‘सलाम वालेकुम’ भन्दै विमानस्थलमा दुई घण्टाभित्र बम पड्किने चेतावनी दिने व्यक्तिको हुन् ? | Khabarhub Khabarhub

‘सलाम वालेकुम’ भन्दै विमानस्थलमा दुई घण्टाभित्र बम पड्किने चेतावनी दिने व्यक्तिको हुन् ?


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुधबार बिहान ९ः४० बजेतिर एक नेपाल बाहिरको नम्बरबाट फोन आयो । जुन फोन अफिसको एक्सचेन्ज नम्बरमा दुई पटक फोन आयो । त्रिभुवन विमानस्थलमा खटिएका टर्मिनल ड्युटी अफिसरले फोन उठाए ।

फोन उठाउने बित्तिकै उताबाट भनियो,– ‘सलाम वालेकुम । तपाईंको डोमेस्टिक टर्मिनल क्षेत्रको सात ठाउँमा बम राखिएको छ । दुई घण्टाभित्र विस्फोट हुन्छ ।’

त्यसको केही समय पुनः फोन आयो । यताबाट टर्मिनल ड्युटी अफिसरले प्रश्न गर्न नपाउँदै उताबाट सात ठाउँमा बम राखिएको र दुई घण्टाभित्र विस्फोट हुने कुरा दोहोर्‍याए ।

आन्तरिक उडानतर्फका ड्युटी अफिसरले तत्कालै नागरिक उड्डयन प्राधिकरणको कार्यालयका अधिकारीलाई जानकारी गराए । त्यसपछि तत्कालै सुरक्षा निकायलाई खबर गरियो । बिहान ९ः४० देखि ९ः५० को बीचमा बम राखिएकोबारे सूचना पाएपछि विमानस्थल प्रशासनले एक्सन लियो ।

विदेशकै नम्बरबाट आएको फोनमा बोल्ने व्यक्ति भने नेपाली बोलिरहेका थिए । तुरुन्तै विमानस्थल प्रशासन, कार्यरत सुरक्षा निकाय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको बम डिस्पोजल टोली परिचालन भयो । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार डोमेस्टिक टर्मिनलको सम्पूर्ण क्षेत्रमा सर्च अप्रेसन चलायो ।

बम डिस्पोजल टोलीद्वारा यात्रु बस्ने क्षेत्र, सुरक्षा जाँच गरिने क्षेत्रमात्र नभएर शौचालयहरूमा समेत सर्च गरियो । सर्च गर्दा त्यस्तो शंकास्पद वस्तु केही पनि नपाइएको प्रवक्ता सिटौलाले जानकारी दिए । बम राखेको सूचना आएपछि १० बजेदेखि नै सर्च अप्रेसन सुरु गरिएको उनको भनाइ छ ।

सर्च अप्रेसन सुरु गर्नुअघि एयरपोर्ट इमर्जेन्सी प्लानअनुसार अपनाउनुपर्ने सावधानी अपनाएर टर्मिनलभित्र रहेका यात्रु तथा सबै कर्मचारीलाई बाहिर निकालियो । र सबै विमानहरूको उडान बन्द गरियो ।

सुरक्षा निकायले तालिमप्राप्त कुकुरदेखि बम डिडेक्टरको सहायताले सर्च अप्रेसन चलाइएको थियो । तर, केही पनि शंकास्पद बस्तु फेला नपरेको प्रवक्ता सिटौलाले बताए ।

थ्रेट दिने व्यक्तिबारे सुरक्षा निकायलाई जानकारी गराइएको र सुरक्षा निकायले अनुसन्धान प्रक्रिया अघि बढाइसकेको उनको भनाइ छ । शंकास्पद बस्तु फेला नपरेपछि बिहान ११ः१० बजेदेखि विमानस्थल सुचारु गरिएको उनको भनाइ छ ।

विमानस्थल सुरक्षा प्रहरी प्रमुख एसएसपी भीम ढकालले थ्रेट कलबारे अनुसन्धान थालिएको बताए । ‘फोन गर्ने व्यक्तिबारे अनुसन्धान थालिसकेका छौं । अनुसन्धानपछि नै थप कुराहरू खुल्नेछन्,’ ढकालले भने ।

विमानस्थलमा कुनै थ्रेट आएको खण्डमा बम नै राखिएको जस्तो मानेर अप्रेसन गर्नुपर्ने विमानस्थल प्रवक्ता सिटौलाले बताए । ‘बम थ्रेट आएपछि यसलाई मजाकको रूपमा नलिई साँच्चिकै बम नै राखिएको हो भनेर हामीले त्यहीअनुसार काम गर्छौ,’ प्रवक्ता सिटौलाले भने, ‘किनकि त्यो थ्रेट साँच्चै हो कि झुटा हो भन्ने कुरा त हामीलाई थाहा हुँदैन । त्यसैले हामीले साँच्चै नै बमै हो भनेर काम गर्नुपर्छ ।’

यो बीचमा कुनै शंकास्पद बस्तु देखेमा तत्कालै सुरक्षा निकायलाई जानकारी दिन सबै यात्रुहरूलाई अनुरोध गरिएको उनको भनाइ छ । एक घण्टाभित्रै सर्च अप्रेसन सकिएको भन्दै डिले भएका सबै उडान आज दिनभर गन्तव्यमा पुर्‍याइसकिने बताए ।

‘केही विमानस्थल राति १२ बजेसम्म सञ्चालन हुन थालिसकेका छन् । एक घण्टा मात्रै डिले भएको हो । यसमा रातिसम्म भए पनि सबै उडान सक्नुपर्छ,’ प्रवक्ता सिटौलाले भने ।

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १ : १२ बजे

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प

ताप्लेजुङ- ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा

गायिकाद्वय समीक्षा र एलिनाको अभियानमा प्रधानमन्त्री ओलीको साथ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा हुने गालीगलौज र

सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने

काठमाडौं– सभामुख देवराज घिमिरेले मुख्य तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन

विधायन व्यवस्थापन र शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ