारणलाई मानव ढालको रुपमा प्रयोग गरेको आरोप लगाए ।
यद्यपि त्यहाँबाट संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय रेडक्रस समितिको रोहबरमा एजोभस्तल क्षेत्रबाट उद्धार कार्य गर्न दिन पुटिनले ‘सैद्धान्तिक’ सहमति जनाएको जर्मन टेलिभिजन च्यानल डीडब्लूले जनाएको छ ।
भेटवार्ताका क्रममा राष्ट्रपति पुटिनले युक्रेनमा जारी द्वन्द्वको समाधान वार्ताको माध्यमबाटै हुने अझै आशा रहेको बताएका थिए ।
‘सैनिक कारवाही जारी रहेको वास्तविकताका बावजुद हामी कूटनीतिक माध्यमबाट सहमतिमा पुग्छौँ भन्ने हाम्रो अपेक्षा छ ।’ पुटिनलाई उद्धृत गर्दै रेडियो फ्रि युरोपले जनाएको छ ।
युक्रेनसँग सीमा जोडिएका रुसी भूभागमा श्रृङ्खलाबद्ध विष्फोट
युक्रेनसँग सीमा जोडिएका रुसी भूभागमा श्रृङ्खलाबद्ध विष्फोट भएका छन् । बुधबार बिहान युक्रेनसँग सीमा जोडिएका रुसका तीन क्षेत्रहरुमा श्रृङ्खलाबद्ध विष्फोट भएको हो ।
रुसको कुर्स्क क्षेत्रका गभर्नर रोमन स्टारोभोयटले कुर्स्क शहरमा विष्फोट भएको जनाएका छन् । यद्यपि यस विष्फोटबाट भएको क्षतिको विवरण सार्वजनिक नभइसकेको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।
त्यसैगरी युक्रेनसँग सीमा जोडिएको भोरोनेज क्षेत्रको राजधानी शहरमा पनि दुई विष्फोट भएको रुसको तास समाचार संस्थाले जनाएको छ ।
अर्कोतर्फ युक्रेनसँग सीमा जोडिने रुसको बेल्गोरोद क्षेत्रका गभर्नर भियाचिस्लाभ ग्लादकोभले स्टाराया नेलिदोभ्का गाउँमा रहेको गोलीगठ्ठा भण्डारणमा आगलागी भएको जनाएका छन् । यद्यपि यस घटनामा कुनै मानवीय क्षति नभएको र आगलागी तुरुन्तै नियन्त्रणमा लिइएको उनले बताए ।
यसअघि रुसले बेल्गोरोद क्षेत्रमा रहेको इन्धन भण्डारणमा युक्रेनी पक्षले आक्रमण गरेको आरोप लगाएको थियो ।
यसबाहेक पछिल्ला केही दिनयता युक्रेनसँग सीमा जोडिएका रुसका पश्चिमी क्षेत्रमा रहेका पूर्वाधारहरूमा आगलागी, विष्फोटजस्ता घटना सार्वजनिक हुने गरेका छन् ।
यद्यपि यस्ता घटनाबारे युक्रेनले हालसम्म कुनै टिप्पणी नगरिसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
बेलायतले युक्रेनलाई आफ्नो मुलुकविरुद्ध आक्रमण गर्न उक्साएको रुसको आरोप
बेलायतले आफ्नो मुलुकविरुद्ध आक्रमण गर्न युक्रेनलाई उक्साएको रुसले आरोप लगाएको छ । रुसको रक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो आरोप लगाएको हो ।
‘किभको सत्तालाई यस्तो गतिविधि गर्न लण्डनले उक्साइरहेको छ, यस्तो गर्न खोजेको खण्डमा तत्कालै सोही अनुपातमा हामी प्रतिक्रिया जनाउनेछौँ ।’ रुसी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै रुसको इन्टरफ्याक्स समाचार संस्थाले जनाएको छ ।
रक्षा मन्त्रालयले ‘लामो दूरीको लक्षित निशानामा सटीक मार हान्न सक्ने हतियारबाट’ किभमा रहेको ‘सम्बन्धित निर्णय लिइने केन्द्रमा’ हमला गर्न रुसी फौज तयार रहेको समेत चेतावनी दिएको छ ।
यसअघि बेलायती रक्षामन्त्री जेम्स हिप्पेले रुसी फौजको आपूर्ति रोक्न युक्रेनले गर्ने आक्रमण जायज रहेको टिप्पणी गरेका थिए ।
रुसद्वारा बुल्गेरिया र पोल्यान्डमा ग्यास आपूर्ति बन्द
रुसले पोल्यान्ड र बुल्गेरियालाई ग्यास आपूर्ति बन्द गर्ने भएको छ । युक्रेनलाई लिएर पश्चिमा देश र मस्कोबीच दरार बढिरहेका बेला रुसले युरोपेली युनियनमा आबद्ध दुई देशमाथि ग्यास आपूर्ति बन्द गर्ने भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको हो ।
पोल्याण्ड र बुल्गेरिया दुबै नेटो सदस्यसमेत हुन् । पोल्यान्डको सरकारी स्वामित्वको पीजीएनआइजीले रुसी ग्यास उद्योग कम्पनी गाजप्रोमले आपूर्ति बन्द गरेको जनाएको छ । तर, तत्काल भण्डार आवश्यक नभएको र आफ्नो ग्यास भण्डारण ७६ प्रतिशत रहेको पोल्यान्डले प्रष्ट पारेको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ‘शत्रु’ देशहरूलाई ग्यास आयातको लागि रुबलमा भुक्तानी गर्न आह्वान गरेका छन् । सोही बमोजिम केही खरीदकर्ताहरूले रुबलमा रुसी ग्यासको भुक्तानी पनि गरेको जनाइएको छ ।
क्रेमलिनको कट्टर विरोधी पोल्यान्ड आफ्नो छिमेकी युक्रेनलाई हमला गरेपछि रुसविरुद्ध कडा प्रतिबन्धहरू लगाउने युरोपेली देशहरूमध्ये एक हो ।
रूसी ग्यास आयातमा लगभग पूर्ण रूपमा निर्भर रहेको बुल्गेरियाले गाजप्रोमसँग आफ्ना सबै दायित्वहरू पूरा गरेको र प्रस्तावित नयाँ भुक्तानी योजनाले सम्झौता उल्लंघन गरेको गुनासो गरेको छ । उसले टर्की र ग्रिसबाट ग्यास निर्यात गर्न छलफलसमेत गरेको छ ।
भारतद्वारा १२ वर्ष मुनिका बच्चाका लागि २ घरेलु खोप स्वीकृत
भारतले १२ वर्ष मुनिका बच्चाहरुका लागि दुई घरेलु खोपलाई स्वीकृत दिएको छ ।
कोभिड संक्रमण फेरि बढ्न थालिरहेका बेला सरकारले भारत बायोटेकले बनाएको कोभ्याक्सिनलाई ६–१२ उमेर समूहका लागि आपतकालीन प्रयोगको अनुमति दिएको स्वास्थ्यमन्त्री मनसुख मण्डावियाले जानाकारी दिए ।
यो खोप यसअघि १२ देखि १८ वर्ष उमेर समूहका बालबालिका र वयस्कहरूलाई लगाइएको थियो ।
त्यस्तै, दुई अन्य खोपहरूलाई पनि आपतकालीन स्वीकृति दिइएको छ । ५ देखि १२ वर्षका बालबालिकाका लागि कोर्बेभ्याक्स र १२ वर्षभन्दा माथिका बालबालिकाका लागि जाइडसको को दुई–डोजलाई सरकारले स्वीकृत दिएको हो ।
कोर्बेभ्याक्स हाल १२ देखि १४ उमेर समूहका बालबालिकालाई पनि लगाइँदैछ । सन् २०२१ को जनवरीमा कोभिड खोप सुरुगरेपछि भारतमा संक्रमितहरूलाई अहिलेसम्म १.८७ अर्ब डोज खोप लगाइएको छ ।
एक वर्षसम्म चुनाव गर्न नसक्ने पाकिस्तानी निर्वाचन आयोगको भनाइ
पाकिस्तानको निर्वाचन आयोगले सन् २०२३ को मे अगाडि निर्वाचन गर्न नसक्ने जनाएको छ ।
पाकिस्तान तेहरिक–इ–इन्साफका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री इमरान खानले मध्यावधि (अर्ली) निर्वाचनको माग गरिरहेका र निर्वाचन नहुन्जेल सडक प्रदर्शन गर्ने चेतावनी दिइरहेका बेला निर्वाचन आयोगले आगामी वर्षको मेसम्म निर्वाचन गर्न नसकिने जनाएको हो ।
पाकिस्तानमा नयाँ जनगणना केही सातापछि सुरु हुन लागेको र त्यसको नतिजा आएपछि मात्र निर्वाचन गर्न सकिने आयोगले संकेत गरेको छ ।
सातौं जनगणना १ अगस्टबाट सुरु हुने र त्यसको नतिजा यस वर्षको ३१ डिसेम्बरसम्ममा आउने योजना, विकास र विशेष पहल मन्त्रालयबाट १८अप्रिलमा पत्र प्राप्त गरेको आयोगले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
तसर्थ, नयाँ जनगणनाको आधारमा निर्वाचन गराउन आफू संवैधानिक रूपमा बाध्य हुने आयोगले प्रष्ट पारेको छ । यसअघि सन् २०१७ मा जनगणना भएको थियो ।
शहबाज खान नेतृत्वको वर्तमान सरकारले भने चुनावबारे केही बताएको छैन ।
चीनमा कोरोना भाइरसका संक्रमित बढ्दै
चीनमा पछिल्ला केही दिनमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बढेको छ । चीनका विभिन्न सहर र राजधानी बेइजिङमा पनि संक्रमितहरु देखिएका हुन् ।
चीनको राजधानी सहरमा चीन सरकारले पछिल्लो समयमा संक्रमणबाट बच्न सुरक्षाका मापदण्डहरु अपनाउने गरेको भए पनि संक्रमितहरु भने प्रत्येक दिन देखिएका छन् ।
गएको २४ घन्टामा मात्र चीनभित्रै संक्रमित भएका नागरिकको संख्या १ हजार ८ सय १८ जना पुगेको छ । यी मध्ये चीनको सांघाई सहरमा मात्र १ हजार ६ सय ६ जना रहेका बताइएको छ ।
चीनको सांघाई सहरमा पछिल्लो समयमा संक्रमितहरु अन्यत्रभन्दा धेरै देखिन थालेका बताइएको छ । त्यहाँ हरेक दिन एक हजारभन्दा बढी संक्रमितहरु देखिन थालेको जनाइएको छ ।
कोलम्बियामा तीन महिनाको अवधिमा ५२ नागरिक अगुवाको हत्या
यस वर्षको पहिलो तीन महिनामा कोलम्बियामा मानवअधिकार कार्यकर्ता र समुदायका नेताहरू गरी कुल ५२ जनाको हत्या भएको छ । यो गत वर्षको तुलनामा उल्लेखनीय वृद्धि हो ।
बीबीसीका अनुसार गत वर्ष १४५ जना मानवअधिकार कार्यकर्ता र समुदायका नेताको हत्या भएको थियो ।
कोलम्बियाको मानवअधिकार समूहका अनुसार अधिकांश योजनाबद्ध ढंगले मारिएका हुन् । उनीहरू लागूपदार्थको तस्करी गर्ने गिरोहलगायत अवैध सशस्त्र समूहहरूको विरुद्धमा थिए ।
अनुगमनकर्ताहरूका अनुसार अधिकारवादीहरू लागि कोलम्बिया विश्वको सबैभन्दा खतरनाकमध्ये एक हो । कोलम्बियाली अखबार एल टिम्पोलका अनुसार मारिनेमध्ये २८ जना भूमि अधिकार र सामुदायिक अधिकारकर्मीहरू, ९ आदिवासी कार्यकर्ता र चार कृषि कार्यकर्ताहरू छन् । पीडितमध्ये ४८ जना पुरुष र ४ जना महिला छन् ।
मारिनेमध्ये १४ वर्षीय किशोर पनि छन्, जसको हत्याले देश नै स्तब्ध बनेको थियो । आदिवासी कार्यकर्ता ब्रेनर डेभिड कुकुनेमलाई जनवरीमा आदिवासी भूमिको रक्षा गर्न खोज्ने निशस्त्र समूहसँग गस्तीमा रहेको बेला गोली हानी मारिएको थियो ।
म्यान्मारको अदालतद्वाराआङ सान सुकीलाई थप ५ वर्षको जेल सजाय
म्यानमारको जुन्ता अदालतले अपदस्थ नेतृ आङ सान सुकीलाई भ्रष्टाचार आरोपमा दोषी ठहर गर्दै बुधबार पाँच वर्षको जेल सजाय सुनाएको छ । ७६ वर्षीया नोबेल पुरस्कार विजेता सुकीमाथि ६ लाख डलर नगद र सुन घुस लिएको आरोप लागेको थियो ।
यो सजायसँगै उनी ११ वर्ष कैदमा बस्नुपर्ने भएको छ । गत डिसेम्बरमा सुकीलाई कोभिड प्रतिबन्ध उल्लंघन गरेको मुद्दामा र जनवरीमा प्रतिबन्धित वाकीटकी राखेको मुद्दामा दोषी ठहर गरिएको थियो ।
सुनुवाइका क्रममा अदालतमा पत्रकारहरूलाई उपस्थित हुन प्रतिबन्ध लगाइएको थियो । त्यस्तै, सुकीका वकिलहरूलाई सञ्चारकर्मीसँग बोल्न पनि रोक लगाइएको थियो ।
गत वर्ष फेब्रुवरीमा सैन्य कुमार्फत सत्ताच्युत भएपछि सरकारले सुकीमाथि दर्जनौँ फौजदारी अभियोग लगाएको छ । उनीमाथिका अभियोग पुष्टि भएमा सुकी वर्षौँसम्म जेलमा बस्नुपर्नेछ ।
आफूमाथिका सबै आरोपहरूको सुकीले अस्वीकार गरेकी छन् । त्यस्तै, अदालतको सुनुवाइ निष्पक्ष नभएको अधिकारकर्मीहरूको भनाइ छ ।अपदस्थ भएयता उनी घरमै नजरबन्दमा रहेकी छिन् ।
सिरियाको मानवीय अवस्था गम्भीर रहेको संयुक्त राष्ट्रसंघको भनाइ
सिरियाको मानवीय अवस्था निकै नै गम्भीर रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
मानवीय सहायतासम्बन्धी संयुक्त राष्ट्रसंघीय निकायका उपप्रमुख जोसे मुस्याले सिरियामा मानवीय अवस्था दिनप्रतिदिन गम्भीर र निकै कमजोर बन्दै गएको बताएका हुन् । उनले यसका लागि विश्व समुदायको ध्यानाकर्षण पनि गराएका छन् ।
सिरियामा पछिल्ला वर्षहरूमा आर्थिक अवस्था कमजोर हुँदै गएको र यही आर्थिक संकटकै समयमा राजनीतिक तथा अन्य अवस्था पनि नाजुक भएको उनको भनाइ छ । सन् २०११ बाट सुरु भएको सरकार विरोधी आन्दोलनपछि सिरियामा गृहयुद्धमा फसेको छ ।
त्यसयता सिरियामा आर्थिक संकट निम्तिएको भन्दै सिरियाका अधिकारीहरूले अहिले देशको अवस्था नाजुक भएको बताइरहेका छन् ।
संयुक्त राष्ट्रसंघले अहिले पनि दशौँ लाख सिरियालीहरुले खानाकै लागि संघर्ष गर्नु परिरहेको, खाद्यान्न औषधिजस्तो आधारभूत आवश्यकताहरूको पनि चरम अभाव रहेको तथा राजनीतिक संकट झन् गहिरिँदै जादा यहाँका नागरिक देश छोडेर भाग्नु परेको अवस्था रहेको बताएको छ ।
प्रतिक्रिया