महाधिवेशनपछि राप्रपामा लिङ्देन  ‘एक्सप्रेस’   | Khabarhub Khabarhub

महाधिवेशनपछि राप्रपामा लिङ्देन  ‘एक्सप्रेस’  


२१ बैशाख २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राप्रपाको महाधिवेशन सकिएको पाँच महिना नाघ्यो । 

गत १५–१७ मंसिरमा भएको महाधिवेशनले अध्यक्षमा कमल थापालाई पराजित गरी राजेन्द्र लिङ्देन विजयी भए । पुरानो नेतृत्वलाई विस्थापित गरी राष्ट्रिय राजनीतिलाई नै तरंगित बनाएका लिङ्देन त्यतिबेला दबाबमा आए, जतिबेला स्थानीय तहको निर्वाचन घोषणा भयो । 

कांग्रेसको महाधिवेशनमा अतिथि वक्ताको रुपमा पुगेका लिङ्देनले ‘संसद संसद जस्तो छैन, अदालत अदालत जस्तो छैन, सबै चिजलाई ठेगान लगाउने राजनीतिले हो, राजनीति ठिक छैन । राजनीतिलाई ठिक ठाउँमा ल्याउने नेताले हो, नेताले जनताको विश्वास गुमाएको अवस्था छ, गाउँमा नेता आएछ भन्दैनन् कुन चोर आएछ भन्ने अवस्था छ’ भनेर मन्तव्य दिए । 

महाधिवेशन स्थलमा पुगेका कांग्रेसका प्रतिनिधि र सहभागीले ताली बजाए, उनीपछि मञ्चमा पुगेका केपी ओली, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल र शेरबहादुर देउवाले लिङ्देनको टिप्पणीप्रति समय खर्चिनुपर्‍यो ।

 देश स्थानीय तहको निर्वाचनको माहोलमा प्रवेश गर्‍यो । राप्रपामा नेतृत्व नयाँ भए पनि पार्टीको परम्परागत संरचना चुनाव जित्नका लागि पर्याप्त थिएन । यसर्थ लिङ्देन सबैभन्दा समयको दबाबमा परे । अध्यक्ष लिङ्देनले १८ र १९ फागुनमा काठमाडौंमा पार्टीको केन्द्रीय समितिको बैठक बोलाए । केन्द्रीय समितिबाट सम्पूर्ण शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने, सबै स्थानीय तहमा आफ्नै उम्मेदवार खडा गर्ने निर्णय गराएर लिङ्देन २२ फागुनदेखि देश दौडाहामा निस्किए । 

उनले कांग्रेस, एमाले, माओवादीले अवसर पाउँदा देश बनाउन नसकेको, राष्ट्रिय भावना र स्वाभिमान झन् कमजोर हुँदै गएको, भ्रष्टाचारले देश चुर्लुम्म भएको, आफूले भ्रष्टाचार नगर्ने संकल्प लिएको, भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर देश र जनताको सेवामा समर्पित हुन राजनीतिमा सक्रिय रहेको जस्ता अभिव्यक्ति दिँदै आएका छन् । 

राप्रपाले देशभर दिनहुँजसो सभाहरूको आयोजना गर्दै गयो । हरेक सभामा केन्द्रीय नेताहरूसँगै लिङ्देन आफैं पुग्न थाले ।  काठमाडौंमा जनताको ’रेस्पोन्स’ परीक्षण गर्न २५ चैतमा काठमाडौंमा राप्रपाले सभाको आयोजना गर्‍यो ।

अध्यक्ष लिङ्देनले २४ चैतमा इलामको फिक्कलमा आमसभाका लागि समय दिए । पार्टीका अन्य नेताहरूले काठमाडौंको सभालाई सफल र भव्य बनाउन अध्यक्ष लिङ्देनलाई इलामको सभा रद्द गर्न र काठमाडौं केन्द्रित हुन सुझाव दिए । पूर्वनिर्धारित कार्यक्रम रहेको र इलाममा तयारी भइरहेकाले रद्द नगरी लिङ्देन इलाम पुगे । साँझ अबेर फर्किएका लिङ्देन सिधै पार्टी कार्यालय पुगेर तयारीको ब्रिफिङ लिए । काठमाडौंको सभामा पनि सहभागी भए ।

उनले २६ चैतदेखि १० वैशाखसम्मको आफ्नो तालिका सार्वजनिक गरे । लिङ्देनको सहभागितामा देशका ५२ जिल्लामा ८० भन्दा बढी सभाहरु भइसकेका छन् । काठमाडौं, पोखरा, वीरगञ्ज, भरतपुर, विराटनगर, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगर लगायत देशका अधिकांश जिल्लामा सभा गरेको राप्रपाले उम्मेदवारी दर्तापछि पनि सभाहरूलाई निरन्तरता दिइरहेको छ । कैलालीमा एकैदिन आठवटा सभा गरेको राप्रपाले नुवाकोटमा दुई, वीरगञ्जमा दुई, लमजुङ, तनहुँमा साना ठूला कोणसभा र सभाहरू भए । 

बुधबार लिङ्देन झापामा हुने विभिन्न सभाहरूमा सहभागी हुन झापा पुगेका पार्टी प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
मेचीनगर, हल्दीबारी, भद्रपुर, शिवसतासीमा हुने सभामा सम्बोधन गर्न झापा पुगेका लिङ्देन तीन दिनअघि कचनकवलको घेराबारी सभामा पुगेका श्रेष्ठले जानकारी दिए । 

कचनकवल र हल्दीबारी अघिल्लो निर्वाचनमा राप्रपाले जितेको स्थानीय तह हुन् । कचनकवलमा राप्रपाविरुद्ध कांग्रेस, एमालेको गठबन्धन बनेको छ । निर्वाचनको मौन अवधि हुने दिनसम्म लिङ्देनले सभाका लागि विभिन्न जिल्लामा समय दिएका छन् ।

ती सभा जनताको उल्लेख्य सहभागिता रहेको र देखिएको जनलहरलाई भोटमा रूपान्तरण गर्न अध्यक्ष लिङ्देनको देशव्यापी दौडाहा भएको प्रवक्ता श्रेष्ठ बताउँछन् । 

 

प्रकाशित मिति : २१ बैशाख २०७९, बुधबार  १ : ४६ बजे

ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प

ताप्लेजुङ- ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा

गायिकाद्वय समीक्षा र एलिनाको अभियानमा प्रधानमन्त्री ओलीको साथ

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जालमा हुने गालीगलौज र

सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने

काठमाडौं– सभामुख देवराज घिमिरेले मुख्य तीन दलका प्रमुख सचेतकहरूसँग छलफल गर्दै

प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बस्ने प्रतिनिधिसभा बैठकमा सम्बोधन

विधायन व्यवस्थापन र शिक्षा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ